यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

गोसाइँकुण्डको नालीबेली - नीलकण्ठ महिमा

Tuesday, May 14, 2024 0 Comments
गोसाइँकुण्डको नालीबेली  - नीलकण्ठ महिमा

धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।

पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।

खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।

देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

  
यो सामग्री रसुवाको कला संस्कृति, परम्परा, धार्मिक, ऐतिहाँसिक पक्षको खोजी, प्रवर्दन र संरक्षणका लागि तयार गरिएको हो । जसबाट आन्तरिक पर्यटन विकासमा समेत् सहयोग पुग्नेछ । - प्रकाशक 

डा. सत्यराज थपलिया
थानसिङनुवाकोट 


नीलकण्ठ महिमा

द्यौता दानवका निकै दुःख पर्यो भन्ने सुनी प्रार्थना ।

खाएथे विष कालकूट जसले यो विश्व रक्षार्थमा ।।

त्यस्ता दक्ष, दयावतार भगवान् श्रीशंभुका पाउमा ।

श्रद्धा, भक्ति, सुभावले, प्रणयले अर्पन्छु सद्वन्दना ।।१।।

 

लेख्ने शक्ति दिँदै गजानन छिटै आई बसून् हातमा ।

मेधा शक्ति बढाउँदै शिव सदा मेरै बसून् माथमा ।।

बोलीमा त सरस्वती बसिदिऊन् मेरो छ यै प्रार्थना ।

पाऊँ शक्ति म नीलकण्ठ महिमा लेख्दैछु सङ्क्षेपमा ।।२।।

 

दामी, सुन्दर, दिव्य रत्न सहसा क्वै कल्पका अन्त्यमा ।

डुब्दा क्षीरसमुद्रमा प्रलय भै बाँकी रहेनन् त्यहाँ ।

अर्को कल्प हुँदा पराजय भयो देवेन्द्रको नै जब ।

गर्थे राज्य सुरेन्द्र भै बलि स्वयं स्वर्लोकमा गै, तब ।।३।।

 

पाई दुःख अनेक देवगण ती घुम्थे मगन्ते हुँदै ।

सम्झी क्वै दिन दीननाथ भगवान् दौडेर आए रुँदै ।।

आफ्ना दुःख कहे, परे चरणमा, धेरै गरे प्रार्थना ।

पाऊँ राज्य भनी निवेदन दिए श्रीविष्णुका हातमा ।।४।।

 

सारा दुःख पुकार देवगणको सुन्दा स्वयं केशव ।

दुःखी भै त्यसको उपाय मनमा सोचेर सम्झी अझ ।।

केही हाँस्नु हुँदै मुसुक्क पहिले हेरेर द्यौतातिर ।

अर्ती बुद्धि सिकाउने नियतले आज्ञा भयो आखिर ।।५।।

 

हे देवेन्द्र ! उपाय भन्छु सुन क्यै कल्याणका खातिर ।

आफ्नो काम सबै सकेजति सधैँ जो पर्छ आफैं गर ।।

अर्काको भरमा परी हरघडी आफू बने निस्क्रिय ।

इच्छा पूर्ण हुँदैन, काम कहिल्यै बन्दैन है निश्चय ।।६।।

 

आफ्नो काम कुनै पट्याउँन परे मौका मिलाईकन ।

आफैं शीघ्र गएर शत्रुसँग नै सन्मित्रझै भैकन ।

सन्धी शर्त गरी मिलेर पछि त्यो आफै गरी विग्रह ।

आफ्नो स्वार्थ सुसिद्ध गर्न सजिलै सक्छन् सबैले अझ ।।७।।

 

आफै गै निज शत्रुकासँग अहो ! लत्रौँ कसोरी ? भनी ।

केही पीर नमान, भित्र मनमा चिन्ता नलेऊ तिमी ।।

यो दृष्टान्त निमित्त भन्दछु कुनै यौटा कथा लौ सुन ।

राम्रो ज्ञान सिकाउँनेछ यसले सोची मनैमा गुन ।।८।।

 

कोही एक किसानको घर थियो यौटा खुला सन्दुस ।

आई सर्प कुनै पसेछ त्यसमैँ लागेछ बिर्को अझ ।।

आफू बाहिर निस्कने नियतले दौडेर चारैतिर ।

खोज्थ्यो सर्प दुलो थिएन, बिचरो भोकै पर्यो, आखिर ।।९।।

 

खाना खोज्न यता उतातिर स्वयं घुम्दै त्यतै बाहिर ।

आयो एक कुनै मुसो नजिकमा त्यै गन्धले पन्नग ।।

ज्यादै हर्ष भई फुल्यो, तर स्वयं कैदी बनेको हुँदा ।

आफै नम्र भई मुसोसँग भन्यो गाँसेर धेरै फुदा ।।१०।।

 

अर्जी आज म गर्छु यो चरणमा यौटा कुरा हे मुसा !

सुन्नोस् ध्यान दिँदै तपाइँसँग नै गाँसे स्वयं मित्रता ।।

मेरो मीत हजूरनै हुनुभयो दुःखी छु ज्यादै म ता ।

काटी सन्दुस दाँतले अब छिटै पार्नोस् दुलो एउटा ।।११।।

 

यस्ता बात सुनेर टक्क अडिँदै सोचेर धेरै अझ ।

मूसो भन्दछ सर्पलाइ डरले कामी स्वयं थर्थर ।।

कैल्यै मीत हुँदैन शत्रु बुझ यो हे सर्प ! यस्ता कुरा ।

गर्छौ व्यर्थ, छँदैछ सर्प र मुसाको बीचमा वैरता ।।१२।।

 

आफ्नो रूप, उमेर, वर्ण, धन औ आचार, विद्या, बल ।

मिल्नै बेस छ हित्तचित्त अनि पो त्यो मित्रता टिक्दछ ।।

भन्ने नीति छँदैछ, शत्रुसँग सद्विश्वास राखीकन ।

पारूँ सन्दुसमा दुलो म कसरी ? हे सर्प ! आफैं भन ।।१३।।

 

मूसाको निज बात यो सुनिसकी विश्वासका खातिर ।

गर्दै तीव्र विलाप विह्वल भई त्यो सर्प यो भन्दछ ।।

सुन्नोस् मीत ! हजूरले मसँग क्यै पर्दैन मान्नै डर ।

खोजे मिल्छ प्रमाण मुख्य यसको विश्वास नै हैन र ? ।।१४।।

 

साँचै हो हुनता कुरा हजुरले आज्ञा भएको सब ।

भन्छन् सर्पहरू मुसाकन कुनै मारेर खान्छन् तर ।।

मेरो यो मन पापतर्फ कहिल्यै लाग्दै नलाग्ने हुँदा ।

प्राणी मार्दिन, धर्म गर्छु, सबमा गर्दै दया, मित्रता ।।१५।।

 

अर्काको म कदापि गर्दिन कुरा यस्तो र उस्तो भनी ।

आफू बन्न, अरू बिगार्न कहिल्यै लाउँन्न चुक्ली पनि ।।

सम्झी कर्म म भोग्छु दुःख सुख यो जस्तै परोस् तापनि ।

दुःखीको उपकार गर्दछु सके हो धर्म ठूलो भनी ।।१६।।

 

जल्ले गर्छ विराम भोग्दछ उही त्यो दण्ड आपैm, जुन ।

औँलामा विष लाग्छ झर्दछ त्यही, झर्दैन अर्को सुन ।।

यौटाको अपराधले सकलमा त्यो दोष औँल्याउनु ।

राम्रो हैन भनेर मीतसँग यी धेरै कुरा के भनूँ ? ।।१७।।

 

मूसा खानु र पुत्र मार्नु मनमा ठानेर एकै सदा ।

सम्झी धर्म स्वयं हजूरसँग नै आफैं गरेँ मित्रता ।।

मार्थें झन् किन मीतलाइ म ? सधैँ कल्याण नै गर्दछु ।

पाऊँ निस्कन मीतकै शरणमा ऐले परेको म छु ।।१८।।

 

यस्तै नीति र धर्मका शुभ कुरा सुन्दा त त्यो सर्पको ।

सद्विश्वास तथा पत्यार मनमा मानी खुशी भो मुसो ।।

आफ्नै मित्र सहायतार्थ उसले काटी स्वयं सन्दुस ।

पार्‍यो प्वाल तुरून्त सर्प पनि त्यो आयो अहो ! बाहिर ।।१९।।

 

भोको सर्प थियो अनेक दिनको देखी नजीकै मुसो ।

सम्झन्थ्यो किन दुष्टले गुन ? कठै ! झम्टी सुलुक्कै निल्यो ।।

यस्तै हो बुझ राजनीति मुखले छोडी स्वयं गौरव ।

आफ्नो कार्य निमित्त शत्रुसँग नै झुक्नू स्वयं श्रेय छ ।।२०।।

 

अर्काको भर पर्नुहुन्न कहिल्यै कर्तव्यमा कर्मठ ।

बन्नै पर्छ तसर्थ काम फलको आसा नराखी गर ।।

हे देवेन्द्र ! बुझ्यौ कुरा ! अब छिटै फर्केर जाऊ सब ।

आफैं पौरख क्यै गर्‍यौ यदि भने मिल्नेछ त्यो वैभव ।।२१।।

 

भन्दै मुख्य रहस्य जो जति थियो सम्झाउँदै आखिर ।

अन्तर्धान भएर श्रीहरि गए, मर्मज्ञ भै वास्तव ।।

फर्के देव बुझेर तत्व त्यसको क्यै आँटिला भैकन ।

सन्धी शीघ्र गरे स्वयं बलिसँगै स्वर्लोकमा गैकन ।।२२।।

 

