यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

चिनाऔं लाङटाङ - कविता

Friday, May 10, 2024 0 Comments
चिनाऔं लाङटाङ - कविता

खाना दालअचार रोटी सँगमा फापर्सिमीजौकरु

चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।


प्रेमप्रसाद पौडेल


हीमैकोँ शिखरै रहेछ नजिकै देखेर मन् हर्कने

जाऊ घुम्न तिमी रमाइ खुशिले केलाई हो पर्खने ?

बीहानी रवि कीरणै त परदा चाँदी सरी टल्कने

लाङ्टाङ् गाउँ अती मनोहर पुरी देशको मुहार् झल्कने ।।१

 

कैंर्यौ सागर पारिका जनहरु देखेर लालायित

हाम्रो शिखरमा जमेर हिउँ नै बन्यो सबै माझ् हित ।

सारै सुन्दर भै सबै बिचमहा मूटू कलेजै बनी

देख्दैमा सबका महीत नयनै हामी रहेछौ धनी ।।२

 

गर्छन् स्वागत तिमीलाई सबले जो जाँ बसेका छन

रोयो तन् जसको सुशान्ति मिलने त्यो ठाउँ घुम्दा कन ।

खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, जौ, करु

चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।३

 

विश्वै सामु महाँ परिचित हुँदा नौलै छ हामी सित

ठूलो -उत्सवमै बनाउँ परिचित् होला सबैको जित ।

फल्ला यै सबका नजिक सुन झैं अग्लिन्छ लाङ्टाङ् पनि

सामाजिक् जनभावना फिजियमा हामी हुनेछौं धनी ।।४ 

 

  - प्रथम रसुवा महोत्सवको अवसरमा, २०६२ कार्तिक २७ (जोमसोम, मुस्ताङ) मा रचना गरिएको  हाे । 

लुङ्तरबारे जानकारी

Friday, May 10, 2024 0 Comments

लुङ्तरबारे जानकारी


बौद्द धर्ममार्गी विशेष गरी तामाङहरूले गुम्बा, माने, छुर्तेन, घरअगाडि वा मठमन्दिरमा टाँग्ने ध्वजापताकालाई लुङ्तर भनिन्छ । नेपाली भाषामा 'तोरण' भन्न मिल्छ । तामाङ समुदायमा लुङ्तर एउटा पहिचानको रूपमा स्थापित भएको छ ।

स्रोत : निमा ब्लग 

     

    लुङ्तर टाङ्ने प्रचलनको शुरुवात :

    बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकाले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्तर टाङ्ने प्रचलन शुरु भएको मानिन्छ ।

     

    लुङ्तरको पाँच रंगको अर्थ 

    पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । जसअनुसार :

    १) सेतो : भैरोचना बुद्ध (नम्बर नाङजे)

    २) निलो : अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा)

    ३) पहेंलो : रत्न सम्भव बुद्ध (रिङछेन जङदेन)

    ४) रातो : अमिताभ बुद्ध (नाङवाङ थाये)

    ५)  हरियो : अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी)

     

    गणितीय ज्योतिष विद्याको आधारमा लुङ्तरमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जसअनुसार :

    १) सेतो : फलाम

    २) नीलो : पानी

    ३) पहेंलो : माटो

    ४) रातो : आगो

    ५) हरियो : काठ

     

    लुङ्तरमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । जसअनुसार :

    १) निलो : आकाश

    २) सेतो : बादल,

    ३) रातो : आगो,

    ४) हरियो : पानी,

    ५) पहेंलो : धर्ती

     


    लुङ्तरको प्रकार :

    १) शान्तिको ध्वजा (लुङ्तर) सेतो : कु-लक्षण (बाधा अड्चन ) निर्मुल, शान्ति पार्नको निमित्त लगाईन्छ।

    २) बिस्तारको ध्वाजा पहेँलो : आयु सौभाग्य,एश्वर्य,कीर्ति (ख्याती)बिस्तारको निमित्त लगाईन्छ।

    ३) अधिकारको ध्वजा रातो : सुर (देवता) मृतहङ्श र मनुष्यदि आफ्नो वश (अधीन) मा पार्नको निमित्त लगाईन्छ

     

    ताकेको आटेको कार्यादी चिताए अनुसार सिद्ध हुन र लडाइँ - झगडा,दुर्घटना शोक द्वारा मुक्त हुनको निमित्त लुङतर फर्याउछ  । सम्पर्ण प्राणी जगतमा शान्तिको कामनाको लागि लुङ्तर टाँङ्ने गरिन्छ । लुङ्तरलाई कुनैबेला पनि खुल्चिनु टेक्नु हुँदैन ।

