यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

आमाको महिमा – केही कविताहरू

Tuesday, May 07, 2024 0 Comments



आमा हुन् जगकी दयामय कला आदर्शकी आदर

आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर ।

खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन्

मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।।

 

आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो

आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।

 

डा. ओमवीरसिंह बस्न्यातद्वारा सिर्जित 'आमा' खण्डकाव्यको आमाको महिमा/परिचय दर्शाउने यो कविताबाट यो लेख उठान गरिएको छ । डा. बस्न्यातको आमा खण्डकाव्यको यो कविता, कवितामा मात्र सिमित छैन । अत्यन्त आदर्शको शब्द, सबैका जन्मदाता आमाको प्रतीकको रूपमा यो कविता रहन्छ । नेपाली साहित्यकारहरूको सिर्जना मध्येको आमाको परिभाषालाई प्रतिबिम्बित गर्ने हरफहरूका प्रतिनिधि हरफहरू पाइन्छन् उनका कवितामा ।

 

पृथ्वीका सबै सजीव प्राणी पृथ्वीमा देखापर्नैका लागि पनि आमा चाहिन्छ । आमाको सहायताले नै भरखर जन्मेको एक बालकले जीवन पाउँछ ।

 

आमा जीवनको पहिलो व्यक्ति, जसले दश महिनासम्म गर्भमा पीडा र खुसीका साथ लिएर हामीलाई जीवन प्रदान गर्नुहुन्छ । त्यसैको फलस्वरूप हामी आमाको त्यही दुःखको स्मरण गर्दै सम्मान प्रकट गर्दछौं । बैशाख कृष्ण अमावश्याका दिन आमाको दुधको भारा तिर्नका लागि विभिन्न परिकारका खानेकुरा र राम्रो लाउन दिएर खुसी बनाउने गर्छौं ।

 

'आमा त्यो आउँछ र ?  हो बा त्यो आउँछ,  त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।' अर्को प्रतिनिधि कविता साहित्यकार गोपालप्रसाद रिमालको आमा ङ्मयमा आमा र छोराको परिवर्तनशील यो वार्तालाप हो । नेपाली साहित्यकारहरूले आमालाई विभिन्न तरिकाबाट कवितामा उतारेका छन् ।

 

झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।

-कवि कृष्णप्रसाद भट्टराई

 

पृथ्वीभन्दा को ठूलो भारी हुन्छ महान

पृथ्वीभन्दा पनि ठूली जननी जान महान ।।

 

साहित्यकार लक्ष्मीदत्त भट्टले लेख्नुभएको आमाको स्मृतिबाट लिइएको यी दुई हरफले पनि आमाको महिमा उल्लेख गरेको छ । पृथ्वीभन्दा पनि ठूली आमाको महिमालाई त्यस काव्यमा पनि धेरै चर्चा गरिएको छ ।

 

माथिका केही प्रतिनिधिमूलक कविताका हरफबाट आज आमाको मुख हेर्ने दिनमा आमाको महिमा सम्झने प्रयास गरें । जन्म दिएर हामीलाई मानिसको आकार बनाइदिने महान् आमालाई सद्भाव र सम्मान दिने न त  कुनै शब्द छन्, न त गर्ने केही व्यवहार नै । जति सम्मान, मान र मर्यादा गरे पनि आमाको ऋण तिर्न सकिन्न । आमा हाम्रा लागि धरती हुन्,  हामी उहाँका सन्तान ।

 

त्यस्तै साहित्यकार/डा. नवराज लम्सालले आमालाई भन्नुभएको छ -

 

दुख्दा सबै दुख्ख दु:खेर जान्छ

जाँदा उसैले सब दुख्ख लान्छ ।

यो देश तिम्रै सपना सँगाल्छ

आमा नरोउ अब घाम लाग्छ ।।

                    : तर घाम लाग्ने छाँट देखिएन ।

 

 

आमासँग सम्बन्धित केही कविताहरू

     


     कवयित्री प्रभा भट्टराई

    आमा श्रृष्टि फुलाउने हृदयको,स्वर्गीय झंकार हुन् !