द्यौता दानव ती परस्पर मिली पीयूषका खातिर ।

गैह्रो सागर मथ्न निर्णय गरे मथ्ने भए आखिर ।।

उप्काए पछि मन्दराचल अहो ! ल्याए मदानी झुकी ।

यज्ञै भाग दिने सुनिर्णय सुनी नेती बने वासुकि ।।२३।।

 

हाले सागरमा महौषधिहरू ल्याएर लाखौँ टन ।

आँट्यो डुब्न तथापि पर्वत विना आधारले त्यै क्षण ।।

यो देखी कछुवा बनेर हरिले आफैं घुसी नीरमा ।

बोकेथे जब मन्दराचल अहो ! सस्र्यूं सरी पीठमा ।।२४।।

 

लाग्यो ढल्वल गर्न पर्वत अझै आपत्तिको सम्भव ।

देखी थिच्नुभयो अजीत हुनु भै त्यै शैलको मास्तिर ।।

छाडे पुच्छर देवले तर शिरै रोजी स्वयं आखिर ।

लाग्दा मन्थन गर्न सर्प विषले काला भए दानव ।।२५।।

 

यो देखी पहिले छिटै सिमसिमे वर्षा गराई हरिः ।

निद्रारूप बनी प्रवेश हुनु भो नागेन्द्रमा त्यो पछि ।।

द्यौता दानवमा निकै बल बढ्यो क्यै मन्द हावा चली ।

ठन्डा भो अनि देह भित्र मनमा उत्साह ज्यादै बढी ।।२६।।

 

लागे मथ्न समुद्र ती असुर औ द्यौता मिली आखिर ।

प्राणीलाइ जलाउने जलधिको  पैदा भयो कल्मष ।।

निस्केथ्यो जब कालकूट विष त्यो देखेर भै कायल ।।

छोडी मथ्न गए सुरासुर भए कैलासमा हाजिर ।।२७।।

 

पाए दर्शन शम्भुको अनि सबै द्यौता तथा दानव ।

साथै पाउ परे पवित्र मनले कल्याणका खातिर ।।

जोरे हात दुवै उठीकन कठै ! रोए सबै धर्धर ।

थाले बोल्न अहो ! तथापि डरले काम्दै थिए थर्थर ।।२८।।

 

छोरा कश्यपका सुरासुर सबै जम्मा भई बान्धव ।

थाल्यौँ मथ्न समुद्र हे शिव ! सुधा प्यूने थियो आशय ।।

पैदा भो तर कालकूट विष यो पोल्दैछ हे शङ्कर !

रक्षा गर्नु पर्‍यो, पर्‍यौं, शरणमा हाम्रो नमस्कार छ ।।२९।।

 

यस्तो आर्त पुकार भक्तगणको सुनदा स्वयं शङ्कर ।

भै सन्तोष भने अनिष्ट विषको केही नलेऊ डर ।।

रक्षा यो विषबाट गर्दछु भनी दी शीघ्र आश्वासन ।

हेरे त्यो विषतर्फ फेरि रिसले आँखा घुमाईकन ।।३०।।

 

यो नीलाञ्जन तुल्य भीष्म विषले बाधा गर्‍यो लोकको ।

रक्षा खातिर प्राण नै पनि दिनू यै धर्म हो साधुको ।।

भन्दै श्रीशिवले उमासँग स्वयं मागी छिटै सम्मति ।

हातैमा विष त्यो लिए, अनि पिए मुस्काउँदै घट्घटी ।।३१।।

 

निल्दामा निलिएन उग्र विष त्यो ओकल्नु झन् हुन्नथ्यो ।

घाँटीमैँ लिनु भो विपत्ति सहँदै रक्षार्थमा लोकको ।।

दुःखी माथि दया गरे गिरिशले सारा भए निर्भय ।

फर्के ढोगदिँदै समुद्रतिर नै सानन्द देवासुर ।।३२।।

 

लागे मथ्न समुद्र फेरि बलको बेजोड संघर्षले ।

थाले निस्कन चौध रत्न कतिले ती चीज बाँडी लिए ।।

निस्क्यो आखिरमा सुधा हरि स्वयं भै मोहिनी आखिर ।

द्यौतालाइ दिए अहो ! असुर ती सारा भए वञ्चित ।।३३।।

 

आफ्ना मानिस छन् भने यदि कुनै ठेगानमा निश्चय ।

बन्ला काम छिटो अवश्य उसको बेदाममा नै, अझ ।।

कोही छैन भने हुने पनि न भै हैरान पाई स्वतः ।

लोपे्र कान लगाउँदै घरतिरै फर्के भयो, वास्तव ।।३४।।

 

यस्तै हो व्यवहार यी जगतका टाठा र बाठा सब ।

हिँड्छन् मोज, मजा गरीकन स्वयं सोझा ठगिन्छन् स्वतः ।।

यो अन्याय भयो भनेर मुखले बोल्यो भने आखिर ।

पक्कै दण्ड सजाय मिल्दछ यहाँ यस्तै छ चल्ती, अझ ।।३५।।

 

नातावाद चल्यो र देव सबको इच्छा थियो जो जति ।

सारा पूर्ण भयो, यता गिरिशको बेहाल भो त्यो पछि ।।

थाल्यो पोल्न अतीव देह विषले श्रीशम्भुको भत्भती ।

नीलो कण्ठ भयो कठै ! विष बढी ज्यादै पर्‍यो छट्पटी ।।३६।।

 

आफैं दुःख खपी भलाइ जनको जो गर्छ त्यो साधु हो ।

भन्ने पाठ सिकाउँदै मनुजमा त्यो दुःख नै खप्नु भो ।।

नीलो कण्ठ लिएर विह्वल हुँदै घुम्दा सबै ठाममा ।

नामै भो अनि नीलकण्ठ शिवको प्रख्यात संसारमा ।।३७।।

 

लाई चन्दन औ कपूर पहिले सम्पूर्ण ती अङ्गमा ।

गङ्गा धारण गर्नुभो मुकुटमा राख्नै पर्‍यो चन्द्रमा ।।

डाहा शान्त भएन तैपनि अहो ! लाखौँ उठे तर्कना ।

आयो झट्ट पछाडि रुद्र मनमा नेपालको सम्झना ।।३८।।

 

हिन्दूराज्य पवित्र आर्यगणको नेपाल यो देशमा ।

गौरीले तप गर्दथिन् अघि जहाँ योगी सरी भेषमा ।।

बग्दामा उनकै पवित्र पसिना निर्माण भो जुन् रह ।

चाँडै गै अब स्नान गर्दछु त्यहीँ ज्यादै छ त्यो शीतल ।।३९।।

 

सेता उच्च हिमाल छन् टलटली टल्की रहेका जहाँ ।

औडाहा कम पार्न जान्छु अहिल्यै त्यै शान्तिक्षेत्रादिमा ।।

भन्दै तिर्सुल काँधमा र लहुरो ली वेतको हातमा ।

आए शङ्कर छट्पटाइ विषले शान्त्यर्थ नेपालमा ।।४०।।

 

हिँड्दा लाग्न गई थकाइ विषको झन् वेग बढ्दै गयो ।

उक्ली क्वै हिमशैल माथि लहुरो त्यो वेतको गाड्नु भो ।।

केही बेर बसी उठे तर त्यहीँ बिर्सेर लठ्ठी पुनः ।

बिस्तारै अझ माथिमाथि शिवजी थाले स्वयम् उक्लन ।।४१।।

 

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।

हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।।

मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती ।

गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२।।

 

यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।

आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।।

न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।

गङ्गा वेत्रभनेर पूजन गरी फर्की गए ती घर ।।४३।।

 

जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा ।

यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ ।।

पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।

चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।।

 

हिँड्दै श्रीशिव सुस्त सुस्त गतिले शूलाद्रिको माथमा ।

लाग्यो प्यास तथा थकाइ अनि क्वै साथी नभै साथमा ।।

पानी माग्न मिलेन, तीव्र विषले खङ्रङ्ङ घाँटी सुक्यो ।

काम्यो लुग्लुग देह शक्ति नहुँदा जो आँट थ्यो त्यो लुक्यो ।।४५।।

 

आँखै हेर्न सकिन्नथ्यो वरिपरी राता, पहेँला अति ।

टाटा देखिन गो, असाध्य रिँङटा लाग्यो, स्वयं त्यो पछि ।।

गाडी तिर्सुल भीरमा गिरिशले सम्झेर गङ्गाकन ।

पारे प्वाल पवित्र निस्कनुभयो गङ्गा त्यहीँ तत्क्षण ।।४६।। 

 

धुञ्चे पल्तिर पर्छ त्यो थल अझै भन्छन् भृगुपत्तन ।

गर्नू स्नान नदी किनार अथवा त्यै तीरमा तर्पण ।।

हेर्नू रुद्रनदी पवित्र जलकी त्यै भीरबाटै तल ।

बग्दैछिन् पहरा हुँदै सुछहरा बन्दै, गरी छर्छर ।।४७।।

 

आफैं शङ्कर कालकाल जसको नामै छ मृत्युञ्जय ।

त्यस्ता श्रीशिवलाइ सम्म विषले बेहोस पार्‍यो स्वतः ।।

पर्दा त्यो विषको करामत कडा, बढ्दा निकै छट्पटी ।

देखी दिव्य नदी नजीक उनले पानी पिए घट्घटी ।।४८।।

 