     

    लुङ्तर टाङ्नु अगाडि लुङ्तरलाई धर्मगुरुबाट अभिषेक (रब्ने) गरिन्छ ।

    शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षणका लागि विद्यालय बस

    Wednesday, May 08, 2024 0 Comments
    शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षणका लागि  विद्यालय बस

    रसुवा, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले धुन्चे स्थित रसुवा माविलाइ बस प्रदान गरेको छ ।

    आवश्यक इन्धन एवम् मर्मतलगायत सवै खर्च गाउँपालिकाले ब्यवस्थापन गर्ने गरी निःशुल्क बस सञ्चालन गर्न रसुवा माविलाइ प्रमुख अतिथि संविधान सभा सदस्य छोवाङतेन्जिङ तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले स्कुल बस र साँचो रसुवा माविका प्रधानाध्यापक तेम्पारिसाङ घलेलाइ हस्तान्तरण गरे ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङनूर्पू तामाङले बताए । 

    तामाङ समुदायका बालबालिकालाई लक्षित गरी नि:शुल्क बस सेवा संन्चलन गरिएको हो । गाँउपालिकाले २९ लाख ६२ हजार रुपैंयामा खरिद गरी रसुवा माध्यमिक विध्यालयलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

    नि:शुल्क बस सेवा सञ्चालनमा आएसँगै बिद्यालय सेवा क्षेत्रभित्र रहेका बिपन्न परिवारका छात्रछात्राहरु बस चढेर विद्यालयसम्म पुग्न पाउँदा खुसी भएका छन् । बस सञ्चालनले विद्यालय सम्मको आवागमन सहज तथा छिटो छरितो हुने भएपछि विद्यार्थी र अभिभावकहरू खुशी भएका  छन् ।

    गाँउपालिकाले वार्षिक रुपमा लाग्ने इन्धन, मर्मत तथा चालक सहचालक सहितको सम्पूर्ण खर्च गोसाँईकुण्ड गाँउपालिकाले गर्ने गरि बस सञ्चालनमा ल्याईएको गाँउपालिकाले जनाएको छ ।

    विद्यालयमा सञ्चालन भएको नि:शुल्क बस सेवाले विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । बसले सोले, बोकेझुण्डा , भिमाली, ठाडे गाउँसम्मका विद्यार्थी लाभान्वित हुनेछन् । 




    रसुवामा पर्यटककाे चहलपहल

    Wednesday, May 08, 2024 0 Comments

     


    रसुवा, पर्यटककाे चहलपहल हुन थालेकाे छ । मंगलबार धुन्चेमा  विदेशी पर्यटक चहलपहल देखिएकाे थियाे  । यहाँबाट गाेसाइकुण्ड जान तयार भएका विदेशी पर्यटकहरू दिनहुँ बढ्दै गएकाे छ । 

    धार्मिक पर्यटकीय क्षेत्र रसुवाकाे गाेसाइकुण्डमा जनैपूर्णिमा मेलामा मात्र यात्रीहरू पुग्ने गर्दथे भने अचेल बिभिन्न समयमा विदेशी तथा स्वदेशी तीर्थयात्रीहरू पुग्ने गर्दछन् । 


    पर्यटककाे चहल पहल

    चीनबाट विद्युतीय कार भित्रिदै

    Wednesday, May 08, 2024 0 Comments
    चीनबाट  विद्युतीय कार भित्रिदै


     रसुवा, चीनबाट रसुवागढी नाकाहुँदै नेपाल तर्फबाट विद्युतीय कार काठमाडौँ तर्फ भित्रिने क्रम बढेकाे छ । 

    रसुवागढी नाकाबाट दैनिक रूपमा कार भित्रिने क्रम रहेपनि  मङ्गलबार एकै दिनमा ३१ वटा राजधानी काठमाडौँ ल्याउने भएको  छ ।  

    ठूलो सङ्ख्यामा एउटै लस्करका लागेर आयात भएको चिनियाँ विद्युतीय कार आएको स्थानीयको भनाई छ ।

    आमाको महिमा – केही कविताहरू

    Tuesday, May 07, 2024 0 Comments



    आमा हुन् जगकी दयामय कला आदर्शकी आदर

    आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर ।

    खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन्

    मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।।

     

    आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो

    आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।

     

