यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Friday, April 12, 2024 0 Comments

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कालिकास्थान, रसुवाको कालिका गाउँपालिका(५ जिबजिबेमा रहेको ग्रामीण अस्पताललाई नेप्लिज डाक्टर एसोसिएसन युकेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलका अनुसार डेन्टल क्याम्प एन्ड कम्युनिकेबल डिजिज स्क्रिनिङलगायत पोर्टेबल डेन्टल एक्सरे आरभपजी विथ ल्यापटप, २० केभिए क्षमताको जेनेरेटर, एइडीलगायतका सामग्री एसोसिएसनका अध्यक्ष डाक्टर सञ्जीव नेपालीले हस्तान्तरण गरेका हुन् । 

अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि नेप्लिज डाक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री वितरण गरेको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । उक्त अस्पतालबाट जिल्लाको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकाभित्रका गरिब र अतिविपन्न परिवारले सहज रूपमा सेवा पाउनेछन् । सो अवसरमा दाँतको उपचारबाट एक सय ४६ जनाले सेवा लिएका थिए । 

पासाङल्हामु राजमार्ग २४सै घण्टा सञ्चालनका गर्न माग

Friday, April 12, 2024 0 Comments

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ ।


धुन्चे, रसुवा जिल्ला प्रवेश गर्ने पासाङल्हामु राजमार्ग र गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकमार्ग लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा पोस्टले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । 

निकुञ्जको कार्यक्षेत्रभित्र पर्ने यी दुईवटा सडक विगतदेखि नै राती ६ घण्टा बन्द हुँदै आइरहेका छन् । उक्त दुवै सडक २४सै घण्टा सञ्चालन गर्न गोसाइँकुण्ड गाउँपालिकाको तर्फबाट मंगलबार रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ । निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको सुरक्षा पोस्टले यी दुई खण्डको सडकमा ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन र स्थानीयलाई आवत–जावतमा रोक लगाउँदै आएको छ । 

पासाङल्हामु राजमार्ग र बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा २४सै घण्टा सबै प्रकारको सवारीसाधन आवत–जावतको व्यवस्था नभएको, सुरक्षा चेक पोस्टको सङ्ख्या बढीमा तीन स्थानमा मात्रै हुनुपर्ने र एकीकृत रूपमा चेकजाँचको व्यवस्था मिलाई समाधान गरिदिन ज्ञापनपत्रमार्फत माग गरिएको अध्यक्ष तामाङले जानकारी दिए । 

बेत्रावतीदेखि रसुवागढी नाकासम्म करिब १५ वटा सुरक्षा चेकजाँच भएकाले समस्या भएको र एम्बुलेन्स तथा आपत्कालीन समयमा सुरक्षा निकायलाई सूचनापश्चात् मात्रै अनुमति पाउने गरेको उनले बताए । रातिको समयमा सडकमार्ग बन्द हुँदा चीनबाट आयतीत सामान भन्सार चेकजाँचपछि ६ घण्टा रोकिनुपर्दा व्यवसायीलाई लागत र समय बढी लाग्ने गरेको छ ।

एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका

Friday, April 12, 2024 0 Comments


शैली खतिवडा

 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । 

कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकिन्छ । 

 

मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । 

विसं १८११ मा नेपाल–तिब्बतबिच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजयोत्सव मनाउँदै मन्दिरमा यत्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कूकृत्यले देवी क्रूद्ध भई हावाहुरी, चट्याङसहित असिनापानीले तिब्बती सेना धेरै जनाको मृत्यु भई ठुलो क्षति भएको थियो । जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगेको बुढापाकाको भनाइ छ । 

त्यसपछि बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । त्यसपछि बेत्रावती सन्धि विसं १८४९ भदौ ६ गते भएको इतिहासमा उल्लेख छ । त्यसबेलाको युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । नजिकै घलेगढी, कमारेगढी जस्ता युद्ध सामग्री भण्डार गर्ने ढुङ्गे गुफा रहेका छन् । मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । चारैतिर रमणीय हरियाली प्राकृतिक दृश्यले मन्दिर दर्शन गर्न आउँदा छुट्टै आनन्द हुने गर्छ । हाम्रो विद्यालयनजिकै रहेकोले हामी विद्यालय टिफिन वा खाली पिरियडमा खेल्दै घुम्दै मन्दिर पुग्छौँ ।        

गाेरखापत्र अनलाइन र २०८० माघकाे मुना मासिक पत्रिकाबाट साभार 




तीनवटा सामुदायिक वन कार्ययोजना हस्तान्तरण

Friday, April 12, 2024 0 Comments

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

रसुवा, उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तीन वटा सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणीकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अब नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘विधान संशोधन तथा कार्ययोजना नवीकरण भयो अब नेतृत्व हस्तान्तरण गर्छु ।’ उहाँले भन्नुभयो ।