ज्यादै निर्मल औ पवित्र पनि त्यो ठन्डा हुँदामा जल ।

घट्दै गो विषको प्रभाव, शिवमा केही भयो शीतल ।।

फक्र्यो तागत त्यै थकाइ कम भै क्यै आँट आयो अझ ।

पाए जीवन नै नयाँ अनि उँभो जाने गरे निश्चय ।।४९।।

 

बाटो कत्ति थिएन त्यो बखतमा देखी उकालो ठुलो ।

आफ्नै साथ थियो त्रिशूल शिवले खन्दै हिँडे खुड्किलो ।।

हो त्यै कारण नाम नै रहन गो खन्ती उकालो भनी ।

चढ्नै पर्दछ त्यो अझै पनि गए, त्यस्तै छ यो जीवनी ।।५०।।

 

जाने लक्ष्य उँभोउँभोतिर थियो सम्झी मनैमा शिव ।

हाम्रै जीवनमार्गझैं असजिलो ठाडो उकालोतिर ।।

उक्लन्थे शिव चन्दनाचल हुँदै नीलाद्रिका फेदिमा ।

पुग्दा त्यो विष दाहले क्षुधित भै थाकी बसे क्यै क्षण ।।५१।।

 

गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।

त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।

बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।

घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

 

धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।

पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।

खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।

देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

 

बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।

आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।

नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान् नामले ।

जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

 

धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।

बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।

कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।

अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।

 

आत्मा एक द्विधा गरेर शिवले रक्षार्थमा कुण्डको ।

श्रीलम्बोदर क्षेत्रपाल भनिने द्वारे दुई राख्नुभो ।।

आज्ञाले शिवको सुपश्चिमतिरै पाले बसे द्वारमा ।

रक्षा धार्मिकको गरी इतरमा दिन्छन् कडा यातना ।।५६।।

 

राम्रो उत्तम द्वार पर्दछ जहाँ शूलाद्रिको दक्षिण ।

पाखाको शिरमा अझै सुपहरा बस्छन् दुवै हर्दम ।।

भन्छन् मानिसले गणेश्वरकनै लौरीविनायक भनी ।

बस्छन् भैरव दण्डपाणिसँगमा त्यै द्वार थुम्का मनि ।।५७।।

 

कुण्डै जो छ सरस्वती सुजनले यो सम्झ हो वास्तव ।

दोस्रो नाम छ विष्णुकुण्ड त्यसकै निस्केर ठन्डा जल ।।

अर्को कुण्ड बनेछ ब्रह्मदह त्यो जो ढाँडमा पर्दछ ।

गैह्रो शीतल नीरले भरि छ रे हेर्दा निकै सुन्दर ।।५८।।

 

ज्यादै पुण्यमयी सुशीतल यिनै गङ्गा त्रिशूली अझ ।

झर्छिन् शब्द गरी स्वयं कलकली त्यो भीरबाटै तल ।।

आए धेर अहो ! ऋषिश्वरहरू त्यै भीरका तीरमा ।

खौरी केश लिएर भक्ति मनमा न्वाए पसी नीरमा ।।५९।।

 

साथै अग्नि कुवेर दानव तथा गन्धर्व यक्षै अरू ।

ब्रह्मा विष्णु र चन्द्र सूर्य जति छन् इन्द्रादि द्यौताहरू ।।

आई वायु र अप्सरागण सदा त्यै तीरमा भक्तिले ।

न्वाए, दान दिए, जपे, स्तुति गरे, ध्यानै गरी फर्किए ।।६०।।

 

छाडी मोह लिएर ज्ञान मनमा यी रुद्रगङ्गानिर ।

पूजापाठ गरे अवश्य जन त्यो निर्मुक्त होला बुझ ।।

स्त्रीले स्नान गरे बनी पतिप्रिया ऐश्वर्य शौभाग्यले ।

भै सम्पन्न सुपुत्र धान्य धनले तर्छन् छिटै भक्तिले ।।६१।।

 

बग्दै पश्चिमतर्फ ती कलकली पुग्दा त वेत्रावती ।

पूर्वैबाट बगेर आइ मिसिने अर्की फलाँखू नदी ।।

त्यै दोभान नजीक शङ्खमुलको भेटिन्छ तातो जल ।

गङ्गा तीन सँगै हुँदा सुजनले भन्छन् त्रिवेणी अझ ।।६२।।

 

श्रद्धा भक्ति लिएर भित्र मनमा जो बुद्धिमान् मानिस ।

गर्ला स्नान सबै अवश्य उसको नासिन्छ रे कल्मष ।।

अज्ञानी पनि स्नान गर्दछ भने निष्पाप भै आखिर ।

जाला स्वर्ग सरासरी पछि अझै होला धनीधर्मिक ।।६३।।

 

श्रद्धा साथ लिएर श्राद्ध नरले वेत्रावतीमा गरे ।

पैलेका दश औ पछाडितिरका पुर्खा नि तर्छन् अरे ।।

सारा शास्त्र कहन्छ उत्तरगया वेत्रावती घाटमा ।

औँसी श्राद्ध अझै सुविज्ञ जनले गर्छन् सधैँ पौषमा ।।६४।।

 

दोस्रो मूर्ति महेशको अति ठूलो श्रीभीम क्वै कालमा ।

नाघी पर्वतस्नान गर्न सजिलै आए त्यही कुण्डमा ।।

काट्दा ब्रह्मशिरै कडा कलुषले कुष्टी भएका थिए ।

त्यै कुष्टाङ्ग निवृत्त पार्न जलमा सानन्द सुत्दा भए ।।६५।।

 

कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।

साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।

हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादैै अहो !

साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।

 

दुर्वासा ऋषिको सराप पहिले पर्दा मिली यादव ।

रक्सी पी अपराध आर्जन गरे भन्दा हुँदै व्याकुल ।।

पौँचे श्रीहरि नीलकण्ठ दहमा न्वाएर फर्की तल ।

पल्टे गैकन भारतीसँग, अझै क्यै माथि छन् भैरव ।।६७।।

 

देवी श्राप परी कलङ्कित बनी ब्रह्मा हुँदै व्याकुल ।

आए पाप विनाश पार्दछु भनी नाघी निकै पर्वत ।।

पाए दर्शन नीलकण्ठ दहमा डुब्की लगाई अझ ।

पूजा दान गरी पवित्र जलमा आफैं सुते क्यै तल ।।६८।।

 

ब्रह्माजी सुकला हुँदा सुन सखे ! त्यो विष्णुकुण्डै तल ।

राम्रो उज्वल ब्रह्मकुण्ड पनि भो ज्यादै छ त्यो शीतल ।।

पल्टे दिव्य हजार वर्ष जलमा ब्रह्मा हरिः शङ्कर । 

छाडी अंश त्यहीँ स्वधामतिर नै फर्के सबै आखिर ।।६९।।

 

आए त्यो पछि त्यै पवित्र जलमा सद्भक्तिले कश्यप ।

मार्कण्डेय, वशिष्ठ, धौम्य, भृगुजी, दक्षादि श्रीनारद ।।

भारद्वाज, पुलस्त्य, शक्ति, मनु औ ती उध्र्वरेता त्यहाँ ।

आए अत्रि, मरीचि, गालव सबै सामान ली हातमा ।।७०।।

 

साथै दानव, देवता सँगसँगै गन्धर्व औ किन्नर ।

कैयौँ यक्ष, पिचास, राक्षस तथा ती योगिनीका दल ।।

सम्झी ओं नम नीलकण्ठ दह वा गोसाइँथानैतिर ।

जाने आशयले हिँडे सब जना भन्दै उमा ! शङ्कर ! ।।७१।।

 

पैले स्नान गरेर यात्रु सबले वेत्रावती घाटमा ।

साथै श्रीशिव सम्झदै अघि बढे साथी लिई साथमा ।।

उक्ली पर्वत सुस्त सुस्त जब ती पुग्दै थिए कुण्डमा ।

टाढैदेखि झुकी सशक्तिशिवको गर्दै गए वन्दना ।।७२।।

 

पौँचेथे जब कुण्डभित्र सबले डुब्की लगाईकन ।

न्वाए, मन्त्र जपे, सके जति गरे क्यै दान औ तर्पण ।।

पूजा श्रीशिव शक्तिको सँगसँगै पञ्चोपचारै गरे ।

साष्टाङ्गादि प्रणाम साथ शिवमा बिन्ती गरे भक्तिले ।।७३।।

 

हे भूतेश ! उमापते ! पशुपते ! हे भर्ग ! हे शङ्कर !

हे सर्वेश्वर ! चन्दशेखर ! विभो ! हे रुद्र ! गङ्गाधर ।।

हे विश्वेश्वर ! विश्वपालक प्रभो ! हे धर्मधारे ! शिव !

