यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

गापा अध्यक्ष कप हाकु युवा सोसाइटी र रेडपाण्डा ट्रफी नौकुण्डलाई

Saturday, April 20, 2024 0 Comments



रसुवा । गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१  हाकु युवा सोसाईटी तथा १२ औं रेडपाण्डा ट्रफी पुरूष भलिबल प्रतियोगितामा  नौकुण्ड युवा सोसाइटीले उपाधि हात पारेकाे छ । 

अध्यक्ष कप फाइनल खेलमा एकीकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि विजेता हाकु युवा सोसाइटीले क्रमशः २ लाख नगद सहिद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो उपविजेता एकीकृत नौकुण्ड युवा समाजले १ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा तृतीय टीम रिस्याङ भूमि प्रगतिशील युवा क्लबले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सान्त्वना पुरस्कार नौकुण्ड एकता समाजले २५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

शुक्रबार उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम धुन्चेमा सम्पन्न भएको हो ।

विजेता खेलाडीहरुलाई आयोजक  गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ बरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल  प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा विविध राष्ट्रिय एवम् स्थानीय साँस्कृतिक कार्यक्रम समेत भएको थियो । राष्ट्रिय कलाकार गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको मनोरञ्जन पूर्ण प्रस्तुति रहेको थियो।

प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य प्रेमबहादुर तामाङ, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा,नेकपा एमालेका अध्यक्ष कर्न्याल लामालगायत खेलाडी, पत्रकारलगायत विभिन्न निकायको उपस्थिति रहेको थियो ।

एमाले ९ औं जिल्ला अधिबेशनका लागि मतदान अधिकृत खटिए

Saturday, April 20, 2024 0 Comments
एमाले ९ औं जिल्ला अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत


रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले २७ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ । 

वैशाख २२ गते धुन्चेमा उद्घाटन हुने ९ औं जिल्ला अधिबेशनका लागि वडा कमिटीबाट प्रतिनिधी छनोट गर्नका लागि निर्वाचन अधिकृत तोकेर प्रतिनिधी छनोट बारे छलफल समेत गरेको पार्टी जिल्ला कमिटी उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक डिल्ली सुवेदीले बताए । 

शनिबार कालिकास्थानमा भएकाे निर्वाचन अधिकृतहरूकाे भेलामा वैशाख १५ गते एकैदिन प्रतिनिधी छनोटका लागि निर्वाचन अधिकृत तोकेर खटाइएको छ उनले भने जिल्लाका पाँचवटै पालिकामा रहेका ३ हजार १ सय ९ जना सदस्यहरुले वडा तह तथा जनवर्गिय संगठनहरूबाट गरी कुल ४ सय जना प्रतिनिधी छानिने छन् । 

भेलामा पार्टी उपसचिव कैसाङनुर्पु तामाङ, जिल्ला नेताहरू उद्दव रिजाल, निर्वाचन कमिटी संयाेजक नारायण देवकाेटालागायत नेताहरूले प्रतिनिधी छनाेटकाे बिधि तथा निर्वाचन प्रक्रिया बारे सहजिकरण गरेका थिए । 


निःशुल्क दन्त शिविरमा ५ सय ३५ जनाले सेवा लिए

Friday, April 19, 2024 0 Comments
निःशुल्क दन्त शिविरमा ५स३५ जनाले सेवा लिए

रसुवा, कालिका गाउँपालिका -५ रसुवाको जिवजिवे ग्रामीण अस्पतालमा सञ्चालित निःशुल्क दन्त शिविरमा ५ सय ३५ जनाले सेवा लिएका छन् ।  

कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए। 

कालिका गाउँपालिकाले ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । 

तीनवटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा पुगेको छ । शिविर ०८० वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएकाे थियाे ।

दात भर्ने ५४४, दात निकाल्ने १७८ जना सेवाग्राहीले सेवा लिएकाे र शिविरको लागि आर्थिक तथा प्राबिधिक सहयोग गरेकाे शिविरमा सहभागी रसुवा ट्रेक्स एण्ड एक्पिडेशन प्रालि संचालक बलराम न्यौपानेले बताए ।

उत्तरगया गाउँपालिकामा दूध उत्पादन गर्न उपहार कार्यक्रम लागू

Thursday, April 18, 2024 0 Comments

उत्तरगया गाउँपालिकामा दूध उत्पादन गर्न उपहार कार्यक्रम लागू

रसुवा,  उत्तरगयाँ गाउँपालिकामा दूध उत्पादन वृद्धि गर्न किसानलाई गाइ र भैंसी उपहार कार्यक्रम लागू भएको छ। गाउँपालिकाले दूध उत्पादन बढाउन वडा नं ४ र ५ का किसानलाई गाई भैंसी उपहार अन्तर्गत ५० हजार अनुदान कार्यक्रम लागू गरेको हो। 

