यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Uttargaya Important Places. Show all posts
Showing posts with label Uttargaya Important Places. Show all posts

प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

Sunday, August 04, 2024 0 Comments

 परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

कल्लेरी (ठूलोगाउँ) का भूमे
तस्वीर : गौेरव सापकोटा

    कल्लेरीका भूमेको परिचय

    परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

    किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले  तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ ।

    रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनिदै आएको छ । कोदालाले खन्दा अलिकति चोईटिएको र सो भागबाट रगत आएका कारण शक्ति मानी देवीको नामले पुकारिन थालेको हो । जुन् चोइटिएको भाग हाल पनि देख्न सकिन्छ । 

    भूमेस्थानमा पाठी र देवीस्थानमा बोको बली चढाउने परम्परा रहेको यस स्थानमा वर्षैभरि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

    एकपटकको दर्शनमा एक वर माग्ने परम्परा रहेको यस मन्दिरमा अहिले पनि विशेष गरी वैदेशिक यात्राको कामना गरिन्छ ।

    विशेष गरी ठूली एकादशी, माघेसंक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ । भौगोलिक दृष्टिकोणले विषम स्थानमा रहेको यस धार्मिक स्थललाई प्रचारप्रसार र संरक्षणका कार्यहरू गर्न सके आन्तरिक पर्यटन विकासका माध्यमबाट आर्थिक विकास गर्न सकिने छ ।

    -----(स्थानीय टिकादत्त पौडेलको कुराकानीमा आधारित )

    रसुवा जिल्लाको पश्चिम दिशातर्फ कल्लेरी वा ठूलोगाउँका भूमेदेवी र पूर्वतर्फ निर्कुभूमे रहेका छन् । 

     कल्लेरीका भूमे र वरपरका आकर्षण र महत्वहरू

    • आन्तरिक पर्यटकको रोजाईको क्षेत्र
    • छाँगा, झरनाहरूको अवलोकन,
    • स्थानीय गुरूङ संस्कृति अध्ययनको क्षेत्र
    • चराचुरूङ्गी तथा बासस्थान अवलोकन

    कसरी पुग्ने कल्लेरीका भूमे 

    पासाङल्हामु राजमार्गको बेत्रावती (रसुवा-नुवाकोटको सिमाना) बाट पश्चिम - उत्तरतिर अवस्थित पैरेबेंसी/शान्तिबजारबाट यस स्थानको लागि यात्रा तय गर्न सकिन्छ । मनोरम झरना 'भाँगे झरना' को अवलोकन गर्दै यस स्थानमा पुग्न सकिन्छ । 

     

    कल्लेरीका भूमेसँग सम्बन्धित भिडियो तथा थप सामग्रीहरू


    ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै

    Wednesday, August 23, 2023 0 Comments

     यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।
    गौरीदेवीले निर्माण गरेको पौवाघरको पुरानो तस्वीर

      पौवाघरको परिचय

      रसुवा जिल्ला, उत्तरगया-५, माझगाउँमा अवस्थित ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएको उक्त पौवाघर २०७२ को भूकम्पसँगै नाम निसाना मेटिन लागेको हो ।

      विभिन्न ऐतिहाँसिक तथ्य अनुसार यो पौवाघर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार वा सातु सामलको प्रवन्ध गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

      यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।

      पौवाघर तथा वरपरका आकर्षणहरू

      - ऐतिहाँसिक स्थल

      - वरपर रहेका विभिन्न मठमन्दिर (राम, सीता, हनुमान आदि)

      - पवित्र नदी (बेत्रगंगा, रूद्रगंगा र त्रिशूली गंगा)
      - तीर्थ श्राद्द, तर्पणको लागि महत्वपूर्ण क्षेत्र
      - सांस्कृतिक विविधता

      कसरी पुग्ने पौवाघर ?