पाऊँ दर्शन नीलकण्ठ ! भगवन् ! हाम्रो नमस्कार छ ।।७४।।

 

यस्तै धेर सुप्रार्थना सुनिसकी श्रीपार्वतीका पति ।

निस्की त्यै दहबाट दर्शन दिए साथै लिई पार्वती ।।

पाई दर्शन यात्रुका गहभरी हर्षाश्रु धारा बहे ।

बारम्बार झुकी प्रणाम पदमा पैले गरे भक्तले ।।७५।।

 

यो देखेर दयानिदान शिवले भन्दा भए यात्रुमा ।

हामी हर्षित छौ दुवै शिव सती आई नुहायौ यहाँ ।।

श्रद्धा, भक्ति र प्रेमपूर्ण मनले हाम्रै गर्‍यौ पूजन ।

आजै यो वरदान दिन्छु सबमा यात्रीहरू हो ! सुन ।।७६।।

 

ज्ञाताज्ञात सबै छ पाप जति जो आजन्म जन्मान्तको ।

सारा नाश हओस् पराजय नहोस्, सम्पूर्ण तीर्थालुको ।।

इच्छा पूर्ण हओस् पवित्र मनमा सद्भक्ति नै होस् सब ।

पाऊँन् शान्ति सदैव जीवनभरी मैंमा मिलून् आखिर ।।७७।।

 

अर्काको धन, धर्म, दार रिसले हर्ने अधर्मी खुनी ।

दुष्टै होस् अथवा कुकर्म सजिलै गर्ने कुनै बैगुनी ।।

श्रद्धा भक्ति नहोस् ममाथि तर त्यो यो कुण्डमा क्वै दिन ।

आई गर्दछ स्नान, पूजन भने कल्याण होस् भन्छु म ।।७८।।

 

इच्छा ली फलको नुहाउँछ भने मिल्ला यसै जन्ममा ।

स्त्रीले स्नान गरे हुनन् पुरुष ती पक्कै पुनर्जन्ममा ।।

द्यौता बन्दछ नीलकण्ठदहमा गै स्नान गर्ने नर ।

होला मुक्त अवश्य गर्भतिर त्यो पर्दैन पक्कै बुझ ।।७९।।

 

पन्छी वा पशु आदि क्षुद्र पुतली कीरा फटयाङ्रा अझ ।

जुम्रा औ जड घाँस रूख लहरा सम्पूर्ण नै वास्तव ।।

बन्छन् भुक्त शरीरबाट दहको पानी छुनाले पनि ।

हुन्छन् मानिस, फेरि ब्राह्मण बनी मिल्छन् ममा नै तिनी ।।८०।।

 

पूरा होस् सबको मनोरथ सधैं कल्याण होस् अन्त्यमा ।

भन्दै हर्ष भई अनेक वर दी सम्पूर्ण ती यात्रुमा ।।

जाऊ फर्क भनी विदा दिनु हुँदै त्यै कुण्डका बीचमा ।

अन्तर्धान भई गए शिव सती गर्छन् सबै वन्दना ।।८१।।

 

भैरवकुण्ड नुहाउने जनहरू जस्तै हऊन् पातकी ।

जान्छन् भास्करझैं विमान चढदै कैलास भत्तैm सरी ।।

साथै ब्राह्मण भोजनादि जप क्यै दानादि वा पूजन ।

गर्दा श्राद्ध र होम, ध्यान फल त्यो बढ्नेछ झन् हर्दम ।।८२।।

 

विष्णुकुण्डै नुहाउने जन गई बस्नेछ वैकुण्ठमा ।

गौरीकुण्ड नुहाउने जन स्वयं जाला मणिः द्वीपमा ।।

जल्ले न्वाउँछ ब्रह्मकुण्ड उ सधैँ गै ब्रह्मलोक बस्तछ ।

फर्के स्नान गरेर हर्षित हुँदै तीर्थालु आफ्नै घर ।।८३।।

 

जल्ले न्वाउँछ नीलकण्ठदहमा पुर्खा त्यसैका तरी ।

जान्छन् आसिक क्यै दिईकन सबै कैलास ज्ञानी सरी ।।

एकै दर्शन मात्रले पनि अहो ! पाएर ठूलो फल ।

चाँडै चढ्छ विमानमा अमर भै स्वर्लोकमा बस्तछ ।।८४।।

 

साँचै न्वाउँन नीलकण्ठदहमा जाने प्रतिज्ञा गरी ।

हिँड्दामा हयमेधको पदपदै मिल्ला फलै त्यो घडी ।।

जल्ले जप्दछ नीलकण्ठ शिवको यो नाम रातोदिन ।

त्यो संसार अवश्य तर्छ यसमा पर्दैन चिन्ता लिन ।।८५।।

 

बत्ती बाल्दछ जो लगेर घिउको गोसाइँथानमा गई ।

यद्वा ब्राह्मणलाइ भोजनहरू जो दिन्छ श्रद्धा लिई ।।

न्वाई तर्पण पूजनादि जप वा जो श्राद्ध गर्ला त्यहाँ ।

यस्तै नै फल मिल्छ भन्न मुखले को सक्छ संसारमा ? ।।८६।।

 

अर्थात् नाश हुँदैन पुण्य त्यसको आजन्म जन्मान्तको ।

सारा पाप पखालिएर शिवमा सारूप्य भै मिल्छ त्यो ।।

जाँदैमा जब नीलकण्ठ दहको जो मर्छ बाटैतिर ।

त्यो जानेछ तुरून्त दिव्य गतिले कैलासमा, आखिर ।।८७।।

 

साडे तीन करोड तीर्थ जति छन् सम्पूर्ण संसारमा ।

बस्छन् गैकन नीलकण्ठदहमा आए जनैपूर्णिमा ।।

मेला लाग्दछ भव्य वर्ष दिनको अद्यापि यै कुण्डमा ।

जान्छन् सज्जन ती नुहाउन सबै विश्वास ली धर्ममा ।।८८।।

 

कोही मानिस जेठको दशहरा आए त्यही कुण्डमा ।

गर्नै स्नान र पूजनादि सजिलै इच्छा लिँदै चित्तमा ।।

जान्छन् हिँड्न निकै हुनेछ सजिलो वर्षा विनाको दिन ।

शोभा हेर्न सकिन्छ क्यै प्रकृतिको राम्रो हुँदा मौसम ।।८९।।

 

गङ्गा सागर वा प्रयाग यमुना त्यो नैमिषारण्यमा ।

जाँदा जो जति पुण्य हुन्छ त्यसको कोटी गुणा कुण्डमा ।।

गर्दा स्नान अवश्य मिल्छ फल त्यो लाखौं गया श्राद्धको ।

मान्छे भैकन नीलकण्ठ नगए जन्मेर पो के भयो ? ।।९०।।

 

मान्छे हो ! यदि नीलकण्ठ दहमा जाने उठे कल्पना ।

क्यै होला कि ? भनेर देह घरको चिन्ता नल्यौ चित्तमा ।।

चर्को ईश्वर भक्तिभाव भरिलो विश्वास राखी सब ।

खोज्नू सामल साथ खर्च पनि क्यै चाहिन्छ जो वास्तव ।।९१।।

 

कोही मानिस चाउचाउ सँगमा लान्छन् कुनै बिस्कुट ।

लैजान्छन् कति दालमोट अथवा क्वै सातु लान्छन् अझ ।।

घ्यूच्यूरा सँगमा अचार तिलको बोकी लगे निश्चय ।

लाग्दा भोक तुरून्त खान सजिलो पर्नेछ है, आखिर ।।९२।।

 

आफ्नो देश र काल अर्थ अथवा क्यै आय वा आर्जन ।

हेरी ताम्रदियो, त्रिशूल अनि त्यो यौटा बसाहा किन ।।

केही औषधि शूलको, वमनको, केही जरोकै भयो ।

साथै लान सके कुनै दिन कतै क्यै काम लाग्नेछ त्यो ।।९३।।

 

पानी पर्छ अहो ! सधैँ सिमसिमे छाता लगे सिर्सिर ।

लाग्दा स्याँठ भिजाउँनेछ कपडा फर्किन्छ आपैmँ कि त ।।

लैजान्थे अघि ओड्न निम्ति घुम नै ऐले नयाँ प्लाष्टिक ।

वर्साती अझ भिर्नलाइ सजिलो मान्छन् सबै मानिस ।।९४।।

 

बत्ती, धूप, अबीर, जौ, तिल, जटा, श्रीखण्ड वा केशरी ।

गाईको घिउ, वेलपत्र, पकडा, कर्पूर खोजीवरी ।।

आफैं पार सबै कसेर पहिले पोको तथा पन्तरो ।

भारी ठिक्क मिलाउनै त खकने झोला भए बेस भो ।।९५।।

 

जाडो हुन्छ निकै उँभोतिर सके राडी तथा कम्बल ।

लैजानू, नसके लगाउनु कुनै बाक्लो नयाँ स्वेटर ।।

आफ्नो इच्छित चीजबीज सब त्यो जो पर्छ आवश्यक ।

आफ्नै साथ लगे अवश्य कहिल्यै पर्दैन क्यै आपद ।।९६।।

 

छाडी त्यो रिस राग आदि पहिले कल्याणको खातिर ।

ढोग्दै माग विदा पवित्र कुलका द्यौतासँगै आखिर ।।

सम्झी ओं नम नीलकण्ठ मनले गर्दै सदा चिन्तन ।

साथी क्वै सँगमा लिई सँगसँगै हिँड्नू खुशी भैकन ।।९७।।

 

धुञ्चेसम्म पुर्‍याइदिन्छ बसले आराम साथै अब ।

कल्ले गर्छ र पाउकष्ट ? अहिले हिँड्दैन क्वै पैदल ।।

भै गो मोटरमैं गए पनि छिटो वेत्रावतीमा अझ ।।

ओर्ली पश्चिमतर्फ पैदल हिँडी जानू त्रिवेणी तट ।।९८।।

 

दाह्री, केश समेत मुण्डन त्यही वेत्रावतीमा गरी ।

ली सङ्कल्प नुहाउनू हृदयले सम्झी सदा श्रीहरिः ।।

श्रद्धाले ऋषितीर्थमा अनि स्वयं गङ्गा गरी पूजन ।

विस्तारै शिव सम्झँदै गर सबै शूलाद्रि आरोहण ।।९९।।

 

खाना खान भने बमोजिम निकै पैसा तिरे वास्तब ।

मिल्छन् होटल मिल्नता तर त्यहाँ के शुद्धता हुन्छ र ?