    रच्ने सिर्जनवाग यो झिलिमिली आमा कलाकार हुन् !!

    आमा नै नभए हुँदैन रचना, आमा बिना के छ र ? !

    आमाकै प्रिय कोखबा जगमा, जन्मे स्वयम् श्वर !!

     

    आफ्नो जीन मृत्युको पनि कठै, र्वाह छोडीकन !

    सक्छिन् यत्न गरेर भर्न जननी निर्जीवमा जीवन ।

    आफू जोखिममा परेर अरूको उद्दार को गर्छ र ?

    आमा कर्मठ स्वार्थहीन जगकै श्रष्टा र संरक्षक ।।

     

    बाँड्छिन् सन्ततिमा बराबर गरी माया र श्रद्दायिनी !

    छातीमा छहरा सुधारसभरी ञ्चार गर्छिन् यिनी !!

    जस्तै दुष्ट कपूतको पनि यिनी, गर्छिन् भलो उत्तिकै !

    चाहे पुत्रकुपुत्र होस् जगतमा, हुन्नन् कुमाता कतै !!

     

    आमा छन् घरमा भनि घर भयो, सम्पन्न सुन्दर !

    आमा कै मृदुमोहमा रहरिलो , स्वर्गीय कहाँ छ र ?

    आमाको महिमा नभै त कविले रोएर भन्दैनथे

    आमा बालककी नमार भगवान् संसार तर्ने भए ।।

     

    आमा हुन् ममतामयी सहृदयीवात्सल्यकी निर्झरी !

    लाखौं यत्न गरुन् तथापी अरु केई, लाग्दैन आमा सरि !!

    हुन्छन् शब्द अनेक जगतमा, प्यारा र राम्रा तर !

    यौटै शब्द छ शब्दकोश भरिकै, आमा आहा सुन्दर ..!!


     कवि जीवनहरि शर्मा 

    आमा हुन् पृथिवी धरा र जननी यो विश्वकी शारदा

    प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा

    आमा हुन् धरती र गाउँ घरकी बस्ती  अध्यारो हुँदा

    न्यानो हुन्छ असाध्य मातृ ममता बाबू भनी भन्दिँदा।।

     

    आमा काख समान हो धरणीमा पल्टेर गिज्याउँदा

    जिब्रो  स्वाद  चपाउने  वदनका ती दन्त  देखाउँदा

    आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको  काइदा

    खुट्टा टेक्नु स्वयम् नटेक सबका भन्ने सुझावै दिँदा।।

     

    आमाको स्वर भावना हृदयको बोली र भाषा कला

    आमाका करले  सिकाउछ सधैँ  सत्कर्मका  पाइला

    आँखा ज्योति समान हुन् सुपथमा यो विश्वमा आउँदा

    के बज्लान् मन मन्दिरै र घरमा कारुण्य सिद्ध्याउँदा।।

     

    आमाका न विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा

    प्यारो हुन्छ  असाध्य मातृ  ममता सामिप्य  मै आउँदा

    आमाको   अनुवादका  पृय  कथा  लेखेर  यो  गाउँदा

    सुन्नेमा अझ भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा।।

     

    आमाका पृय बात अर्ति उपमा हुन् सत्य पत्याउँदा

    इच्छा मात्र थिएन सन्तति  सुधा देखेर अर्थ्याउँदा

    आमा  धीर भएर   दुःख पिरमा  सामर्थ्य  देखाउँदा

    आफ्नो सन्तति नीद भित्र छ भने सम्झेर ब्यूझाउँदा।।

     

    आमाको व्यवहार काम शिरमा राखेर  हिँड्ने  सदा

    आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा

    सारै सङ्कट  भो भने  मनुजले  ऐया भनी सम्झँदा

    प्यारो काख समात डाक घरमा आमा सबैका छँदा।।


    युगकवि : सिद्दिचरण  श्रेष्ठ

     

    आमा ! तिमी जन्म दिने मलाई

    आमा ! तिमी प्राण दिने मलाई

    आमा ! तिमी बोट, म फूल त्यस्को

    हो दान तिम्रै जति जे छ मेरो ।

     