कार्ययोजना हस्तान्तरणपछि भएको अन्तक्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सबैले राम्ररी पढ्नु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाँकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथी केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समूहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताउनुभयो ।

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

दिगो वन विकास कार्यक्रम संयोजक चापागाईंले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताउनुभयो । 

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

Friday, April 12, 2024 0 Comments

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

सरकारी लोगोको दुरूपयोग गरेको मध्यवर्ती व्यवस्थापन समितिमाथि आरोप

सदरमुकाम धुन्चेमा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगिता समेत् हुने 

 

रसुवा, रेडपाण्डा संरक्षण तथा पर्यटन प्रवर्दनका लागि  हरेक वर्ष आयोजना हुँदै आएको वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम यस वर्ष दुई स्थानमा सञ्चालन हुन लागेको छ । एउटै कार्यक्रम एकै समयमा दुईतिर सञ्चालन हुँदा खेलाडीहरू कता भाग लिने भन्ने अन्यौलमा छन् । खेलमा प्रतिस्पर्धा गर्ने इच्छा हुँदाहुँदै पनि कुन् कार्यक्रममा भाग लिने  अन्यौलमा  परेको खेलाडीहरू बताउँछन् । 

लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगितासहित्  २९ औँ वन्यजन्तु सप्ताह तथा १२ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता धुञ्चेमा सञ्चालन गर्ने भएका छन् भने कालिका गाउँपालिका, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) र मध्यवर्ती व्यवस्थापन समितिले कालिकास्थानमा कार्यक्रम गर्न लागेको हो । 

प्रत्येक वर्ष धुञ्चेमा आयोजना हुँदै आएको कार्यक्रम यसवर्ष  एकै समयमा दुई स्थानमा सञ्चालन हुने भनेर प्रचार गरिएसँगै कार्यक्रम विवादित हुन लागेको हो ।  

लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार मध्यवर्ती व्यवस्थापन समितिले निकुञ्जको लोगो ब्यानरमा टाँसेर दुरूपयोग गरेको बताए । उनले भने 'लाङटाङ राष्ट्रिय निकुञ्जको लोगो दुरुपयोग भयो, लोगो जथाभावी प्रयोग गर्न पाईदैन ।'

सबै मिलेर सफल पार्नुपर्ने वन्यजन्तु सप्ताह तथा विश्वमा दुर्लभ रेडपाण्डा संरक्षणका नाममा हुन लागेको कार्यक्रममा देखिएको सरकारकै बिभाजनले खेलप्रेमी तथा सरोकारवालाहरुमा उत्साह भन्दा निरासा ल्याउने सरोकारवालाहरू बताउँछन् । 


वनमा लागेकाे डँढेलोले बाख्रा फार्ममा क्षति

Thursday, April 11, 2024 0 Comments

वनमा लागेकाे डँढेलोले  बाख्रा फार्ममा  क्षति

रसुवा, आमाछोदिङमो गाउँपालिका–१ लुम्बुडाँडा सामुदायिक वनमा लागेको डढेलोको कारण नजिकै रहेको बाख्रा फार्ममासमेत क्षति पुगेको छ। उत्तरगाया गाउँपालिका–१ को दक्षिणकाली सामुदायिक वनबाट लागेको आगोले एनआर एग्रो फर्ममा पुगेर त्यहाँको गोठ दाना, दाना बनाउने मेसिन तथा गोठ भित्रको सबै सामान पूर्ण रुपमा क्षति गरेको छ। 

'गोठमा बाख्रा भने अन्यत्र लगेकोले क्षति भएन। घुम्ती गोठ हुने भएकोले अहिले बाख्रा थिएन जंगल र बाख्रा फार्ममा ठूलो क्षति भयो',  स्थानीय एनआर एग्रो फर्म प्रालिका पासाङदे तामाङले भने। 

३ दिनदेखि उत्तरगया र आमाछोदिङमो गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण हुन सकेको छैन। अहिले पनि दक्षिणकाली सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न सकेको छैन। आगलागीको खबर पाएपछि हाकु प्रहरी चौकीबाट प्रहरीले अनुगमन गरेको हाकुबेशी प्रहरीले चौकीले जनाएको छ। 

मानव बेचबिखनकाे आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Thursday, April 11, 2024 0 Comments

मानव बेचबिखनकाे आरोपमा  गाउँपालिका अध्यक्ष पक्राउ

रसुवा, नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षिय नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई प्रहरीले पक्राउ गरेको छ । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा  उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए  ।

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् । कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएकाेछ ।