त्यस्तै क्वै लजमा सुते त उपियाँ टोक्छन् कि जुम्रा अझ ।

एलर्जी नभए अवश्य पनि त्यो लूतो भने सर्दछ ।।१००।।

 

खोज्दा चीज बजारमा अब कतै पाइन्न केही सफा ।

ताजा, शुद्ध, पवित्र यो छ लिनुहोस् भन्छन्सबै भन्न ता ।।

त्यो विज्ञापन के पत्याउनु ? कठै ! नाफा बटुल्ने कुरो ।

चर्को मूल्य तिरेर रोग सबले बेसाउँदैछौं, अहो ! ।।१०१।।

 

धुञ्चे पल्तिर क्यै पुगेर पहिले त्यै भीरका तीरमा ।

न्वाई तर्पण पूजनादि गर है ? भै शान्त सन्नीरमा ।।

खाली पेट सकिन्न हिँड्न सजिलै, खाएर खाना अब ।

बिस्तारै शिवनाम कीर्तन गरी खन्ती उकालो चढ ।।१०२।।

 

चढ्दा पर्वत प्राणवायु अथवा पुग्दैन अक्सीजन ।

स्वाँ स्वाँ हुन्छ त्यसै हुँदा बुझ कुरा वाक्वाक लागीकन ।।

वान्ता हुन्छ कि लाग्छ धेर रिङटा यद्वा दुखी टाउको ।

ग्लानी हुन्छ शरीरमा बल घटी बन्दा बिरामी छिटो ।।१०३।।

 

बोक्ने मानिस खोज्नु पर्दछ कुनै पाइन्छ पैसा तिरे ।

पैसाले नहुने कुरा जगतमा केही कतै छैन रे ।।

मान्छे दास सरी बनेर विचरो आर्जन्छ केही धन ।

जम्मा पार्दछ लोभले अझ स्वयं सक्तैन त्यो खर्चन ।।१०४।।

 

मौरीले मह तुल्य खर्च नगरी साँचेर राखे धन ।

गोठालो सरी बन्नुपर्छ दुःखमै बित्नेछ यो जीवन ।।

भन्ने तथ्य बुझी खुला हृदयले क्यै खान वा लाउन ।

आफ्नो स्वार्जित द्रव्य दान गरनू त्यागेर कालो धन ।।१०५।।

 

रित्तो पेट नराख्नु क्यै छिनछिनै खानू रुचेको जति ।

लागे चक्कर क्यै लिएर हरियो सुँघ्नू सफा कागती ।।

वीरेनून, मरीच, ज्वानु, अदुवा यद्वा कुनै पाचक ।

खानू पेट दुखे, कि ता लसुन नै मर्काउनै बेस छ ।।१०६।।

 

नाघ्दै चन्दन बारि सुस्त शिरमा पौंचेर शूलाद्रिको ।

शोभा हेर्न नबिर्स है ? प्रकृतिको, राम्रो छ ज्यादै, अहो !

धेरै रङ्गविरङ्गका सुमन ती देखिन्छ चारैतिर ।

साँचै शान्ति दिने सुदृश्य छ जता हे¥यो उतै सुन्दर ।।१०७।।

 

लौरी सुम्प लगी विनायककनै श्रद्धा लिँदै चित्तमा ।

गर्नू तीन परिक्रमा सँगसँगै सद्भक्तिले प्रार्थना ।।

हे हेरम्ब ! गणेश ! विघ्न नपरोस् आलस्य मेरो मरोस् ।

पाऊँ दर्शन नीलकण्ठदहको भिक्षा यही बक्सियोस् ।।१०८।।

 

भन्दै पाउ परी घुमी वरिपरी साष्टाङ्ग ढोगीकन ।

हिँड्नू फेरि महेशकै हृदयमा गर्दै सदा चिन्तन ।।

होला दर्शन कुण्डको जब छिटो पस्रेर त्यै भूमिमा ।

श्रद्धा भक्ति लिएर भित्र शिवको गर्नू झुकी वन्दना ।।१०९।।

 

सम्झी शङ्कर पुग्नु श्रावण सुदी त्यो पूर्णिमाको दिन ।

गर्नू स्नान र तीन पल्ट जलमा डुब्की लगाईकन ।।

सन्ध्या तर्पण श्राद्ध पूजन सकी सत्पात्र क्वै ब्राह्मण ।

डाकी शक्त्यनुसार दान दछिना देऊ सके हर्दम ।।११०।।

 

जप्दै मन्त्र भलो सशक्ति शिवको पूजा तथा प्रार्थना ।

गर्नू भक्ति भरेर भित्र उनकै साष्टाङ्ग सद्वन्दना ।।

साथै उत्सुक भै सदैव शिवकै सद्रूपकै चिन्तन ।

गर्दा दर्शन मिल्छ शुद्ध दिलमा फिर्नू खुशी भैकन ।।१११।।

 

जानै बेश छ तीन पल्ट यसरी गोसाइँको कुण्डमा ।

एकै पल्ट गए पवित्र मनमा राख्नू सधैँ सम्झना ।।

भन्ने स्कन्दपुराणको सुरसिलो त्यो हैमवत्खण्डको ।

साथै भागवतादि ग्रन्थगणको सारांश सारेर यो ।।११२।।

 

लेखें प्रस्तुत नीलकण्ठ महिमा प्रष्ट्याउने पुस्तक ।

गल्ती, भूल, कमी, अशुद्धि यसमा होलान् निकै निश्चय ।।

ती मेरा अनभिज्ञता सुजनले शुध्याउँनेछन् अब ।

यो सानो शुभ कोशकाव्य शिवमैं अर्पी विदा हुन्छु, ल ।।११३।।

 

विमल सलिल ठन्डा शैल शोभा सुदिव्य ।

अलिक पवन चल्ने ठाउँ हो दर्शनीय ।।

अतिशय महिमाले युक्त नेपाल भित्र ।

अझ पनि रसुवामैं पर्छ यो कुण्डचित्र ।।११४।।

 

सकल अघ पखाल्ने पुण्यदाता महान ।

गिरिश रचित पैलो तीर्थ गोसाइँथान ।।

तिर गमन गरेमा जन्मिएको छ सार ।

भनिकन नित बिन्ती गर्छ यो सत्यराज ।।११५।।

 

२०४३।६।१५

लहरेपौवा, रसुवा

 

 

 

 

प्राकृतिक सौन्दर्य, पर्यटन र ललितकला

Monday, May 13, 2024 0 Comments


शशीकुमार डंगोल

रसुवा प्राकृतिक सौन्दर्यले भरिपुर्ण अति नै मनमोहक जिल्ला हो ! यहाँका ताल- कुण्ड, खोला, झरना,हिमाल, डाडा, थली,खेतका गह्राकाफाटहरुमा १२ महिना नै अलौकिक सुन्दरताले भरिपुर्ण भैरहन्छन ।

तामाङ समुदायको बाहुल्य रहेको यहाँ भाषा, भेषभुषा, काष्ठकला,ढुङाका मुर्ति ,बौद्ध धर्म सम्बन्धित माने- गुम्बाहरु र परम्परागत कला संस्कृतिको अथाह खानी नै छन !

नेपाली ललितकला क्षेत्रमा काठमाडौ उपत्यका र त्यो भन्दा परको कुरा गर्दा पोखरासम्म चित्रकारिताको विषयमा चर्चा र गतिविधि देखिदै आइरहेको थियो !

अब चित्रकारिताको क्षेत्र अलि फराकिलो हुँदै गैरहेको छ । नेपालमा २०७२ को भुकम्प पश्चात् आफुखुशीका नयाँ सुरक्षित घरहरू बन्न थाले!पहिलाको झै भित्तामा पोष्टर पम्प्लेट, कार्डहरु अनावश्यक रुपमा मानिसहरूले टास्न छोडे ।

सौखिन नेपालीहरुले पेन्टिङ किन्न थाले!छोराछोरी बिदेशमा र आफू पनि घुम्न जादा बिदेशमा कलाको महत्त्व देखेर आफ्नो घरको बैठक कोठामा एउटा भने पनि चित्र झुन्ड्याउन त भन्ने मनसाय राख्न थाले!अफिसहरुमा पनि एकाध पेन्टिङ झुन्डिएको देख्न थाले !