      - यो स्थान पासाङल्हामु राजमार्गको माझगाउँ सडकखण्डबाट केही तल, भीमसेन आवासीय प्राविको ठीक माथि अवस्थित छ ।

      - पासाङल्हामु राजमार्गबाट २ मिनेटको पैदलयात्रामा पौवाघरको भग्नावशेषमा पुग्न सकिन्छ ।

      तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


      सन्दर्भ स्रोत : गोसाइँकुण्ड, प्रकृति संरक्षण र इतिहाँस, सुवास आचार्य (आगमन)

      बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

      Friday, August 11, 2023 0 Comments


       

        बेत्रावती/बेत्रगंगा वा उत्तरगया धामको परिचय

         बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ ।भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ ।


        संक्षिप्त परिचय :

        स्थानको नाम : बेत्रावती/बेत्राती

        अवस्थिति : रसुवा-नुवाकोटको सिमाना, उत्तरगया गाउँपालिका-५

        उचाई : ७१४ मीटर

         

        बेत्रगंगा उत्पत्तिको कथन :

        देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो ।  घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे र आफूसँग रहेको बेतको लौरोले खोपेर जलाशय उत्पत्ति गरी प्यास मेटाएको भनिएको छ । जुन् कुवाबाट नदी बनिन् जसलाई बेत्रगंगा भनियो । यो स्थानलाई त्रिशूली, रूद्रगंगा (फलाँखु) र बेत्रगंगा (जुन् लोप भईन) ले त्रिवेणीको रूप प्रदान गरेको छ । त्रिवेणीधाम वा उत्तरगया धाम बेत्रावतीमा स्नान, जप, ध्यान र श्रद्दादि गर्दा मानिसको जीवन सफल भई मृत्युपर्यन्त कैलाश पद पाउने र दिवंगत पितृहरूको मोक्ष हुने जनविश्वास गरिदै आएको छ । यो स्थान पवित्र घाटको रूपमा पनि स्थापित छ ।

         

        धार्मिक कथनमा आधारित बेत्रगंगा उत्पत्तिको कथनलाई डा. सत्यराज थपलिया यसरी लेख्नुहुन्छ ।

         

        लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।

        हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।।

        मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती

        गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२

         

        यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।

        आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।।

        न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।

        गङ्गा वेत्र भनेर पूजन गरी फर्की गए ती घर ।।४३।।

         

        जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा

        यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ ।

        पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।

        चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।

         

        (अप्र. नीलकण्ठ महिमा, डा. सत्यराज थपलिया)

          

        बेत्रावती रसुवा जिल्लाको प्रवेशद्‍वार हो । रसुवा-नुवाकोटको सिमानामा पर्ने यो स्थल धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने विश्वास गरिन्छ । नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ । संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ 


        बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशीगाइजात्रापौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ ।


        सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौतायहाँको रामलक्ष्मणसीताहनुमान,  त्रिवेणीधाम, उत्तरगयापौषेऔंशी एकादशीगाइजात्रा तथा मात्रेसंक्रान्ति  पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ । 

         

        बेत्रावतीको धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्व

        विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।



        गौरादेवी पृथ्वीनारायण शाहकी कान्छी रानी नरेन्द्रलक्ष्मीको दिक्षामन्त्र सुनाउने गुरूआमा थिईन् । उनको विवाह पं जयमङ्गल पौडेल (नेपालका मुख्तियार पं रंगनाथ पौडेलको हजुरबा) सँग भएको थियो । उनीहरूका चार छोरामध्ये जेठो रघुनाथ रामभक्त थिए, उनैले बेत्रावतीको किनारमा राममन्दिर बनाएर पूजाआजा चलाएका हुन् भनिएको छ । धैबुङ गाउँलाई उनी रामपूर भनेर चिनाउन चाहन्थे ।  

         

        ऐतिहाँसिक महत्व :  

        सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो । करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए ।  त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ ।



        ऐतिहाँसिक स्थल : घलेगढी

        Tuesday, August 01, 2023 0 Comments

        नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।


        यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको) कालिका मन्दिर तथा बेत्रावतीमा उत्तरगयाधाम रहेको छ ।