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन

Wednesday, April 10, 2024 0 Comments




ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन 

एउटा पाना सकिन्छ

अर्को पाना पल्टाउँछु

पल्टाउँदा पल्टाउँदा धेरै पाना पल्टिसके

पात्रामाथि पात्रा खप्टिसके

पात्राका पाना मात्र पल्टेपछि

पात्रामाथि पात्रा खप्टिएपछि

शान्तिका पाना नपल्टेपछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। १


परिवर्तन हुने आशामा

प्रत्येक महिना पल्टाउँछु

पल्टाउँदा पल्टाउँदा धेरै महिना पल्टिसके

महिना माथि महिना खप्टिसके

महिनामाथि महिना खप्टिए पनि

वर्षमाथि वर्ष थुप्रिए पनि

तर कुनै परिवर्तन नआएपछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। २


पहिले ज्योतिष पात्रो पल्टाउँथे

अहिले पात्रै पात्रो पल्टाउँछौं

कतै भित्तेपात्रो त कतै गोजी पात्रो

जति महिना पल्टेपनि

पात्रै पात्रा खप्टेपनि

शान्तिका पाना नपल्टेपछि

देशमा शान्ति नआए पछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। ३


Also See This Poem in Prem Prasad Paudel's Blog 


छत्र, भजन र बालुननाँच : एक परिचय

Wednesday, April 03, 2024 0 Comments

हिराकी मन्दिर सुन गजुर ...२ प्रभूज्यू सैं औरै चली जाए, आज बसे ललना बंशीनाथ कृष्ण आए आज बसे ललना राधासाथ कृष्ण आए आज बसे ललना हरिसाथ खेलन आए आज बसे ललना ललना सैं, खेलना सैं आए आज बसे ललना ..

 


"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । 

यस्तै यस्तै भजन गाएर छत्रीय भाइहरू आँगनमा छत्र लिएर नाँच्दा सोह्रवर्षे तन्नेरीदेखि सत्तरी वर्षे बृद्धासम्म मोहित हुन्छन् । लोकप्रिय भजननाँच, छत्रनाँच र बालुननाँचले सबैलाई आकषिर्त गर्दछ । माथिको भजन छत्रनाँच शुरू गर्दा वा निमन्त्रणा भएको घरमा छत्र लिएर जान लाग्दा गाईन्छ ।


छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरंगी कपडाको आकर्षक छत्र, भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो । समाजमा यस्ता कार्यले सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याईरहेको छ ।

 

रसुवामा छत्रनाँचको शुरूवात कसरी र कहिले भयो भनेर खोतल्नु आवश्यक छ । कुनै किटान हुन सकेको छैन । हाम्रा पुर्खा बितेर गए, वर्तमान छत्रनाँच नाँच्ने भक्तजनहरू वा छत्रीय भाइहरू पनि बितेपछि इतिहाँस होईन, छत्रनाँच, बालुननाँच र भजन नाँचका दृश्य उनीहरूसँगै बिलाउनेछ ।

 

 

छत्रनाँच देखाउनको लागि बाँसको डण्डीमा दुईइतले छाता आकारको गोलो घेरामा चारैतिर फूलका माला वा सप्तरंगी कपडाको ध्वजाहरू झुण्ड्याई बनाएको छत्र चाहिन्छ । छत्रीय भाइहरूको भनाईअनुसार छत्र उठाउन दशैंको टीका, तिहारको लक्ष्मीपूजा वा भाइटिका महत्वपूर्ण मानिएको छ । यी दिनहरूमध्ये कुनै दिन छत्र बनाउन छत्रीय भाइहरू एकै ठाउँमा भेला हुन्छन् । यसरी बनाईएको छत्र ठूली एकादशी वा माघे संक्रान्तिमा सेलाउने प्रचलन छ । तर आजभोलि स्थानीय महत्वपूर्ण पर्वका दिनमा छत्रका प्रारम्भ र विर्सजन गर्न थालिएको छ ।

 

छत्रलाई विभिन्न देवीदेवताको नाम दिएर कीर्तन गरिन्छ । मातामालिका, बिन्ध्यावासिनी, बंशीनाथ कृष्ण, हरि, रामजस्ता धेरै नामले छत्रलाई पूजन गरिन्छ । छत्रनाँचको इतिहाँस हेर्दा रसुवाको जिवजिवे, ज्याङलाङ, रूप्सेपानी, मनीगाउँ, कटुञ्जे र नुवाकोटको गेर्खुलगायतका गाउँहरूमा छत्रनाँच नाँचिने गरिएको छ । छत्रीय गुरूहरूका भनाई अनुसार नुवाकोटको गेर्खुबाट यो नाँच रसुवामा भित्रिएको भनाई पाईन्छ ।