कम्प्युटर जमानाको बिकाससंगै नेपालमा पनि पेन्टिङको दायरा बढदै गयो,नयाँ कलाकारहरु जन्मदैगए भने पुरानाहरुले प्रविधिको विकास संगै आफुलाइ परिमार्जित गर्दै जान थाले! बिदेशीहरु नेपाल र नेपालका कलाकारहरु पनि कला कार्यशाला तथा प्रदर्शनीकोलागी दोहोरो आदानप्रदान हुन थाल्यो ।

समग्रमा कलाको बिस्तारै राम्रै बिकास र गतिविधि बढदै गइरहेको देख्न सकिन्छ । काठमाडौका प्रदर्शनी हलहरुमा भैरहेका कला गतिविधिले गतिलिन थालेका छन ।

पछिल्लो चरणमा काठमाडौ बाहिर मोफसलमा पनि कला गतिविधि बढ्न थालेका छन! बाहिरी जिल्लामा पनि नगरपालिका ,गाउँपालिका तथा अन्य विभिन्न संघसंस्थाबाट कला कार्यशाला तथा प्रदर्शनी हुन थालेका देखिन्छन् ! कलाकारहरुका लागि यो थप हौसला र प्रेरणाको कुराहरू हुन । नयाँ पिढिका युवा कलाकारहरुका लागि त अझै राम्रो -प्लेटफर्म हाे ।
आमाछोदिङ्मो गाउँपालिकाले पनि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा गएको २०८० चैत ९देखि १३गतेसम्म गतलाङ र गोल्जुङ तथा आसपासका पर्टकिय क्षेत्रमा केन्द्रित रही ५ दिने कला कार्यशाला कार्यक्रम सम्पन्न गर्यो ।

२५ जना सहभागी कलाकारहरुले त्यहाको दैनिक जनजीवन,संस्कृति , गतिविधि तथा प्राकृतिक सौन्दर्य माथि चित्र कोरे!फलस्वरूप ,त्यसै कार्यक्रममा चित्रकारले सिर्जना गरेका कलाकृतिको नक्साल स्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा २०८१ बैशाख २५देखि ३१ गतेसम्म प्रदर्शनी सम्पन्न भयो ।

यसरी कला गतिविधि ,कार्यशाला तथा प्रदर्शनी बाहिरी जिल्लाहरुमा हुनु स्वयं कलाकारहरु लागि मात्रै सुखद कुरा होईन समग्र देशको आन्तरिक तथा बाह्य पर्यटन तथा स्थानीयहरुको रोजगारी र आर्थिक पाटोमा समेत टेवा पुग्दछ ।

काठमाडौ र पोखरा उपत्यका भित्र मात्रै गतिविधि भैरहेको कलाकार्यशाला यसपटक आमाछोदिङमो गाउँपालिकाले कला पर्यटनलाई "आमाछोदिङ्मो आर्ट क्याम्प "मार्फत अगाडि सारेको छ । यो निकै सङ्राहनिय कार्य, पालिकाको सम्पुर्ण टिमले गरेको छ । पालिकाले आफ्नो लाखौंको सम्पती जोडेका छन । ती बहुमुल्य कला कृतिलाइ एउटा संग्रहालयको रूपमा जिवन्त राख्न सकिन्छ ।

अब,रसुवाको कला चित्रहरु अन्य कलाकारहरुले पनि कोर्नेछन!काठमाडौका ग्यालरीहरुमा रसुवाको चिनारी भएका चित्रहरु बिक्रिमा राखिनेछन! नेपाल र बिदेशी कलाप्रेमीहरुले आफ्ना घरका भित्ताहरुमा रसुवाका आकर्षक पेन्टिङहरुले सजावट गर्नेछन ।
अबका दिनहरूमा यस्तै कलाका कार्यक्रमहरु धेरै नसकिएपनी, बर्षको एकपटक सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुले गर्न सकिए नेपाली कलाक्षेत्र र कलाकारहरुकोलागी ठूलो उपलब्धि रहने थियो भने विध्यालयका विद्यार्थी भाइबहिनी तथा जिल्लामा ओझेलमा रहेका र अवसर नपाइरहेका स्थानीय कलाकारहरुका लागि थप प्रेरणादायी कार्य ठहरिनेथ्यो ।
यो अत्यन्तै सुखदमय र महत्त्वपूर्ण कार्यक्रमको साथ र सहयोगमा रहनुहुने ´आमाछोदिङमो गाउँपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सम्पूर्ण टिम तथा मेरो सम्पुर्ण सहभागी ललितकलाकर्मी मित्रहरूमा आभार व्यक्त गर्दै हार्दिक नमन । जय `ललितकला´ ।
बेत्रावतीबजार,रसुवा
३१-०१-२०८१
लेखककाे फेसबुकबाट साभार

देवकोटा बन्धु समाज, केन्द्रिय अध्यक्षमा रसुवाका रामप्रसाद देवकोटा चयन

Monday, May 13, 2024 0 Comments

देवकोटा बन्धु समाज, केन्द्रिय अध्यक्षमा रसुवाका रामप्रसाद देवकोटा चयन


देवकोटा बन्धु समाज नेपालको ११ औं राष्ट्रिय महाधिबेशनबाट रसुवाका रामप्रसाद देवकोटा अध्यक्षमा चयन भएका छन् । बैशाख २९ गते सर्लाहीको लालबन्दीमा सम्पन्न महाधिवेशनबाट देवकोटा अध्यक्षमा चयन भएका हुन् ।

रसुवा स्थायी घर भई काठमाण्डौंमा शिक्षण पेशामा आवद्द देवकोटा विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेका छन् ।



पौडेल बंश महासंघ, वागमती प्रदेश अध्यक्षमा सुमन पौडेल, रसुवाबाट रमेश कुमार सदस्यमा निर्वाचित

Monday, May 13, 2024 0 Comments

पौडेल बंश महासंघ, वागमती प्रदेश अध्यक्षमा सुमन पौडेल, रसुवाबाट रमेश कुमार सदस्यमा निर्वाचित

काठमाण्डौं । पौडेल बंश महासंघ, नेपाल, वागमती प्रदेश कार्यसमितिको अध्यक्षमा सुमन पौडेल (काठमाण्डौं) निर्वाचित भएका छन् । बैशाख २९ गते काठमाण्डौंको मूलपानीमा भएको दोस्रो प्रदेश सम्मेलनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा अरूण पौडेल (रामेछाप), सचिव दिपक पौडेल (काभ्रेपलाञ्चोक), कोषाध्यक्ष प्रमिला खनाल पौडेल (नुवाकोट) निर्वाचित भएका छन् भने रसुवाबाट रमेशकुमार पौडेल सदस्यमा चयन भएका छन् । उनी जिल्ला कार्य समिति रसुवाका कार्यवाहक अध्यक्ष पनि हुन् ।

शनिबार सम्पन्न सम्मेलनमा वागमती प्रदेश अन्तर्गतका १३ जिल्लाबाट प्रतिनिधिहरू सहभागी थिए । केन्द्रिय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न उक्त सम्मेलनको अध्यक्षता केन्द्रिय उपाध्यक्ष तथा प्रदेश कार्यसमितिका अध्यक्ष दिपकप्रसाद पौडेलले गरेका थिए ।

पौडेल बंशको खोज, अनुसन्धान तथा उत्थानका निमित्त कार्य गर्ने उद्देश्य रहेको महासंघले आफ्ना गतिविधि प्रभावकारी बनाउन जिल्ला तथा पालिकास्तरमा समेत् संगठन विस्तार गरेको छ । बंशावली संकलन तथा प्रकाशन कार्य तथा एकरुपमा नभएको कुलपूजा पद्दतिलाई एकरूपता ल्याउनको लागि बंशावली संकलन तथा प्रकाशन समिति र कुलपूजा व्यवस्थापन समिति समेत् गठन गरेको बताइएको छ ।

पौडेल बंश महासंघ नेपाल वागमती प्रदेश समितिका गतिविधि थाहा पाउन 

 

मलेखुबाट तिप्लिङ स्याफ्रुबेंसी वैकल्पिक मार्गकाे चर्चा

Sunday, May 12, 2024 0 Comments
मलेखुबाट तिप्लिङ स्याफ्रुबेंसी वैकल्पिक मार्गकाे चर्चा


रसुवा, पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा निर्माणकाे चर्चा चल्न थालेकाे छ । 

रूवीभ्याली तथा पछि परेका पर्रयटकीय क्षेत्रकाे प्रचार गरी पर्यटन प्रवर्धन गर्न सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरे पछि  यस्ताे चर्चा चलेकाे हाे । गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । 

धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने छ ।  यो सडक काठमाडौँलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने देखिन्छ । 


गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा

Sunday, May 12, 2024 0 Comments
गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा


यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।
   
रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ ठूलोभार्खुमा परापूर्व कालमा गोसाइँकुण्ड बन्नु अघि उडेर आई अवतरण भएको भनिएको कुण्ड हो 'ग्यो नेबा' । कतैबाट उडेर आई अवतरण भएको हुनाले यस कुण्डको स्थानीय नामाकरण 'ग्यो नेबा' भनिएको हो । महादेव र उनका दाजु छोनाले उक्त कुण्ड निर्माण गरेका हुन् पनि भनिएको छ ।

नेपाली नामाकरण नभएको ठूलोभार्खुको खोलाको किनारमा रहेको यो कुण्ड धेरै वर्ष अघि आएको बाढीले बगाएको भन्ने विश्वास छ । बाढीका कारण कुण्ड लोप भएपछि वा हराएपछि सो कुण्ड वा स्थानलाई 'ग्यो नैपा' वा कुण्ड हरायो/कुहियो भनिएको भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति नामक पुस्तकमा फुर्पा तामाङले उल्लेख गरेका छन् ।

यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।

  

प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर, मासिक करिब २७ करोड आर्थिक क्षति हुने अनुमान

Sunday, May 12, 2024 0 Comments
प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर

रसुवा, नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बहने भोटेकोसी नदिबाट १ सय ११ मेगावाट क्षमताको विद्युत आयोजनाले निर्धारित समयमा निर्माण कार्य नसक्दा उत्पादिन विद्युत खेर गएको छ।

रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ ९केभी० र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न नपाएको हो। 

प्रसारण लाइन अभावकै कारण विद्युत उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पर्ने देखिएको छ। गोसाइकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भूभागमा पर्दछ।

प्रशारण लाइनको काम समयमा नसकिंदा ग्रिड कनेक्सन एग्रिमेन्ट अनुसार उपकरण परीक्षण गर्न १३२ केभी ब्याक चिलिमे हवबाट प्राप्त नभएसम्म समस्या रहने छ। रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले भने, वेट कमिसनिङ १३२ केभी प्राप्त हुनुअघिको काम सम्पन्न भएको छ। उनले व्याक चार्ज प्राप्त भएपछि उत्पादन सुरु हुने बताए। 

निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन्।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको जानकारी दिए। 

डा डम्बर नेपालीकाे डिजायन तथा नेतृत्वमा निर्माण भएकाे चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा रसुवागढी आयोजना सुरु भएको हो। ०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत गृह भूमिगत सुरुङहरु, तथा विभिन्न उपकरण परीक्षण भैसकेको छ। 

विद्युत उत्पादन गर्न तयारी अवस्थामा रहे पनि प्रसारण लाइनको अनिश्चितताले थप काम अगाडि बढ्न नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए। ‘आयोजनाले सम्पन्न गर्नुपर्ने १० किलोमिटर प्रसारण लाइन पूरा भइसकेको छ तर चिलिमे हब नबन्दासम्म कुनै अर्थ नहुने भयो,’ उनले भने, ‘यसबाट कम्पनीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने देखिन्छ।’

प्रसारण लाइन नबन्दा मासिक करिब २७ करोड रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ। त्यसमाथि ठेकेदारले दाबी भुक्तानी थप्दै गयो भने झनै ठूलो समस्या उत्पन्न हुनेछ। प्राधिकरणले गत चैतभित्रै प्रसारण लाइन पूरा गर्ने दाबी गरे पनि भौगोलिक जटिलताका कारण काम सक्ने समय लम्बिँदै गएको छ। 

प्रशारण लाइनकाे काममा ढिलाइ हुनेकाे कारण नेपाल विद्युत प्राधिकरण नै हाे किनकी कन्ट्याक्टरलाइ समयमा काम सक्न दवाव दिन सकेकाे छैन । तिब्र गतिले काम गरेकाे भए चाँढै सकिन्थ्याे । 

‘गत माघदेखि जलाशय र सुरुङमा पानी भरेर राखे पनि उपयोगमा आउन सकेको छैन,’ आयोजना प्रमुख सत्यराम ज्याख्वाले भने, ‘विद्युतगृहका ट्रान्सफर्मरलगायत उपकरण चार्ज गर्न सकिएन भने बिग्रिने सम्भावना हुन्छ।’ आयोजनाको तर्फबाट विद्युत उत्पादनका लागि काम बाँकी नरहेको उनले बताए।

उत्पादित विद्युत जोड्ने सबस्टेसन र प्रसारण लाइनको काम पूरा गर्न अझै केही महिना लाग्ने देखिन्छ। यद्यपि, प्राधिकरण उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक थर्कबहादुर थापाले चिलिमे हबको निर्माण पूरा भइसकेको जानकारी दिए। ‘आगामी जेठ ४ गते सबस्टेसनको काम सकिने छ,’ उनले भने, ‘त्यसको १५ दिनपछि प्रसारण लाइनको सबै काम सकिन्छ।’

प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर

कुल २८ किलोमिटर लामो प्रसारण लाइनमा ७५ वटा टावर निर्माण हुने छ। अहिले ६६ वटा टावरको ठड्याइएको छ भने ७ वटा टावरको जग खन्ने काम जारी छ। १ महिनाभित्र प्रसारण लाइन पूरा हुने सम्भावना न्यून देखिन्छ। थापाले जेठ तेस्रो सातासम्म काम पूरा हुने बताए। 

आयोजनाको काम २०१७ जुलाइमा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१४ को फ्रेब्रुवरीबाट सुरु भएको थियो। १० वर्ष बित्दासमेत आयोजना सम्पन्न हुन सकेन। 

भूकम्प, नाकाबन्दी, कोरोना महामारी ९कोभिड–१९०, बर्खाको बाढी र पहिरो, हिउँदमै खस्ने सुख्खा पहिरो जस्ता अवरोधले आयोजनाको काममा ढिलाइ भएको देखिएको छ। 

२०७८ असार १ गते सो क्षेत्रमा ठूलो बाढी आउँदा आयोजनाको भूमिगत विद्युतगृहमा पानी छिरेर सम्पूर्ण उपकरण डुबाएको थियो। जडानका लागि तयारी अवस्थामा राखिएका इलेक्ट्रो मेकानिकल उपकरणमा क्षति पुगेको थियो। 

निर्माणको अन्तिम चरणमा १३ अर्ब ६० करोड रूपैयाँको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता, वर्षातको बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, ०७२ सालको भूकम्प, कोभिड–१९ महामारी जस्ता कारणले निर्माणमा ढिलाइ हुँदा करिब पाँच अर्ब बढी लागत लाग्ने देखिएको आयोजनाले जनाएको छ। 

आयोजनाको हालको अवस्थाको लागत व्याज बाहेक १८ अर्ब ४७ करोड रूपैयाँको हाराहारीमा खर्च हुने भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। 



स्वर्गको एक अंश : नागथली

Saturday, May 11, 2024 0 Comments

स्वर्गको एक अंश : नागथली


यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ ।

पर्यटकीय नगरी : नागथली


    नागथलीको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं १ मा पर्ने नागथली आन्तरिक तथा बाह्य पर्यटकको अधिकतम रोजाईमा पर्ने गन्तव्य हो । स्थानीयहरू यस स्थानलाई 'नगथली' भन्दछन् । तीन हजार १ सय ६५ मीटर उचाईमा अवस्थित नागथलीलाई स्वर्गको टुक्रा मानिन्छ ।

    गुम्बाको नजिकै नागको थान रहेको कारण यस स्थानको नामाकरण 'नागथली' भएको हो । 

    यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ ।

    थुमन गाउँबाट चार घण्टाको ठाडो उकालो चढेपछि पुगिने यस स्थानमा रहेको नागथली गुम्बामा वर्षेनी पूजाआजा गर्ने गर्दछन् । चन्द पात्रो अनुसार बैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ मेलासहित गुम्बामा पूजापाठ हुने गर्दछ । गुम्बाभित्र भगवान बुद्द, चेंरेसी र गुटासिङ्तोङको मूर्ति रहेको छ । टाँगिएका फरफराई रहेका लुङ्तरसहितको दृश्यले अझै मनमोहक बनाउँदछ । 

    जनविश्वास अनुसार उहिले गुरू रिम्बोर्छे यस क्षेत्रमा तपस्या गर्न आएका र आफैंले गुम्बा निर्माण गरेका थिए । उक्त गुम्बा नागथली गुम्बादेखि उत्तर पश्चिमको कुनामा छ । यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् ।

    नागथलीबाट गणेश हिमालको फेदि करीब १ दिनको पैदलयात्रामा अवस्थित छ । यहाँबाट करीब २ घण्टा पैदलयात्रा गरी मनोरम दृश्यावलोकनको थलो तरूचे पुग्न सकिन्छ । जहाँबाट चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ, च्याङगाउँ वरपरका दृश्यहरू देख्न सकिन्छ ।

    नागथली वरपरका आकर्षणहरू  

    -      प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर आदिको दृश्यावलोकन

    -      चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

    -      कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

    -      पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

    -      यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् ।

    -      चौंरी र भेडापालनको मुख्य क्षेत्र

    -      तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

    -      होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था

     

     कसरी पुग्ने पर्यटकीय नगरी : नागथली ?

    -          पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसी-टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो, थुमन हुँदै

    -          पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसीबाट गोल्जुङ/गतलाङ, चिलिमे (तातोपानी) हुँदै

    अर्थात् तामाङ सम्पदा मार्गको प्रयोग गरेर

    पर्यटकीय नगरी : नागथलीसँग सम्बन्धित सामग्रीहरू

    मोती बिन्दुको निःशुल्क शल्यक्रिया

    Friday, May 10, 2024 0 Comments
    आँखाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया

    रसुवा, सामुदायिक आँखा केन्द्र रसुवाको आयोजनामा कालिकास्थानमा निःशुल्क मोती विन्दुको शल्यक्रिया शिविर सम्पन्न भयो । 

    ग्रामीण क्षेत्रमा आँखाका समस्या भएकाहरुलाइ शल्यक्रिया सेवा दिने उद्देश्यले तिलगंगा आँखा केन्द, सामुदायिक आँखा केन्द्र रसुवा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा कालिकास्थानमा दुईदिने निःशुल्क मोतीविन्दुको शल्यक्रिया शिविरमा ७९ जनाले आँखाको अप्रेसन गराएका छन् । 

    तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा शल्यचिकित्सक डा. श्याम व्यासको नेतृत्वमा भएको शिविरमा ७९ जनाको मोतीविन्दु र दुईजनाको मासु पलाएको उपचार गरिएको सामुदायिक आँखा केन्द्रकी इन्चार्ज उर्मिला तामाङले जानकारी दिइन् । 

    शिविरमा स्वास्थ्य कार्यालय रसुवा, कालिका ग्रामीण आँखा चिकित्शालय, उत्तरगया आँखा केन्द्र, जिल्लाको पाँचवटै पालिकाको स्वास्थ्य शाखाले सहयोग गरेका थिए ।


    राम्चे स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र, स्वास्थ्य सेवा प्रवाहमा समस्या

    Friday, May 10, 2024 0 Comments
    राम्चे स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र,  स्वास्थ्य सेवा प्रवाहमा समस्या

    रसुवा, कालिका गाउँपालिका –१ मा निर्माणाधीन राम्चे स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

    तीन वर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्य चौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ्ग, शौचालय निर्माण लगायतको काम बाँकी रहेको छ ।