        रसुवा जिल्लाको दक्षिणी क्षेत्र उत्तरगया गाउँपालिका -४ मा अवस्थित घलेगढी एक महत्वपूर्ण ऐतिहाँसिक स्थल हो । नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।

         


        यहाँ नेपाल-चीन युद्दका समयमा बर्षेका तोपहरू डोब र घले राजाका दरबारका भग्नावशेषहरू देख्न पाईन्छ । ऐतिहाँसिक रूपमा खासै उल्लेख नभएको यस घलेगढीबाट विभिन्न दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा चर्चामा रहेको भाङ्गे झरना, रसुवाका डाँडागाउँ, ठूलोगाउँ, नुवाकोटको मनकामना (अर्चले), गोगने, किस्पाङ, सातदबाटो, फिकुरी, तादी, गणेश हिमाल, वरपरका वस्तीहरूको मनोरम दृश्यावलोकन गर्न पाईन्छ ।

         

        यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको) कालिकामन्दिर तथा बेत्रावतीमा उत्तरगयाधाम रहेको छ ।

           

         पासाङल्हामु राजमार्गको बनुँवा घुम्तीबाट मनीगाउँ हुँदै र कालिकास्थानको च्यूरीबोटबाट कर्मीडाँडा हुँदै यस ऐतिहाँसिक स्थलमा पुग्न सकिन्छ । 


         घलेगढी तथा यहाँबाट देखिने दृश्यहरू :

        उत्तरगया-२ भाँड्गे झरना




        सम्बन्धित भिडियोहरू 


          














        रोजाईको गन्तव्य बन्दै भाँङ्गे झरना अर्थात् तारे छाँगो

        Monday, July 31, 2023 0 Comments


        बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौंदेखि यहाँबाट झरिरहेको भएपनि खासै चर्चामा आएको थिएन । स्थानीयहरूले तारे छाँगोको चिन्दै आएका यस झरनालाई बिस्तारै भाङ्गे झरना भन्न थालिएको हो । पछिल्लो समय बाहुबली झरनाको रूपमा पनि चिनिदै आएको छ । 

        रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ मा रहेको भाँङ्गे झरना अर्थात् स्थानीय रूपमा तारे छाँगो पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि नजिकको गन्तव्य बन्दैछ । रसुवा-नुवाकोट सिमाना बेत्रावतीबाट कैदलटार, पैरेबेंशी, अर्चले शान्तिबजार हुँदै यस झरनाको मनोरम दृश्यावलोकनमा पुग्न सकिन्छ । पासाङल्हामु राजमार्गबाट नजिकैको गन्तव्य भएकोले पनि रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौं, भक्तपूर, ललितपूर, काभ्रेलगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरू दिनहुँजसो नै घुम्न आउन थालेका छन् । 


        यहाँ आईसकेपछि प्राय: पर्यटकहरू नुहाउने, धुने, भिडियो बनाउने, टिकटक बनाउने कार्यहरू गर्दछन् । यहाँबाट केही किमी यात्रा गरेपछि मैलुङ जलविद्युत आयोजना तथा त्रिशूली ३ A आयोजनास्थलहरूको अवलोकन गर्न सकिन्छ ।

        बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौंदेखि यहाँबाट झरिरहेको भएपनि खासै चर्चामा आएको थिएन । स्थानीयहरूले तारे छाँगोको चिन्दै आएका यस झरनालाई बिस्तारै भाङ्गे झरना भन्न थालिएको हो । पछिल्लो समय बाहुबली झरनाको रूपमा पनि चिनिदै आएको छ ।  

        वर्षात्को समयमा मात्र झर्ने यो झरना तथा वरपर रहेका विभिन्न प्राकृतिक, सांस्कृतिक तथा ऐतिहाँसिक स्थलहरूको प्रचार-प्रसार गरेमा पक्कै पनि यहाँ वरपरका वस्तीहरू पर्यटकीय वस्तीको रूपमा आफ्नो परिचय बनाउन सक्छ ।