 

विभिन्न समारोह, महोत्सव तथा विभिन्न संघ संस्था र राजनीतिक पार्टीका कार्यक्रममा पनि छत्र र भजननाँचले स्थान पाउँदै आएको छ । छत्र नाँच बोलाएको घरमा मात्र गई नाँचिन्छ । र सो घरबाट प्राप्त हुने दानदक्षिना स्वरूपको पैसा र अन्य सामग्री संकलन गरी छत्र विर्सजनमा खर्च गरिन्छ । बचेको रकम विभिन्न धार्मिक कार्य तथा मठ मन्दिर निर्माणको लागि खर्च गर्ने चलन रहिआएको छ ।

 

छत्र नाचको मूलपाठलाई हेर्दा हिन्दी आगन्तुक शब्दको प्रयोग भएको पाईन्छ । यसरी छत्रनाँचमा हिन्दी शब्दको प्रयोग प्रशस्तै पाउँदा छत्रनाँच भारतबाट नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ । 

 


जस्तै :

औरे गृहे खेलन जाउँ, अब औरे गृहे खेलन जाउँ हो माता मालिका औरै गृहे खेलन जाउँ ,माता मालिका औरै गृहे खेलन जाउँ , राम .......

 

तिमरा नगरीमा खेलन आयौ

आज्ञा देउ धरती माता ।।

तिमरे चरण चित्त लाउँ माता मालिका, मनले चिताको वर पाउँ माता मालिका ।

 

 

छत्र उठाइएको वा निमन्त्रणा भई आएका घरमा नाँच्न जम्मा हुने जमातलाई 'छत्रीय भाइ' भनिन्छ । मुख्य गुरू वा छत्र राखिएको घरमा निम्तो दिएपछि अरु छत्रीय भाइलाई गुरूले नै बोलाउने चलन छ । बेलुकी सबै छत्रीय भाई मिलेर छत्र नाँच्नको लागि तयारी गरिन्छ । नाँच र कीर्तन गर्नु अघि आवश्यक पर्ने खैजडी, मञ्जीरा तथा विविध वाद्य बादनको सामग्रीको जोहो गरिएको हुन्छ ।

 

"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । बाटामा रमाईला रमाईला भजन कीर्तन गर्दै छत्रीय भाइहरू सम्बन्धित घरमा पुग्छन् । जयजयाकार गर्दै पाहुना आएको खबर दिन्छन् । खैजडी र मञ्जीराको तालबाट ...पाहुना आए राम खेलन आए हरिकै पाहुना आए.. भनेर भजन गाउँछन् ।

 


पाहुना आए भन्ने पाठ सकिए पछि खनी खनी देऊ बासै हार, लालमन मोहन हरि मन मोहन हो... भन्ने नाँच नाचिन्छ । त्यस पछि छत्र राख्नको लागि भक्तजनहरूले भजन गाउँदै यज्ञस्थल वा आँगनको माझमा रहेको किलामा छत्र राख्छन् ।

 

छत्र राखेको घरबाट छत्र उठाउँदा, त्यहाँबाट हिड्दा, नाँच्ने घरमा पुग्दा, त्यहाँ पुगेर छत्र राख्दा होस अथवा त्यहाँबाट हिड्दा होस सम्पूर्ण प्रकृया भजन -पाठ) मार्फत् मात्र गरिन्छ । छत्र उठाएको बेलामा मात्र नभई सत्यनारायणको पूजा लगाउँदा पनि छत्रनाँचमा गाईने भजनहरू गाईन्छन् । सन्ध्याकालीन आरती र नारायण हरि.. भन्ने भजन मुख्यतः त्यतिबेला पनि गाईन्छ । एकादशी महात्म्य, कृष्णचरित्र वा अन्य धार्मिक ग्रन्थमा रहेका कथालाई आधार मानेर बनाईएको भजनलाई बालुनको रूपमा प्रस्तुत गरिन्छ ।

 

यसरी हाम्रा समाजमा रहेका वा भएका संस्कृतिको युवा पुस्ताले ग्रहण गर्न सकेमात्र संरक्षण सम्भव छ । नत्र एकादेशको कथा बन्न सक्छ । युवा पुस्ताले नसिकेकोमा यसको लोप हुने संकेत छ । अहिलेका छत्रीय भाइले नाँच्दै गर्दा भिडियो डकुमेन्ट्रीको रूपमा भने पनि संरक्षण गर्न सके भोलिका पिँढीले अध्ययन गर्न पाउने थिए । अझ पर्यटन विकास गर्न त्यस्ता दृश्यहरू कोसेढुङ्गा बन्ने थियो । जुन जुन ठाउँमा यस्ता संस्कृति रहेका छन् ती ती ठाउँमा उक्त संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्न सके विदेशी वा स्वदेशी पर्यटक भित्र्याएर आर्थिक उन्नति गर्न सहयोग पुग्ने कुरामा सबैको मत एकै रहला ।