    तीन वर्ष अघि सम्झौता भएको भए पनि दुई वर्षदेखि काम नगरेको स्वास्थ्य संस्थाका प्रमुख सिअहेव रामप्रसाद ढकालले बताए । 

    स्वास्थ्य संस्था सञ्चालनका लागि केही कोठा भाँडामा लिएर सेवा प्रवाह रहेको र भवन समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको ढकालले बताए । 

    काम सम्पन्न गर्न भवन निर्माण कम्पनीलाई ताकेता गरेको भए पनि काम समयमा नगरेको सघन शहरी तथा भवन कार्यालय, जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख बुद्धजित लामाले बताए । 

    उक्त विषयमा निर्माणको जिम्मा पाएको ओम बुद्ध इन्टरनेशनल कन्ट्रक्सनका प्रालिका दिपेश लामासँग फाेनमा सम्पर्कमा हुन सकेन । निर्माण कम्पनीले ढिलाइ गरेको तर एक पटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडेर कालो सूचिमा राखिने लामाले बताए ।

    चिनाऔं लाङटाङ - कविता

    Friday, May 10, 2024 0 Comments
    चिनाऔं लाङटाङ - कविता

    खाना दालअचार रोटी सँगमा फापर्सिमीजौकरु

    चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।


    प्रेमप्रसाद पौडेल


    हीमैकोँ शिखरै रहेछ नजिकै देखेर मन् हर्कने

    जाऊ घुम्न तिमी रमाइ खुशिले केलाई हो पर्खने ?

    बीहानी रवि कीरणै त परदा चाँदी सरी टल्कने

    लाङ्टाङ् गाउँ अती मनोहर पुरी देशको मुहार् झल्कने ।।१

     

    कैंर्यौ सागर पारिका जनहरु देखेर लालायित

    हाम्रो शिखरमा जमेर हिउँ नै बन्यो सबै माझ् हित ।

    सारै सुन्दर भै सबै बिचमहा मूटू कलेजै बनी

    देख्दैमा सबका महीत नयनै हामी रहेछौ धनी ।।२

     

    गर्छन् स्वागत तिमीलाई सबले जो जाँ बसेका छन

    रोयो तन् जसको सुशान्ति मिलने त्यो ठाउँ घुम्दा कन ।

    खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, जौ, करु

    चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।३

     

    विश्वै सामु महाँ परिचित हुँदा नौलै छ हामी सित

    ठूलो -उत्सवमै बनाउँ परिचित् होला सबैको जित ।

    फल्ला यै सबका नजिक सुन झैं अग्लिन्छ लाङ्टाङ् पनि

    सामाजिक् जनभावना फिजियमा हामी हुनेछौं धनी ।।४ 

     

      - प्रथम रसुवा महोत्सवको अवसरमा, २०६२ कार्तिक २७ (जोमसोम, मुस्ताङ) मा रचना गरिएको  हाे । 

    लुङ्तरबारे जानकारी

    Friday, May 10, 2024 0 Comments

    लुङ्तरबारे जानकारी


    बौद्द धर्ममार्गी विशेष गरी तामाङहरूले गुम्बा, माने, छुर्तेन, घरअगाडि वा मठमन्दिरमा टाँग्ने ध्वजापताकालाई लुङ्तर भनिन्छ । नेपाली भाषामा 'तोरण' भन्न मिल्छ । तामाङ समुदायमा लुङ्तर एउटा पहिचानको रूपमा स्थापित भएको छ ।

    स्रोत : निमा ब्लग 

       

      लुङ्तर टाङ्ने प्रचलनको शुरुवात :

      बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकाले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्तर टाङ्ने प्रचलन शुरु भएको मानिन्छ ।

       

      लुङ्तरको पाँच रंगको अर्थ 

      पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । जसअनुसार :

      १) सेतो : भैरोचना बुद्ध (नम्बर नाङजे)

      २) निलो : अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा)

      ३) पहेंलो : रत्न सम्भव बुद्ध (रिङछेन जङदेन)

      ४) रातो : अमिताभ बुद्ध (नाङवाङ थाये)

      ५)  हरियो : अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी)

       

      गणितीय ज्योतिष विद्याको आधारमा लुङ्तरमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जसअनुसार :

      १) सेतो : फलाम

      २) नीलो : पानी

      ३) पहेंलो : माटो

      ४) रातो : आगो

      ५) हरियो : काठ

       

      लुङ्तरमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । जसअनुसार :

      १) निलो : आकाश

      २) सेतो : बादल,

      ३) रातो : आगो,

      ४) हरियो : पानी,

      ५) पहेंलो : धर्ती

       


      लुङ्तरको प्रकार :

      १) शान्तिको ध्वजा (लुङ्तर) सेतो : कु-लक्षण (बाधा अड्चन ) निर्मुल, शान्ति पार्नको निमित्त लगाईन्छ।

      २) बिस्तारको ध्वाजा पहेँलो : आयु सौभाग्य,एश्वर्य,कीर्ति (ख्याती)बिस्तारको निमित्त लगाईन्छ।

      ३) अधिकारको ध्वजा रातो : सुर (देवता) मृतहङ्श र मनुष्यदि आफ्नो वश (अधीन) मा पार्नको निमित्त लगाईन्छ

       

      ताकेको आटेको कार्यादी चिताए अनुसार सिद्ध हुन र लडाइँ - झगडा,दुर्घटना शोक द्वारा मुक्त हुनको निमित्त लुङतर फर्याउछ  । सम्पर्ण प्राणी जगतमा शान्तिको कामनाको लागि लुङ्तर टाँङ्ने गरिन्छ । लुङ्तरलाई कुनैबेला पनि खुल्चिनु टेक्नु हुँदैन ।

       

      लुङ्तर टाङ्नु अगाडि लुङ्तरलाई धर्मगुरुबाट अभिषेक (रब्ने) गरिन्छ ।

      शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षणका लागि विद्यालय बस

      Wednesday, May 08, 2024 0 Comments
      शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षणका लागि  विद्यालय बस

      रसुवा, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले धुन्चे स्थित रसुवा माविलाइ बस प्रदान गरेको छ ।

      आवश्यक इन्धन एवम् मर्मतलगायत सवै खर्च गाउँपालिकाले ब्यवस्थापन गर्ने गरी निःशुल्क बस सञ्चालन गर्न रसुवा माविलाइ प्रमुख अतिथि संविधान सभा सदस्य छोवाङतेन्जिङ तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले स्कुल बस र साँचो रसुवा माविका प्रधानाध्यापक तेम्पारिसाङ घलेलाइ हस्तान्तरण गरे ।

      सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङनूर्पू तामाङले बताए । 

      तामाङ समुदायका बालबालिकालाई लक्षित गरी नि:शुल्क बस सेवा संन्चलन गरिएको हो । गाँउपालिकाले २९ लाख ६२ हजार रुपैंयामा खरिद गरी रसुवा माध्यमिक विध्यालयलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

      नि:शुल्क बस सेवा सञ्चालनमा आएसँगै बिद्यालय सेवा क्षेत्रभित्र रहेका बिपन्न परिवारका छात्रछात्राहरु बस चढेर विद्यालयसम्म पुग्न पाउँदा खुसी भएका छन् । बस सञ्चालनले विद्यालय सम्मको आवागमन सहज तथा छिटो छरितो हुने भएपछि विद्यार्थी र अभिभावकहरू खुशी भएका  छन् ।

      गाँउपालिकाले वार्षिक रुपमा लाग्ने इन्धन, मर्मत तथा चालक सहचालक सहितको सम्पूर्ण खर्च गोसाँईकुण्ड गाँउपालिकाले गर्ने गरि बस सञ्चालनमा ल्याईएको गाँउपालिकाले जनाएको छ ।

      विद्यालयमा सञ्चालन भएको नि:शुल्क बस सेवाले विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । बसले सोले, बोकेझुण्डा , भिमाली, ठाडे गाउँसम्मका विद्यार्थी लाभान्वित हुनेछन् । 




      रसुवामा पर्यटककाे चहलपहल

      Wednesday, May 08, 2024 0 Comments

       


      रसुवा, पर्यटककाे चहलपहल हुन थालेकाे छ । मंगलबार धुन्चेमा  विदेशी पर्यटक चहलपहल देखिएकाे थियाे  । यहाँबाट गाेसाइकुण्ड जान तयार भएका विदेशी पर्यटकहरू दिनहुँ बढ्दै गएकाे छ । 

      धार्मिक पर्यटकीय क्षेत्र रसुवाकाे गाेसाइकुण्डमा जनैपूर्णिमा मेलामा मात्र यात्रीहरू पुग्ने गर्दथे भने अचेल बिभिन्न समयमा विदेशी तथा स्वदेशी तीर्थयात्रीहरू पुग्ने गर्दछन् । 


      पर्यटककाे चहल पहल

      चीनबाट विद्युतीय कार भित्रिदै

      Wednesday, May 08, 2024 0 Comments
      चीनबाट  विद्युतीय कार भित्रिदै


       रसुवा, चीनबाट रसुवागढी नाकाहुँदै नेपाल तर्फबाट विद्युतीय कार काठमाडौँ तर्फ भित्रिने क्रम बढेकाे छ । 

      रसुवागढी नाकाबाट दैनिक रूपमा कार भित्रिने क्रम रहेपनि  मङ्गलबार एकै दिनमा ३१ वटा राजधानी काठमाडौँ ल्याउने भएको  छ ।  

      ठूलो सङ्ख्यामा एउटै लस्करका लागेर आयात भएको चिनियाँ विद्युतीय कार आएको स्थानीयको भनाई छ ।