कार्यक्रमबाट भैंसीका लागि ५० हजार अनुदान दिने, भैंसी किनेको २ वर्षपछि अर्का सदस्यलाई पहिलो वर्ष पाउनेले ५० हजार रुपैयाँ फिर्ता दिनुपर्ने गाउँपालिका पशु स्वास्थ्य शाखाका प्रमुख सुनबहादुर तामाङले बताए। 

कार्यक्रम अन्तर्गत ५० जना किसानले ५० हजार रुपैयाँ लिएर भैंसी किनेका छन् । अब तत्कालै १० भैंसी र १५ वटा गाईका लागि अनुदान उपलब्ध गराउन लागेको तामाङले बताए। यसपटक भैंसीका लागि ५० हजार रुपैयाँ उपहार पाउनेले २ वर्षमा नयाँ सदस्यलाई सो रकम उपहार फिर्ता गर्नुपर्ने छ। 

गाउँपालिका भरी दूध संकलनको काम चाँढै सुरु हुन लागेको गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख सुनबहादुर तामाङले बताए। संकलित दूधबाट दुग्ध जन्य उत्पादन गरेर बिक्री गर्ने तथा दुग्ध विकास संस्थानमा पठाउने तामाङले बताए। 

सिड्स रसुवामार्रफत हेफरसँगकाे साँझेदारी सुरू भएकाे कार्यक्रमले किसानलाइ दुध उत्दान बढाउन गाइ र भैसी पाल्न र दूध उत्पादन बढाउन प्रयास गरेकाे छ । 

पालिकाले गाउँमा दूध संकलन सुरु गर्ने भएपछि  गाई, भैंसीको संख्या थपेर किसानले दूध उत्पादन गर्न थालेको छन्।

निःशुल्क दन्त शिविर सुरू

Tuesday, April 16, 2024 0 Comments

निःशुल्क दन्त शिविर सुरू

रसुवा,  कालिका गाउँपालिकाकाे जिवजिवे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सुरू भयाे । शिविर ०८१  वैशाख ७ गतेसम्म सञ्चालन हुने छ। 

जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका  जनस्वास्थ्य निरीक्षक उत्सव  पौडेलले बताए। 

कालिका गाउँपालिकाले रसुवा ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो। 

तीन वटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा हुने छ। कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, रसुवा ट्रेक एण्ड एक्पिडेशन प्रालिका बलराम न्यौपाने तथा विदेशी दाताहरू तथा चिकित्सकहरू समेत सहभागी थिए । 




गोसाइकुण्ड केवुलकार बन्नु पर्छ : मन्त्री गिरी

Tuesday, April 16, 2024 0 Comments
गोसाइकुण्ड केवुलकार बन्नु पर्छ : मन्त्री गिरी

रसुवा, नेपाल सरकारका कानून तथा संसदीय ब्यवस्था मन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भएपनि पवित्र तीर्थ गोसाइँकुण्ड केबुलकार निर्माणका लागि  आफू सकरात्मक रहेको बताए ।

तेश्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिवलखेल, १२ औं रेडपाण्डा ट्रफि तथा २९  वन्यजन्तु सप्ताहको धुन्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले पर्यटकीय सम्भावना बोकेको रसुवामा भौतिक पुर्वाधार विकास तथा रसुवागढी नाकाको सुधार गर्न आवश्यक देखेको बताए । 

उनले चार वर्ष अघिदेखि निर्माण सुरूभई अलपत्र पारिरहेको एकीकृत भन्सार कार्यालय भवन र राष्ट्रिय गौरबको आयोजना गल्छी मैलुङ्ग रसुवागढी सडक अलपत्र परेको प्रति तत्काल मन्त्री परिषद्मा राखेर सरकारको ध्यानआकर्शण गराउने बताए  । 

तापोभूमि गोसाइकुण्डको जिल्ला पहिलोपल्ट टेकेर आफुलाइ भाग्यमानी ठानेको बताउदै मन्त्री गिरीले केवुलककारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदाहरू समयसाक्षेप हुने गरी नीतिमा संशोधन गर्न आफू तयार रहेको बताए । 


कानून मन्त्री गिरीले नेपाल चीन सिमानाको रसुवागढी क्षेत्रको भ्रमण गरेका छन् ।   गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले गल्छी मैलुङ सडक अलपत्र भएकाेले  छिटो सुधारका लागि सदनमा आवाज उठाई दिन र निकुञ्जको पुरानो कानून समय सापेक्ष संशाेधन  गराई सवैखाले विकास निर्माणमा सहजिकरण गर्ने कानून परिमार्जन गरिदिन अनुरोध गरे । 