मकै बाली भित्र्याउँदा यसरी गर्नुस् गोदाम, सबै हिशावले सुरक्षित

Monday, August 28, 2023 0 Comments

 


रसुवाको उत्तरगया गाउँपालिका -३ ठूलोगाउँमा मकैलाइ झुत्तो परेर यसरी थाँक्रोमा भण्डारण गर्ने चलन कायमै छ । पुरानो यो चलन हराउँदै जान थालेपछि अहिले युवाहरूले पुन: यसरी राख्न थालेका छन् ।


किरा नलाग्ने र लामो समयसम्म नबिग्रने भएकोले यसरी राख्नु धेरै उचित भएकोले यसरी राख्न थालेका हुन् ।


स्थानीय उत्तरगया गाउँपालिका -३ ठूलोगाउँकी अम्बिका बिकले भनिन् पहिले काठको हुन्थ्यो अहिले ढलान घरको छतमा फलामे पोल, रड वा पिलरमा यसरी धेरैले थाँक्रो बनाएँ । यस्तो थाँक्रो हेरेर फोटो खिच्चेहरू धेरै झुम्मिने गरेको  पनि बिकले बताइन् । बीउ जोगाउन र सुरक्षित भण्डारका लागि रैथाने चलन मकै जोगाउन धेरै ठिक रहेको स्थानीय भोजमान तामाङ बताउँछन् ।


घर भित्र भन्दा सुरक्षित रहने पहिले भन्दा हल्का मोडिफाइ जस्तो पनि देखिने, राम्रो छ यसमा राखेको मकै सफा बस्छ पुरानो चलनले पनि निरन्तरता पायो, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले भनिन् - यस्तो चलन धेरैले छाडेका थिए, घर भित्रभन्दा बाहिर खुल्लामा हुने र कोठा नचाहिने भएकोले  अहिले फेरि उही चलनलाई निरन्तरता दिन थालियो ।


यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनुभएको हो । 


ब्राबलमा स्याउ उत्पादन बढ्यो, हुन थाल्यो बजारीकरण

Monday, August 28, 2023 0 Comments

रसुवा, भदौ १२ । रसुवाको ब्राबलमा स्याउ उत्पादन बढ्न थालेको छ । विगतदेखि नै यहाँ स्याउ उत्पादन हुँदै आएपनि थोरै मात्रामा भएको उत्पादनले बजार प्राप्त गरेको थिएन ।

 


उच्च घनत्व प्रविधिमा स्याउ उत्पादन कार्यक्रम लागू भएसँगै उत्पादन बृद्दि भई बजारीकरणसमेत् भईरहेको छ । कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र र स्थानीय ब्राबल कृषक समूहमार्फत् साझेदारी उक्त कार्यक्रम सञ्चालन भएसँगै यहाँका स्थानीय कृषकहरूको आयआर्जन बढ्न थालेको छ ।

 


स्थानीय बजारमा नै बिक्री वितरण भइरहेको उक्त स्याउ खानलाई अति स्वादिष्ट रहेको धुन्चेमा फलफूल तथा तरकारी बिक्रेता रमेशकुमार न्यौपाने बताउँछन्    उनका अनुसार हाल गोसाइँकुण्ड तीर्थ यात्राको समय रहेकोले पनि स्थानीय स्याउ धेरै परिमाणमा बिक्री भईरहेको छ । स्याउको ग्रेडिङ गरी प्रतिकेजी २५० र ३०० मा बिक्री भईरहेको छ । 



गोरखनाथ बाबालाई सम्मान गरियो

Monday, August 28, 2023 0 Comments

रसुवा । भदौ ११ गते ।

परापूर्व कालदेखि गोरखादेखि आउने गोरखनाथ बाबालाई यस वर्ष पनि रसुवाको कालिकास्थानमा र धुन्चेमा सम्मान गरिएको छ ।


कालिकास्थानमा हिजो स्थानीयहरूले गोरखनाथ बाबाहरूलाई दही चिउरा खुवाउँदै सम्मान गरेका छन् । बाबाजीहरूले जयजयाकारसमेत् गरेका थिए ।



राज्य एकीकरण पूर्व नै यस स्थानमा गोरखबाबाहरूलाई यहाँ बनेका (हाल भग्वावशेष रहेका/नरहेका) पौवाघर वा कोतघरहरूमा राखेर सातुसामलको व्यवस्था गरिँदै आएको ऐतिहाँसिक तथ्यहरू पनि रहेका छन् ।