    डा. ओमवीरसिंह बस्न्यातद्वारा सिर्जित 'आमा' खण्डकाव्यको आमाको महिमा/परिचय दर्शाउने यो कविताबाट यो लेख उठान गरिएको छ । डा. बस्न्यातको आमा खण्डकाव्यको यो कविता, कवितामा मात्र सिमित छैन । अत्यन्त आदर्शको शब्द, सबैका जन्मदाता आमाको प्रतीकको रूपमा यो कविता रहन्छ । नेपाली साहित्यकारहरूको सिर्जना मध्येको आमाको परिभाषालाई प्रतिबिम्बित गर्ने हरफहरूका प्रतिनिधि हरफहरू पाइन्छन् उनका कवितामा ।

     

    पृथ्वीका सबै सजीव प्राणी पृथ्वीमा देखापर्नैका लागि पनि आमा चाहिन्छ । आमाको सहायताले नै भरखर जन्मेको एक बालकले जीवन पाउँछ ।

     

    आमा जीवनको पहिलो व्यक्ति, जसले दश महिनासम्म गर्भमा पीडा र खुसीका साथ लिएर हामीलाई जीवन प्रदान गर्नुहुन्छ । त्यसैको फलस्वरूप हामी आमाको त्यही दुःखको स्मरण गर्दै सम्मान प्रकट गर्दछौं । बैशाख कृष्ण अमावश्याका दिन आमाको दुधको भारा तिर्नका लागि विभिन्न परिकारका खानेकुरा र राम्रो लाउन दिएर खुसी बनाउने गर्छौं ।

     

    'आमा त्यो आउँछ र ?  हो बा त्यो आउँछ,  त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।' अर्को प्रतिनिधि कविता साहित्यकार गोपालप्रसाद रिमालको आमा ङ्मयमा आमा र छोराको परिवर्तनशील यो वार्तालाप हो । नेपाली साहित्यकारहरूले आमालाई विभिन्न तरिकाबाट कवितामा उतारेका छन् ।

     

    झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

    भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।

    -कवि कृष्णप्रसाद भट्टराई

     

    पृथ्वीभन्दा को ठूलो भारी हुन्छ महान

    पृथ्वीभन्दा पनि ठूली जननी जान महान ।।

     

    साहित्यकार लक्ष्मीदत्त भट्टले लेख्नुभएको आमाको स्मृतिबाट लिइएको यी दुई हरफले पनि आमाको महिमा उल्लेख गरेको छ । पृथ्वीभन्दा पनि ठूली आमाको महिमालाई त्यस काव्यमा पनि धेरै चर्चा गरिएको छ ।

     

    माथिका केही प्रतिनिधिमूलक कविताका हरफबाट आज आमाको मुख हेर्ने दिनमा आमाको महिमा सम्झने प्रयास गरें । जन्म दिएर हामीलाई मानिसको आकार बनाइदिने महान् आमालाई सद्भाव र सम्मान दिने न त  कुनै शब्द छन्, न त गर्ने केही व्यवहार नै । जति सम्मान, मान र मर्यादा गरे पनि आमाको ऋण तिर्न सकिन्न । आमा हाम्रा लागि धरती हुन्,  हामी उहाँका सन्तान ।

     

    त्यस्तै साहित्यकार/डा. नवराज लम्सालले आमालाई भन्नुभएको छ -

     

    दुख्दा सबै दुख्ख दु:खेर जान्छ

    जाँदा उसैले सब दुख्ख लान्छ ।

    यो देश तिम्रै सपना सँगाल्छ

    आमा नरोउ अब घाम लाग्छ ।।

                        : तर घाम लाग्ने छाँट देखिएन ।

     

     

    आमासँग सम्बन्धित केही कविताहरू

       


       कवयित्री प्रभा भट्टराई

      आमा श्रृष्टि फुलाउने हृदयको,स्वर्गीय झंकार हुन् !

      रच्ने सिर्जनवाग यो झिलिमिली आमा कलाकार हुन् !!

      आमा नै नभए हुँदैन रचना, आमा बिना के छ र ? !

      आमाकै प्रिय कोखबा जगमा, जन्मे स्वयम् श्वर !!

       

      आफ्नो जीन मृत्युको पनि कठै, र्वाह छोडीकन !

      सक्छिन् यत्न गरेर भर्न जननी निर्जीवमा जीवन ।

      आफू जोखिममा परेर अरूको उद्दार को गर्छ र ?

      आमा कर्मठ स्वार्थहीन जगकै श्रष्टा र संरक्षक ।।

       

      बाँड्छिन् सन्ततिमा बराबर गरी माया र श्रद्दायिनी !

      छातीमा छहरा सुधारसभरी ञ्चार गर्छिन् यिनी !!

      जस्तै दुष्ट कपूतको पनि यिनी, गर्छिन् भलो उत्तिकै !

      चाहे पुत्रकुपुत्र होस् जगतमा, हुन्नन् कुमाता कतै !!