संविधान सभाका सदस्य छोवाङतेन्जिङ तामाङले कानून मन्त्री प्रमुख अतिथिको रूपमा रसुवाले पाउँदा जैविक बिबिधता संरक्षण र निकुञ्जबासी वीच हुने विकास निर्माण कार्य छिटो छिटो अगाडि बढ्ने कानून तर्जुमा हुनेमा आशावादी रहेको बताए । 

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले  मन्त्रीको  रसुवा भ्रमणले  धुञ्चे -गोसाइँकुण्ड केवुलकार  निर्माणमा  सहज हुने र रसुवावासीको भविश्य उज्जलहुनेमा आम नागरिक उत्साहित भएको बताए । 

३ दिनसम्म चल्ने भलिबल खेलमा १५ टिमले भाग लिने भएका छन् । 



रसुवागढी जलविद्युतकाे लागत बढ्याे

Sunday, April 14, 2024 0 Comments

रसुवागढी जलविद्युतकाे लगत बढ्याे

रसुवा, निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको लागत करिब पाँच अर्ब रुपैयाँ बढी लागेको छ। भौगोलिक विकटता, वर्षात्को बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीजस्ता कारणले करिब पाँच अर्ब रुपैयाँ बढी लागत लाग्ने आयोजनाले जनाएको हो। आयोजनाको निर्माण १३ अर्ब ६० करोड रुपैयाँको लागतबाट सम्पन्न हुने सुरुको प्रक्षेपण थियो।

नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बग्ने भोटेकोसी नदीको पानी उपयोग गरी निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजना गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भू-भागमा पर्दछ। आयोजनाको हालको अवस्थाको लागत ब्याजबाहेक १८ अर्ब ४७ करोड रुपैयाँको हाराहारीमा खर्च हुने भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। 

रसुवागढी जलविद्युतकाे लगत बढ्याे

स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण सुरु गरिएको उक्त जलविद्युत् आयोजनाका सुरुङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात् विद्युत् उत्पादन गर्ने उपकरण रनर घुमाई परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो। तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वाकाले हाइड्रोपावरबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने बताए। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदको याममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुनेछ।

निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइसकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन्।

आयोजनाको बाँधस्थलको सफल परीक्षण पछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले जानकारी दिए।

चिलिमे जलविद्युत् आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रूपमा रसुवागढी आयोजना सुरु भएको हो। २०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत्गृह भूमिगत सुरुङहरू, तथा विभिन्न उपकरण परीक्षण भइरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत गैरे भन्छन्, ‘परीक्षणकै लागि अहिले निरन्तर पानी पठाउने काम भइरहेको छ, वैशाख भित्र उत्पादन थाल्नेछौं।’

रसुवागढी जलविद्युतकाे लगत बढ्याे


आयोजनाबाट २०८० असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ कमजोर हुँदै जानुलगायत काबु बाहिरको परिस्थितिले गर्दा समयावधि थप भएसँगै संशोधित लागत ९निर्माण अवधिको ब्याज रकमबाहेक० १८ अर्ब ४७ करोड रुपैयाँ लाग्ने देखिएको प्रमुख गैरेले बताए। वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् शक्ति उत्पादन भई यस कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ।

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धि नमूना घटना अभ्यास सम्पन्न

Saturday, April 13, 2024 0 Comments

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न

रसुवा, उत्तरगया गाउँपालिकामा जिल्ला विपत् व्यवस्थापन रसुवाको आयोजना तथा प्रतिबद्ध परियोजनाको सहयोगमा चैत २० देखि २३ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न भएको छ ।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले गर्ने मनसुन बुलेटिन सातदिने, तीन दिने र विशेष मौसम तथा बाढीको बुलेटिनमा रही अभ्यास गरिएको थियो । उत्तरगया गाउँपालिकाको उच्च जोखिममा रहेका स्थानलगायत सम्पूर्ण स्थानमा सूचना प्रवाहको विषयमा स्थानीय विपत् व्यवस्थापन समिति, वडा तथा सामुदायिक विपत् व्यवस्थापन समिति, स्वयम्सेवक, युवा क्लब, आमा समूह, रेडक्रसलगायतका सरोकारवालालाई कसरी विपतपुर्व र विपत्पश्चात् परिचालन गर्न सकिन्छ र गर्ने गरिन्छ भन्नेबारेमा अभ्यास भएको थियो । 