 

त्यस्तै हिजै साँझ गोरखनाथ बाबाहरूलाई धुन्चेमा सेवा सत्कार गरिएको छ । स्थानीय निमा वाङ्चु तामाङको घरमा राखेर उनीहरूलाई सेवा सत्कार गरिएको बताईएको छ । पाँच पुस्तादेखि नै निजको घरमा गोरखनाथ बाबाहरूलाई राख्ने गरिएको छ ।


गोरखनाथ बाबाको टोली आज ११ गते गोसाइँकुण्ड प्रस्थान गर्ने बताइएको छ ।

 

गोसाइँकुण्डमा नेपाल टेलिकमको सेवा विस्तार

Sunday, August 27, 2023 0 Comments


धुन्चे, रसुवा, भाद्र ११ गते ।

रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा नेपाल टेलिकमको सेवा सुचारू भएको छ ।

प्रमुख जिल्ला अधिकारी, लारानिका प्रमुख संरक्षण अधिकृत, नेपाल टेलिकम, गोसाइँकुण्ड क्षेत्र विकास समितिको पहलमा टेलिकमको सेवा विस्तार गरिएको बताइएको छ ।

रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यले प्राविधिक सामग्री ढुवानीमा सहयोग पुर्‍याएसँगै गोसाइँकुण्डमा नेपाल टेलिकमको मोबाईल तथा टुजी सेवा सञ्चालनमा आएको हो ।

नजिकको धार्मिक गन्तव्य : सानो (मिनी) गोसाइँकुण्ड

Sunday, August 27, 2023 0 Comments

रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ र ६ को सिमानामा रहेको मिनीगोसाइँकुण्ड गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि नजिकको तीर्थ बनेको छ । घट्टेखोलास्थित केही वर्ष अघिमात्र निर्माण भएको यो कुण्ड धुन्चेका स्थानीयबासी, कर्मचारी तथा घुम्न जानेका लागि पवित्र गन्तव्य बनिरहेको छ ।



    सानो गोसाइँकुण्ड (Mini Gosainkunda) को परिचय

    रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ र ६ को सिमानामा रहेको मिनीगोसाइँकुण्ड गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि नजिकको तीर्थ बनेको छ । घट्टेखोलास्थित केही वर्ष अघिमात्र निर्माण भएको यो कुण्ड धुन्चेका स्थानीयबासी, कर्मचारी तथा घुम्न जानेका लागि पवित्र गन्तव्य बनिरहेको छ ।


    यस क्षेत्रमा स्नान गरी पितृ तर्पण गरेमा पितृहरू मोक्ष हुने जनविश्वास रही आएको छ ।

    प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रबाट गोसाइँकुण्ड सुरूवात हुन्छ । यहाँबाट खन्ती, देउराली, धिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना हुँदै गोसाइँकुण्ड तथा वरपरका क्षेत्रमा पुग्न सकिन्छ ।
    एक पटक पितृतर्पण गर्नैपर्ने यस मिनीगोसाइँकुण्ड पेरिफेरिमा आकर्षक झरनाहरू पनि रहेका छन् ।

    मिनी गोसाइँकुंण्ड तथा यस वरपरका क्षेत्रका आकर्षणहरू

    - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको मनोरम छटा
    - बैदिक तथा धार्मिकसहितको पर्यटकीय गन्तव्य
    - रेष्टुरेन्ट तथा आवासको व्यवस्था
    - चराचुरूङ्गी तथा जंगली जनावरको अवलोकन
    - विभिन्न सांस्कृतिक क्षेत्रहरू
    - तामाङ संग्रहालय
    - हिमालयन मिनरल वाटर कम्पनी
    - सदरमुकामको नजिकको गन्तव्य

    कसरी पुग्ने मिनी गोसाइँकुण्ड ?

    - रसुवा जिल्लाको सदरमुकाम धुन्चेबजारबाट पूर्व उत्तरतर्फ सडकखण्डमा रहेको गणेश मन्दिर दाँयाबाट मिनरल वाटर कम्पनीबाट तियारी बगर हुँदै यस स्थानमा पुग्न सकिन्छ ।

    तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला । तपाईबाट सुधारको आशासहित ।



    कमै सुनिएको कुण्ड : चिलिमेको ग्रुब्राकुण्ड

    Thursday, August 24, 2023 0 Comments

     बोल्न नसकेका  बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।



      ग्रुबाकुण्डको परिचय

      रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ टेकाङ्चे र सिम्बु क्षेत्रको ठीक माथि टेताङ्चेमा रहेको गुब्रा कुण्डको नाम कमै मानिसले मात्र सुनेका छन् ।