    आमा छ तिम्रो महिमा अपार

    सिद्धिन्न गाए पनि बारबार

    हर्दम बहाईकन प्रेमधारा

    दिन्छ्यौ मलाई कतिको सहारा ।

     

    असङ्ख्य तिम्रो गुणको निमित्त

    केही कुरा छैन दिने मबाट

    संसार यो जति सजाउने छु

    सपूत तिम्रो कहलाउनेछु ।

     

    बिग्रिरहेको म बनाई दिन्छु

    सारा रुनेलाई हँसाइ दिन्छु

    ज्ञानी भई नाम कमाई उच्च

    बन्नेछु तिम्रो म सुयोग्य पुत्र ।


    कवि- कृष्णप्रसाद भट्टराई

    धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी

    तर जन्मदिने "आमा" पाइँदैन कसैगरी ।


    झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

    भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।


    जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा

    सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।


    कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

    तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।


    राखेर काखमा नानी कहिले गीत गाउँछिन्

    बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।


    नानी उठ्छ भनी राति अल्पअल्प निदाउँने

    नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।


    नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्

    आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।


    को खा को खाभनी खाना नानीलाई खुवाउँछिन्

    बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।


    मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि

    बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।


    आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि

    सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।


    तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव

    आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !


    जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्

    आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।


    धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी

    तर जन्म दिने आमा पाइँदैन कसै गरी !!!!!


    यो पनि पढ्नुहोस् 

    थप कविताहरू पनि थपिदै जानेछन् । कृपया तपाई यो पानामा आईराख्नुस् ।


    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय

    Tuesday, May 07, 2024 0 Comments

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी 

    रसुवा जिल्लाको सदरमुकाम धुन्चेको पुरानो वा स्थानीय नामाकरण दुङ्‌ल्हाङ हो । दुङ्‌ल्हाङको अर्थ शंख ठड्याउने भन्ने हुन्छ ।


      दुङ्‌ल्हाङ (शंख ठड्याउने) वा धुन्चे कसरी भयो ?

      किंबदन्ती अनुसार उहिले बारपाकमा बौद्द धर्मका शक्तिशाली तान्त्रिक एकजना घले राजा (ग्याल्बो) थिए ।उनले आफ्ना केही छोराहरूलाई उपयुक्त ठाउँ खोजेर पठाउन चाहे । तीमध्ये एक छोरालाई बोलाएर भनेछन् 'म मन्त्र गरेर यो शंखलाई यहाँबाट फाल्छु, तिमी त्यसलाई खोज्दै जाउ र जहाँ भेटिन्छ त्यही राजा भएर राज्य चलाउनु ।'

      ती राजाले शंखलाई मन्त्र गरी उडाए । शंख आकाशमा उड्यो, उनका छोरा ठिसुम देप्के घले शंख उडेको तिर खोज्दै गए । गोरखाको बारपाकबाट धादिङको तिप्लिङ हुँदै धुन्चे पछाडिको ब्राबल आईपुगे । भीरको टुप्पोमा आकाशतिर ठडिएर बसेको अवस्थामा शंख फेला पर्‍यो । ढुङ्‌गेभीरको टुप्पोमा शंख फेला परेको हुनाले भीरको नामाकरण 'दुङ्‌ल्हामो' भयो र यस वरपरको क्षेत्रको 'दुङ्‌ल्हामो' बाट 'दुङ्‌लाङ' अपभ्रम्श भई 'दुङ्‌जे वा धुन्चे' रहन गएको हो ।

      दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
      धुन्चेको मध्य बजारमा रहेको शंखपार्क


      ती ठिसुम देप्के घलेले आफूलाई राजा घोषित गरी 'गोङ्‌गाङ' भन्ने ठाउँमा राजा भएर राज्य चलाउन थाले । उनले थोक्रा बंशका तामाङलाई काजी पद दिए ।

      दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी वरपरका मुख्य आकर्षणहरू

      • पासाङल्हामु राजमार्गमा अवस्थित
      • तामाङ संस्कृति, परम्परा र भेषभूषा
      • टुल्कु क्षेलिङ गुम्बा
      • तामाङ संग्रहालय
      • ह्युल्साङ, ल्होसार, बुद्दजयन्ति जस्ता पर्व
      • मानी डुप, मानी ङ्आ, मानीकोर, काङ्नी मानी, ङ्यारूङ टुल्कु क्षोर्तेन, सेरा खनेन मानी जस्ता आकर्षकीय तथा ऐतिहाँसिक सांस्कृतिक स्थलहरूको अवलोकन  
      • पर्यटकीय गन्तव्यको बिन्दु
      • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
      • रमणीय प्राकृतिक भ्यूटावरहरू

       

      दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी कसरी पुग्ने ?

      पासाङल्हामु राजमार्गको प्रयोग गरेर, सदरमुकाम धुन्चेबजारको बीच भागमा अवस्थित छ ।

      दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरीसँग सम्बन्धित सामग्रीहरू

       

      स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ, रसुवाली 

      एमाले रसुवाका अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

      Monday, May 06, 2024 0 Comments
      एमाले रसुवाका अध्यक्षमा ढकाल सर्वसम्मत

      रसुवा, नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।  

      अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिबमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् । 

      २ दिन चलेकाे बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समुहगत छलफल तथा प्रस्तुती गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए । 

      जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले पत्रकारलाइ जानकारी दिए । 

      अधिबेशनलाइ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।

      अधिबेशले जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी सहभागी थिए । 

      अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए । ०७० सालको संबिधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन् । उपाध्यक्ष तामाङ २ पटक निर्वाचित गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष तथा पार्टीका पूर्व उपसचिव हुन् । सचिव तामाङ पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता हुन् । उपसचिव गुरूङ २ पटक निर्वाचित उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा जिल्ला नेतृ हुन् । त्यसै गरी लेखा कमिटीको  संयाेजक गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङ रहेका छन् । 

      जिल्ला अधिबेशन पछि नयाँ टिमलाइ बधाइ तथा शुभकामना दिने कार्यक्रममा पार्टी जिल्ला इन्चार्रज साेम मिश्र, केन्द्रीय सदस्य माधब अर्याल, पुर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहाकार परिषदका सदस्य छाेवाङ तेन्जिङ तामाङले बधाइ दिएका थिए ।  अध्यक्ष ढकालले अधिबेशन सफलपार्न सहयाेग गर्ने अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी लगायत सवैलाइ धन्यवाद दिएका थिए । 

       एमाले रसुवाका अध्यक्षमा ढकाल सर्वसम्मत

      सूर्यकुण्ड अर्थात् नोर्छो : एक परिचय

      Saturday, May 04, 2024 0 Comments
      सूर्यकुण्ड अर्थात् नोर्छो : एक परिचय
      सूर्यकुण्ड अर्थात् नोर्छो : उचाई ४६१० मी.


        सूर्यकुण्ड अर्थात् नोर्छोको परिचय

        रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ मा रहेको सूर्यकुण्डलाई स्थानीयहरू नोर्छो (धनको कुण्ड) भनेर चिन्दछन् । नुवाकोट र सिन्धुपाल्चोक तथा रसुवाको सिमाना नजिकै रहेको यो कुण्डमा दर्शन तथा स्नान गर्नाले धन प्राप्ति हुने जनविश्वास रही आएको छ ।

        सूर्यकुण्ड तथा वरपरको आकर्षणहरू

        -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

        -         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

        -         वीर अमरसिंह थापाको गुफा

        -         लोपोन्मुख रेडपाण्डा अवलोकन

        -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

        -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

        -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

        -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

        -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

        -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

        -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

        सूर्यकुण्ड कसरी पुग्ने ?

        सूर्यकुण्ड तथा गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ ।

        १)         रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना – गोसाइँकुण्ड हुँदै

        २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड - गोसाइँकुण्ड हुँदै

        ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड - गोसाइँकुण्ड हुँदै

        ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

        ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

        ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदि हुँदै

        ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदि हुँदै

        सूर्यकुण्डसँग सम्वन्धित सामग्रीहरू

        १)