विशेष जानकारी दिन र उत्तरगया गाउँपालिकाले तयारी गरेको विपत् पूर्वकार्य तथा प्रतिकार्य योजनाको मूल्याङ्कन गर्न, यस घटना अभ्यासबाट अवगत भएका कमी तथा सुधार्नुपर्ने कुरालाई आगामी आउने वर्षको योजनामा समावेश गर्न सहयोग पुग्ने बताइएको छ । 

मानिसमा सतर्कता कसरी अपनाउने, विपद्काे समयमा गर्नुहुने नहुने कार्यबारेमा जानकारी दिने साथै विपत्को समयमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका, विषय क्षेत्रका कर्मचारी, सुरक्षा निकाय, सामुदायिक विपत् व्यवस्थापन समिति, रेडक्रस, युवा क्लब, आमा समूह, स्थानीयलगायत सम्पूर्ण सरोकारवालाले आ–आफ्नो ठाउँमा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराइएको थियो । 

यस्तै, वडा नम्बर २ डाँडागाउँमा गरिएको कृत्रिम घटना अभ्यासमा जोखिममा रहेको लाम्चेढुङ्गा क्षेत्रका जोखिममा रहेका २१ परिवारलाई स्थानान्तरण, सवारी दुर्घटनाका घाइतेको उद्धार साथै प्राथमिक उपचार गरी अस्पतालसम्म लैजानेलगायतका अभ्याससमेत गरिएको थियो ।

उत्तरगया गाउँपालिका- ५ नौबिसे नयाँ बस्तीका पहिरोबाट जोखिममा रहेका १७ परिवारलाई पनि स्थानान्तरण साथै स्थानान्तरणपश्चात् अस्थायी बसोवासको प्रबन्ध साथै राहत समेत वितरण गरेको थियो । सोही क्षेत्रमा एक कुखुरा खोरमा भएको आगलागीको नियन्त्रण गरिएको थियो । अभ्यास कार्यक्रमका अनुभव साथै कार्यक्रमबारे चर्चा गर्दै गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले समापन गरेका थिए । 

कार्यक्रम गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारी, वडाध्यक्षलगायत स्थानीयलगायत सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको हो ।

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न

तेश्रो जूनतारा कप भलिबल सुरू

Saturday, April 13, 2024 0 Comments

तेश्रो जूनतारा कप  भलिबल सुरू

रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं २ ग्रे मा तेश्रो जूनतारा कप रसुवा खुल्ला पुरुष भलिबल प्रतियगिता सुरु भएको छ ।

नयाँ वर्ष २०८१ सालको अवसरमा आयोजित तेश्रो जूनतारा कपमा रसुवा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय गायन प्रतियोगिता साथै बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

प्रतियगितामा भलिबल तर्फबाट १३ टीम सहभागी  छन् ।  प्रथम हुनेलाई रू.८१,१११ ट्रफी, मेडल र प्रमापत्र क्रमशः दोश्रो हुनेलाई रू. ४१, १११ ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने टीम खेलाडीहरूलाई रू .२१,१११ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने जनाइएकाे छ । 

साथै बृहत सांस्कृतिक सांझमा राष्ट्रिय स्तरको कलाकार हरू, गायक विशाल कल्तान , गायिका जितु लोप्चन, गायक सुमन घले साथै मिस तामाङ २०८० तेश्रो रनर अप पेमा डोल्मा छेकपलको विशेष प्रस्तुती पनि रहने छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई माेवाइल सेट वितरण

Saturday, April 13, 2024 0 Comments

स्वास्थ्य स्वयम्सेविकालाइ माेवाइल सेट बितरण

रसुवा, ग्रामीण तहमा काम गर्ने  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ माेवाइल सेट वितरण गरिएकाे छ । 

गोसाँकुण्ड गाउँपालिका- ५ स्याफ्रुबेंशी स्वास्थ्य चौकी अन्तर्ग‌तका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, ठूलोस्याफ्रु सामुदायिक स्वास्थ्य ईकाइ र स्याफ्रुबेशी स्वास्थ्य चौकीलाइ गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त मोवाइल सेट स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दावा मिङमार तामाङले एक कार्यक्रमका बीच बितरण गरेका हुन् ।

माेवाइल सेट बितरण भएपछि नियमित काम गर्न सजिलाे हुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू बताउँछन् ।

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Friday, April 12, 2024 0 Comments

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कालिकास्थान, रसुवाको कालिका गाउँपालिका(५ जिबजिबेमा रहेको ग्रामीण अस्पताललाई नेप्लिज डाक्टर एसोसिएसन युकेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलका अनुसार डेन्टल क्याम्प एन्ड कम्युनिकेबल डिजिज स्क्रिनिङलगायत पोर्टेबल डेन्टल एक्सरे आरभपजी विथ ल्यापटप, २० केभिए क्षमताको जेनेरेटर, एइडीलगायतका सामग्री एसोसिएसनका अध्यक्ष डाक्टर सञ्जीव नेपालीले हस्तान्तरण गरेका हुन् । 

अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि नेप्लिज डाक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री वितरण गरेको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । उक्त अस्पतालबाट जिल्लाको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकाभित्रका गरिब र अतिविपन्न परिवारले सहज रूपमा सेवा पाउनेछन् । सो अवसरमा दाँतको उपचारबाट एक सय ४६ जनाले सेवा लिएका थिए । 

पासाङल्हामु राजमार्ग २४सै घण्टा सञ्चालनका गर्न माग

Friday, April 12, 2024 0 Comments

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ ।


धुन्चे, रसुवा जिल्ला प्रवेश गर्ने पासाङल्हामु राजमार्ग र गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकमार्ग लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा पोस्टले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । 

निकुञ्जको कार्यक्षेत्रभित्र पर्ने यी दुईवटा सडक विगतदेखि नै राती ६ घण्टा बन्द हुँदै आइरहेका छन् । उक्त दुवै सडक २४सै घण्टा सञ्चालन गर्न गोसाइँकुण्ड गाउँपालिकाको तर्फबाट मंगलबार रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ । निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको सुरक्षा पोस्टले यी दुई खण्डको सडकमा ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन र स्थानीयलाई आवत–जावतमा रोक लगाउँदै आएको छ । 

पासाङल्हामु राजमार्ग र बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा २४सै घण्टा सबै प्रकारको सवारीसाधन आवत–जावतको व्यवस्था नभएको, सुरक्षा चेक पोस्टको सङ्ख्या बढीमा तीन स्थानमा मात्रै हुनुपर्ने र एकीकृत रूपमा चेकजाँचको व्यवस्था मिलाई समाधान गरिदिन ज्ञापनपत्रमार्फत माग गरिएको अध्यक्ष तामाङले जानकारी दिए । 

बेत्रावतीदेखि रसुवागढी नाकासम्म करिब १५ वटा सुरक्षा चेकजाँच भएकाले समस्या भएको र एम्बुलेन्स तथा आपत्कालीन समयमा सुरक्षा निकायलाई सूचनापश्चात् मात्रै अनुमति पाउने गरेको उनले बताए । रातिको समयमा सडकमार्ग बन्द हुँदा चीनबाट आयतीत सामान भन्सार चेकजाँचपछि ६ घण्टा रोकिनुपर्दा व्यवसायीलाई लागत र समय बढी लाग्ने गरेको छ ।

एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका

Friday, April 12, 2024 0 Comments


शैली खतिवडा

 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । 

कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकिन्छ । 

 

मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । 

विसं १८११ मा नेपाल–तिब्बतबिच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजयोत्सव मनाउँदै मन्दिरमा यत्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कूकृत्यले देवी क्रूद्ध भई हावाहुरी, चट्याङसहित असिनापानीले तिब्बती सेना धेरै जनाको मृत्यु भई ठुलो क्षति भएको थियो । जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगेको बुढापाकाको भनाइ छ । 

त्यसपछि बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । त्यसपछि बेत्रावती सन्धि विसं १८४९ भदौ ६ गते भएको इतिहासमा उल्लेख छ । त्यसबेलाको युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । नजिकै घलेगढी, कमारेगढी जस्ता युद्ध सामग्री भण्डार गर्ने ढुङ्गे गुफा रहेका छन् । मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । चारैतिर रमणीय हरियाली प्राकृतिक दृश्यले मन्दिर दर्शन गर्न आउँदा छुट्टै आनन्द हुने गर्छ । हाम्रो विद्यालयनजिकै रहेकोले हामी विद्यालय टिफिन वा खाली पिरियडमा खेल्दै घुम्दै मन्दिर पुग्छौँ ।        

गाेरखापत्र अनलाइन र २०८० माघकाे मुना मासिक पत्रिकाबाट साभार 




तीनवटा सामुदायिक वन कार्ययोजना हस्तान्तरण

Friday, April 12, 2024 0 Comments

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

रसुवा, उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तीन वटा सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणीकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अब नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘विधान संशोधन तथा कार्ययोजना नवीकरण भयो अब नेतृत्व हस्तान्तरण गर्छु ।’ उहाँले भन्नुभयो ।

कार्ययोजना हस्तान्तरणपछि भएको अन्तक्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सबैले राम्ररी पढ्नु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाँकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथी केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समूहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताउनुभयो ।