      विभिन्न बिशेषता रहेको यस कुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

      प्रायः स्थानीय समुदायको मात्र आवागमन हुने यस कुण्डका विभिन्न विशेषताहरू रहेका छन् ।


      ग्रुबाकुण्ड तथा यस क्षेत्रका आकर्षणहरू

      - नेपालको उत्तराखण्डमा रहेको १०८ कुण्ड मध्ये यो गुब्राकुण्ड पनि एक हो ।
      - यो कुण्डमा स्नान र पुजा आराधना गर्दा धार्मिक लाभ प्राप्त भइ आफुले सोचेका सबै खालका मनोञ्कांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
      - बोल्न नसकेका बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।
      - यस क्षेत्रमा अवलोकनका लागि तामाङ संस्कृतिको भेषभूषा नाँचगान, हिमाली कुनाको गाउँ बस्ती
      - १४ दशमलव आठ मेगावाट क्षमताको अपर साङ्जेन जलविद्युत् केन्द्र , रामरामको भीर , तिलुचे बगर, मिश्रित वनस्पति, दर्जनौं प्रजातिका जनावर आदि यस क्षेत्रका आकर्षणहरू हुन् ।

      कसरी पुग्ने ग्रुबाकुण्ड ?

      - काठमाडौंबाट त्रिशूली, धुञ्चे, स्याफ्रुबेँसी, गोल्जुङ, थाम्वुचेत, चिलिमे गाउँ हुँदै यहाँ पुग्न सकिन्छ ।
      - कुण्डको नजिकैसम्म सडक मार्ग रहेको छ । अशक्तहरू पनि जान सक्ने ।

      यो सामग्रीको बारेमा तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला ।

      सन्दर्भ स्रोत : ज्ञानु दाईको फेसबुकबाट

      रमणीय : लार्च्याङटार

      Thursday, August 24, 2023 0 Comments

      पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै यहाँ विभिन्न कार्यक्रम गर्न र वनभोज (पिकनिक) लागि मानिसहरूको आवागमन हुन थालेको छ ।

        लार्‍च्याङटारको परिचय

        रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं ३ अवस्थित लार्‍च्याङटार रमणीय र पर्यटकीय गन्तव्य हो । नौकुण्ड गाउँपालिकाको कार्यालय पार्‍च्याङभन्दा माथिको थुम्को नै लार्‍च्याङटार हो ।

        पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै यहाँ विभिन्न कार्यक्रम गर्न र वनभोज (पिकनिक) लागि मानिसहरूको आवागमन हुन थालेको छ ।

        यहाँबाट नौकुण्ड गाउँपालिकाका क्षेत्रहरू स्याङ्ग्युल, थाङ्दोर, लाङ्बु, आरूखर्क, घोर्मु, बेताङ, सर्स्यु, लामाचेत, सिस्नेरी, कप्थलीटार, भोर्ले, दनुस्वारा, सरमथली, पाटीखर्क, चिलाउने गाउँ, मन्दुचेतलगायत नुवाकोट जिल्लाको लिखु, तादी गाउँपालिकाका वस्तीहरू, रानीपौवा, ककनी, शिवपूरीसम्मका मनोरम दृश्यहरू देखिन्छ ।

        लार्‍च्याङटार क्षेत्रका मुख्य आकर्षणहरू

        - रमणीय दृश्य

        - सूर्योदय र सूर्यास्तको दृश्य

        - पिकनिक स्पोट

        - अध्ययन, अवलोकनको थलो

        - चरा अवलोकन

        - तामाङ संस्कृति र भेषभूषा

        - आवास तथा रेष्टुरेन्टको सुविधा

        कसरी पुग्ने लार्‍च्याङटार ?

        नौकुण्ड गाउँपालिकाको कार्यालयभन्दा माथि रहेको यसस्थलमा पुग्नको लागि निम्नानुसारको मार्ग प्रयोग गर्न सकिनेछ ।

        १) रसुवा-नुवाकोटको सिमाना बेत्रावतीभन्दा माथि जिरोबाट भोर्ले-नौकुण्ड सडकखण्डबाट

        २) पासाङल्हामु राजमार्ग कालिकास्थानबाट जिबजिबे-खाल्चेत – लामाचेत, कप्थलीटार- पार्‍च्याङ हुँदै वा खाल्चेत- सर्स्यु – दारघारी- पार्‍च्याङ हुँदै

        ३) नुवाकोटको बिदुरबाट नुवाकोट दरबार- चोकदे-लच्‍याङ- सरमथली – पाटीखर्क - पार्‍च्याङ हुँदै