       

      आमा छन् घरमा भनि घर भयो, सम्पन्न सुन्दर !

      आमा कै मृदुमोहमा रहरिलो , स्वर्गीय कहाँ छ र ?

      आमाको महिमा नभै त कविले रोएर भन्दैनथे

      आमा बालककी नमार भगवान् संसार तर्ने भए ।।

       

      आमा हुन् ममतामयी सहृदयीवात्सल्यकी निर्झरी !

      लाखौं यत्न गरुन् तथापी अरु केई, लाग्दैन आमा सरि !!

      हुन्छन् शब्द अनेक जगतमा, प्यारा र राम्रा तर !

      यौटै शब्द छ शब्दकोश भरिकै, आमा आहा सुन्दर ..!!


       कवि जीवनहरि शर्मा 

      आमा हुन् पृथिवी धरा र जननी यो विश्वकी शारदा

      प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा

      आमा हुन् धरती र गाउँ घरकी बस्ती  अध्यारो हुँदा

      न्यानो हुन्छ असाध्य मातृ ममता बाबू भनी भन्दिँदा।।

       

      आमा काख समान हो धरणीमा पल्टेर गिज्याउँदा

      जिब्रो  स्वाद  चपाउने  वदनका ती दन्त  देखाउँदा

      आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको  काइदा

      खुट्टा टेक्नु स्वयम् नटेक सबका भन्ने सुझावै दिँदा।।

       

      आमाको स्वर भावना हृदयको बोली र भाषा कला

      आमाका करले  सिकाउछ सधैँ  सत्कर्मका  पाइला

      आँखा ज्योति समान हुन् सुपथमा यो विश्वमा आउँदा

      के बज्लान् मन मन्दिरै र घरमा कारुण्य सिद्ध्याउँदा।।

       

      आमाका न विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा

      प्यारो हुन्छ  असाध्य मातृ  ममता सामिप्य  मै आउँदा

      आमाको   अनुवादका  पृय  कथा  लेखेर  यो  गाउँदा

      सुन्नेमा अझ भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा।।

       

      आमाका पृय बात अर्ति उपमा हुन् सत्य पत्याउँदा

      इच्छा मात्र थिएन सन्तति  सुधा देखेर अर्थ्याउँदा

      आमा  धीर भएर   दुःख पिरमा  सामर्थ्य  देखाउँदा

      आफ्नो सन्तति नीद भित्र छ भने सम्झेर ब्यूझाउँदा।।

       

      आमाको व्यवहार काम शिरमा राखेर  हिँड्ने  सदा

      आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा

      सारै सङ्कट  भो भने  मनुजले  ऐया भनी सम्झँदा

      प्यारो काख समात डाक घरमा आमा सबैका छँदा।।


      युगकवि : सिद्दिचरण  श्रेष्ठ

       

      आमा ! तिमी जन्म दिने मलाई

      आमा ! तिमी प्राण दिने मलाई

      आमा ! तिमी बोट, म फूल त्यस्को

      हो दान तिम्रै जति जे छ मेरो ।

       

      आमा छ तिम्रो महिमा अपार

      सिद्धिन्न गाए पनि बारबार

      हर्दम बहाईकन प्रेमधारा

      दिन्छ्यौ मलाई कतिको सहारा ।

       

      असङ्ख्य तिम्रो गुणको निमित्त

      केही कुरा छैन दिने मबाट

      संसार यो जति सजाउने छु

      सपूत तिम्रो कहलाउनेछु ।

       

      बिग्रिरहेको म बनाई दिन्छु

      सारा रुनेलाई हँसाइ दिन्छु

      ज्ञानी भई नाम कमाई उच्च

      बन्नेछु तिम्रो म सुयोग्य पुत्र ।


      कवि- कृष्णप्रसाद भट्टराई

      धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी

      तर जन्मदिने "आमा" पाइँदैन कसैगरी ।


      झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

      भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।


      जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा

      सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।


      कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

      तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।


      राखेर काखमा नानी कहिले गीत गाउँछिन्

      बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।


      नानी उठ्छ भनी राति अल्पअल्प निदाउँने

      नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।


      नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्

      आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।


      को खा को खाभनी खाना नानीलाई खुवाउँछिन्

      बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।


      मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि

      बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।


      आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि

      सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।


      तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव

      आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !


      जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्

      आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।


      धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी

      तर जन्म दिने आमा पाइँदैन कसै गरी !!!!!


      यो पनि पढ्नुहोस् 

      थप कविताहरू पनि थपिदै जानेछन् । कृपया तपाई यो पानामा आईराख्नुस् ।