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

दिगो वन विकास कार्यक्रम संयोजक चापागाईंले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताउनुभयो । 

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

Friday, April 12, 2024 0 Comments

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

सरकारी लोगोको दुरूपयोग गरेको मध्यवर्ती व्यवस्थापन समितिमाथि आरोप

सदरमुकाम धुन्चेमा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगिता समेत् हुने 

 

रसुवा, रेडपाण्डा संरक्षण तथा पर्यटन प्रवर्दनका लागि  हरेक वर्ष आयोजना हुँदै आएको वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम यस वर्ष दुई स्थानमा सञ्चालन हुन लागेको छ । एउटै कार्यक्रम एकै समयमा दुईतिर सञ्चालन हुँदा खेलाडीहरू कता भाग लिने भन्ने अन्यौलमा छन् । खेलमा प्रतिस्पर्धा गर्ने इच्छा हुँदाहुँदै पनि कुन् कार्यक्रममा भाग लिने  अन्यौलमा  परेको खेलाडीहरू बताउँछन् । 

लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगितासहित्  २९ औँ वन्यजन्तु सप्ताह तथा १२ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता धुञ्चेमा सञ्चालन गर्ने भएका छन् भने कालिका गाउँपालिका, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) र मध्यवर्ती व्यवस्थापन समितिले कालिकास्थानमा कार्यक्रम गर्न लागेको हो । 

प्रत्येक वर्ष धुञ्चेमा आयोजना हुँदै आएको कार्यक्रम यसवर्ष  एकै समयमा दुई स्थानमा सञ्चालन हुने भनेर प्रचार गरिएसँगै कार्यक्रम विवादित हुन लागेको हो ।  

लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार मध्यवर्ती व्यवस्थापन समितिले निकुञ्जको लोगो ब्यानरमा टाँसेर दुरूपयोग गरेको बताए । उनले भने 'लाङटाङ राष्ट्रिय निकुञ्जको लोगो दुरुपयोग भयो, लोगो जथाभावी प्रयोग गर्न पाईदैन ।'

सबै मिलेर सफल पार्नुपर्ने वन्यजन्तु सप्ताह तथा विश्वमा दुर्लभ रेडपाण्डा संरक्षणका नाममा हुन लागेको कार्यक्रममा देखिएको सरकारकै बिभाजनले खेलप्रेमी तथा सरोकारवालाहरुमा उत्साह भन्दा निरासा ल्याउने सरोकारवालाहरू बताउँछन् । 


वनमा लागेकाे डँढेलोले बाख्रा फार्ममा क्षति

Thursday, April 11, 2024 0 Comments

वनमा लागेकाे डँढेलोले  बाख्रा फार्ममा  क्षति

रसुवा, आमाछोदिङमो गाउँपालिका–१ लुम्बुडाँडा सामुदायिक वनमा लागेको डढेलोको कारण नजिकै रहेको बाख्रा फार्ममासमेत क्षति पुगेको छ। उत्तरगाया गाउँपालिका–१ को दक्षिणकाली सामुदायिक वनबाट लागेको आगोले एनआर एग्रो फर्ममा पुगेर त्यहाँको गोठ दाना, दाना बनाउने मेसिन तथा गोठ भित्रको सबै सामान पूर्ण रुपमा क्षति गरेको छ। 

'गोठमा बाख्रा भने अन्यत्र लगेकोले क्षति भएन। घुम्ती गोठ हुने भएकोले अहिले बाख्रा थिएन जंगल र बाख्रा फार्ममा ठूलो क्षति भयो',  स्थानीय एनआर एग्रो फर्म प्रालिका पासाङदे तामाङले भने। 

३ दिनदेखि उत्तरगया र आमाछोदिङमो गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण हुन सकेको छैन। अहिले पनि दक्षिणकाली सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न सकेको छैन। आगलागीको खबर पाएपछि हाकु प्रहरी चौकीबाट प्रहरीले अनुगमन गरेको हाकुबेशी प्रहरीले चौकीले जनाएको छ। 

मानव बेचबिखनकाे आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Thursday, April 11, 2024 0 Comments

मानव बेचबिखनकाे आरोपमा  गाउँपालिका अध्यक्ष पक्राउ

रसुवा, नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षिय नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई प्रहरीले पक्राउ गरेको छ । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा  उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए  ।

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् । कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएकाेछ ।