        यसको अलावा नुवाकोटको दुप्चेश्वर – उर्लेनीबाट पनि यस स्थानमा आउन सकिन्छ ।

        तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।

        गोसाइँकुण्ड जाने तीर्थालुलाई यात्रा सहज बनाउन सूचना प्रवाह

        Thursday, August 24, 2023 0 Comments

         

        धुन्चे, भदौ ७ गते ।

        जनैपूर्णिमाका समयमा गोसाइँकुण्ड जाने तीर्थालुको यात्रा सहज बनाउन सूचना प्रवाह गर्न थालिएको छ ।


        नमस्ते गोसाइँकुण्ड होटलका सञ्चालक तथा होटल व्यवसायी संघका अध्यक्ष रामशरण गँजुरेल (निशान) ले तीर्थालुलाई यात्रा सहज होस् भनेर सूचना प्रवाह गरिएको बताए ।

         

        धुन्चेदेखि गोसाइँकुण्डसम्मको नक्सा तयार पारी त्यहाँ रहेका स्थान, मुख्यमुख्य आकर्षण, होटल, लजको संख्या, क्षमता तथा पुग्नका लागि कति समय लाग्छ भनेर प्रत्येक दिन तीर्थालुहरूलाई जानकारी प्रदान गरिएको गँजुरेलले बताए ।


        जानकारी दिने क्रममा तीर्थालुलाई हुन सक्ने समस्या, जाँदा के के लानुपर्छ भन्ने जानकारी समेत् दिइएको छ ।


        ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै

        Wednesday, August 23, 2023 0 Comments

         यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।
        गौरीदेवीले निर्माण गरेको पौवाघरको पुरानो तस्वीर

          पौवाघरको परिचय

          रसुवा जिल्ला, उत्तरगया-५, माझगाउँमा अवस्थित ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएको उक्त पौवाघर २०७२ को भूकम्पसँगै नाम निसाना मेटिन लागेको हो ।

          विभिन्न ऐतिहाँसिक तथ्य अनुसार यो पौवाघर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार वा सातु सामलको प्रवन्ध गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

          यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।

          पौवाघर तथा वरपरका आकर्षणहरू

          - ऐतिहाँसिक स्थल

          - वरपर रहेका विभिन्न मठमन्दिर (राम, सीता, हनुमान आदि)

          - पवित्र नदी (बेत्रगंगा, रूद्रगंगा र त्रिशूली गंगा)
          - तीर्थ श्राद्द, तर्पणको लागि महत्वपूर्ण क्षेत्र
          - सांस्कृतिक विविधता

          कसरी पुग्ने पौवाघर ?

          - यो स्थान पासाङल्हामु राजमार्गको माझगाउँ सडकखण्डबाट केही तल, भीमसेन आवासीय प्राविको ठीक माथि अवस्थित छ ।

          - पासाङल्हामु राजमार्गबाट २ मिनेटको पैदलयात्रामा पौवाघरको भग्नावशेषमा पुग्न सकिन्छ ।

          तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


          सन्दर्भ स्रोत : गोसाइँकुण्ड, प्रकृति संरक्षण र इतिहाँस, सुवास आचार्य (आगमन)

          प्रभावित वस्तीमा पहिरो पूर्व चेतना प्रणाली जडान

          Saturday, August 19, 2023 0 Comments

           

          उत्तरगया, रसुवा, भाद्र २ गते  । रसुवाको उत्तरगया-४ ढुंगेमा पहिरो पूर्व चेतना प्रणाली जडान गरिएको छ ।


          एकसयभन्दा बढी घरधुरीहरू पहिरोको उच्च जोखिममा रहेका कारण उक्त प्रणाली वा  सेन्सर र साइरन जडान गरिएको हो ।


          गाउँपालिकाभित्र सञ्चालित 'प्रतिबद्द परियोजना' अन्तर्गत उक्त कार्य सम्पन्न भएको बताइएको छ । परियोजनामा पिन, आत्मनिर्भर सेवा केेन्द्र, सेभ द चिल्ड्रेन र कन्सोर्टियमको साझेदारी रहेको छ । परियोजनालाई युरोपियन युनियनको आर्थिक सहयोग गरेको छ । 

           

          यो प्रविधि प्रयोगसँगै पहिरोको पूर्व सूचना जानकारी हुने हुनाले पहिरोको जोखिम न्यून गर्न सकिने बताइएको छ ।

           

          लामो समयदेखि प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको रामलक्ष्मण इनोभेसनले उक्त प्रणाली जडान गरेको उत्तरगया-४ का वडा सदस्य वासु न्यौपानेले बताए ।


          रामलक्ष्मण इनोभेसनका अनुसार हाल जडान भएको प्रणालीको खर्च ५ लाख हाराहारीमा रहेको छ ।