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन

Wednesday, April 10, 2024 0 Comments




ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन 

एउटा पाना सकिन्छ

अर्को पाना पल्टाउँछु

पल्टाउँदा पल्टाउँदा धेरै पाना पल्टिसके

पात्रामाथि पात्रा खप्टिसके

पात्राका पाना मात्र पल्टेपछि

पात्रामाथि पात्रा खप्टिएपछि

शान्तिका पाना नपल्टेपछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। १


परिवर्तन हुने आशामा

प्रत्येक महिना पल्टाउँछु

पल्टाउँदा पल्टाउँदा धेरै महिना पल्टिसके

महिना माथि महिना खप्टिसके

महिनामाथि महिना खप्टिए पनि

वर्षमाथि वर्ष थुप्रिए पनि

तर कुनै परिवर्तन नआएपछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। २


पहिले ज्योतिष पात्रो पल्टाउँथे

अहिले पात्रै पात्रो पल्टाउँछौं

कतै भित्तेपात्रो त कतै गोजी पात्रो

जति महिना पल्टेपनि

पात्रै पात्रा खप्टेपनि

शान्तिका पाना नपल्टेपछि

देशमा शान्ति नआए पछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। ३


Also See This Poem in Prem Prasad Paudel's Blog 


छत्र, भजन र बालुननाँच : एक परिचय

Wednesday, April 03, 2024 0 Comments

हिराकी मन्दिर सुन गजुर ...२ प्रभूज्यू सैं औरै चली जाए, आज बसे ललना बंशीनाथ कृष्ण आए आज बसे ललना राधासाथ कृष्ण आए आज बसे ललना हरिसाथ खेलन आए आज बसे ललना ललना सैं, खेलना सैं आए आज बसे ललना ..

 


"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । 

यस्तै यस्तै भजन गाएर छत्रीय भाइहरू आँगनमा छत्र लिएर नाँच्दा सोह्रवर्षे तन्नेरीदेखि सत्तरी वर्षे बृद्धासम्म मोहित हुन्छन् । लोकप्रिय भजननाँच, छत्रनाँच र बालुननाँचले सबैलाई आकषिर्त गर्दछ । माथिको भजन छत्रनाँच शुरू गर्दा वा निमन्त्रणा भएको घरमा छत्र लिएर जान लाग्दा गाईन्छ ।


छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरंगी कपडाको आकर्षक छत्र, भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो । समाजमा यस्ता कार्यले सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याईरहेको छ ।

 

रसुवामा छत्रनाँचको शुरूवात कसरी र कहिले भयो भनेर खोतल्नु आवश्यक छ । कुनै किटान हुन सकेको छैन । हाम्रा पुर्खा बितेर गए, वर्तमान छत्रनाँच नाँच्ने भक्तजनहरू वा छत्रीय भाइहरू पनि बितेपछि इतिहाँस होईन, छत्रनाँच, बालुननाँच र भजन नाँचका दृश्य उनीहरूसँगै बिलाउनेछ ।

 

 

छत्रनाँच देखाउनको लागि बाँसको डण्डीमा दुईइतले छाता आकारको गोलो घेरामा चारैतिर फूलका माला वा सप्तरंगी कपडाको ध्वजाहरू झुण्ड्याई बनाएको छत्र चाहिन्छ । छत्रीय भाइहरूको भनाईअनुसार छत्र उठाउन दशैंको टीका, तिहारको लक्ष्मीपूजा वा भाइटिका महत्वपूर्ण मानिएको छ । यी दिनहरूमध्ये कुनै दिन छत्र बनाउन छत्रीय भाइहरू एकै ठाउँमा भेला हुन्छन् । यसरी बनाईएको छत्र ठूली एकादशी वा माघे संक्रान्तिमा सेलाउने प्रचलन छ । तर आजभोलि स्थानीय महत्वपूर्ण पर्वका दिनमा छत्रका प्रारम्भ र विर्सजन गर्न थालिएको छ ।

 

छत्रलाई विभिन्न देवीदेवताको नाम दिएर कीर्तन गरिन्छ । मातामालिका, बिन्ध्यावासिनी, बंशीनाथ कृष्ण, हरि, रामजस्ता धेरै नामले छत्रलाई पूजन गरिन्छ । छत्रनाँचको इतिहाँस हेर्दा रसुवाको जिवजिवे, ज्याङलाङ, रूप्सेपानी, मनीगाउँ, कटुञ्जे र नुवाकोटको गेर्खुलगायतका गाउँहरूमा छत्रनाँच नाँचिने गरिएको छ । छत्रीय गुरूहरूका भनाई अनुसार नुवाकोटको गेर्खुबाट यो नाँच रसुवामा भित्रिएको भनाई पाईन्छ ।

 

विभिन्न समारोह, महोत्सव तथा विभिन्न संघ संस्था र राजनीतिक पार्टीका कार्यक्रममा पनि छत्र र भजननाँचले स्थान पाउँदै आएको छ । छत्र नाँच बोलाएको घरमा मात्र गई नाँचिन्छ । र सो घरबाट प्राप्त हुने दानदक्षिना स्वरूपको पैसा र अन्य सामग्री संकलन गरी छत्र विर्सजनमा खर्च गरिन्छ । बचेको रकम विभिन्न धार्मिक कार्य तथा मठ मन्दिर निर्माणको लागि खर्च गर्ने चलन रहिआएको छ ।

 

छत्र नाचको मूलपाठलाई हेर्दा हिन्दी आगन्तुक शब्दको प्रयोग भएको पाईन्छ । यसरी छत्रनाँचमा हिन्दी शब्दको प्रयोग प्रशस्तै पाउँदा छत्रनाँच भारतबाट नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ । 

 


जस्तै :

औरे गृहे खेलन जाउँ, अब औरे गृहे खेलन जाउँ हो माता मालिका औरै गृहे खेलन जाउँ ,माता मालिका औरै गृहे खेलन जाउँ , राम .......

 

तिमरा नगरीमा खेलन आयौ

आज्ञा देउ धरती माता ।।

तिमरे चरण चित्त लाउँ माता मालिका, मनले चिताको वर पाउँ माता मालिका ।

 

 

छत्र उठाइएको वा निमन्त्रणा भई आएका घरमा नाँच्न जम्मा हुने जमातलाई 'छत्रीय भाइ' भनिन्छ । मुख्य गुरू वा छत्र राखिएको घरमा निम्तो दिएपछि अरु छत्रीय भाइलाई गुरूले नै बोलाउने चलन छ । बेलुकी सबै छत्रीय भाई मिलेर छत्र नाँच्नको लागि तयारी गरिन्छ । नाँच र कीर्तन गर्नु अघि आवश्यक पर्ने खैजडी, मञ्जीरा तथा विविध वाद्य बादनको सामग्रीको जोहो गरिएको हुन्छ ।

 

"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । बाटामा रमाईला रमाईला भजन कीर्तन गर्दै छत्रीय भाइहरू सम्बन्धित घरमा पुग्छन् । जयजयाकार गर्दै पाहुना आएको खबर दिन्छन् । खैजडी र मञ्जीराको तालबाट ...पाहुना आए राम खेलन आए हरिकै पाहुना आए.. भनेर भजन गाउँछन् ।

 


पाहुना आए भन्ने पाठ सकिए पछि खनी खनी देऊ बासै हार, लालमन मोहन हरि मन मोहन हो... भन्ने नाँच नाचिन्छ । त्यस पछि छत्र राख्नको लागि भक्तजनहरूले भजन गाउँदै यज्ञस्थल वा आँगनको माझमा रहेको किलामा छत्र राख्छन् ।

 

छत्र राखेको घरबाट छत्र उठाउँदा, त्यहाँबाट हिड्दा, नाँच्ने घरमा पुग्दा, त्यहाँ पुगेर छत्र राख्दा होस अथवा त्यहाँबाट हिड्दा होस सम्पूर्ण प्रकृया भजन -पाठ) मार्फत् मात्र गरिन्छ । छत्र उठाएको बेलामा मात्र नभई सत्यनारायणको पूजा लगाउँदा पनि छत्रनाँचमा गाईने भजनहरू गाईन्छन् । सन्ध्याकालीन आरती र नारायण हरि.. भन्ने भजन मुख्यतः त्यतिबेला पनि गाईन्छ । एकादशी महात्म्य, कृष्णचरित्र वा अन्य धार्मिक ग्रन्थमा रहेका कथालाई आधार मानेर बनाईएको भजनलाई बालुनको रूपमा प्रस्तुत गरिन्छ ।

 

यसरी हाम्रा समाजमा रहेका वा भएका संस्कृतिको युवा पुस्ताले ग्रहण गर्न सकेमात्र संरक्षण सम्भव छ । नत्र एकादेशको कथा बन्न सक्छ । युवा पुस्ताले नसिकेकोमा यसको लोप हुने संकेत छ । अहिलेका छत्रीय भाइले नाँच्दै गर्दा भिडियो डकुमेन्ट्रीको रूपमा भने पनि संरक्षण गर्न सके भोलिका पिँढीले अध्ययन गर्न पाउने थिए । अझ पर्यटन विकास गर्न त्यस्ता दृश्यहरू कोसेढुङ्गा बन्ने थियो । जुन जुन ठाउँमा यस्ता संस्कृति रहेका छन् ती ती ठाउँमा उक्त संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्न सके विदेशी वा स्वदेशी पर्यटक भित्र्याएर आर्थिक उन्नति गर्न सहयोग पुग्ने कुरामा सबैको मत एकै रहला ।