रसुवा, जिल्लाभर बिभिन्न समुदायले माघी मनाएका छन् । नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिले मङ्गलबार उत्तरगया गाउँपालिका-५ स्थित कदैलेटारमा एक कार्यक्रम गरी समुदाय स्तरमा पर्व मनाएको हो ।
कार्यक्रममा उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले आदिवासी जनजाति समुदाय पछि पर्नुमा आफ्नै कारणले रहेको बताउँदै समयसापेक्ष समुदायसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताईन् । कुनै पनि स्थान वा तह र तप्कामा पुग्दा आफ्नो समुदायको उत्थान र हकहितको लागि आवाज उठाउनुपर्ने बताईन् ।
उपाध्यक्ष गुरुङले सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्ने बताइन्। कालिका गाउँपालिकाकी उपाध्यक्ष मिरा तामाङ डङ्गोलले आफ्नो जातीयअनुसारको संस्कार मनाउनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य भगवान राना मगरले मगर समुदायको पहिचान, संस्कृति, रहनसहन लगायतका विषयमा प्रष्ट पार्नुको साथै नीति नियमबारे जानकारी गराएका थिए । मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड रहेतापनि खुल्ला रुपमा जिल्लामा पर्व मनाउन नसकिरहेको अवस्थामा यस वर्षदेखि समुदाय मिलेर पहिलोपटक माघी संक्रान्ति मनाएको समितिका अध्यक्ष विक्रम थापा मगरले बताए । आफ्ना संस्कृति झल्कने पहिरहनमा सजिएर कौरा, चुड्का, घाटु नाच लगायतका नाच प्रस्तुत गरेका थिए ।
आफ्नै जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर मगर समुदायका महिला र पुरुष माघी मनाउन जुटेका थिए । आफ्नो संस्कार र संस्कृति अनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो ।
आफ्नो धर्म, संस्कृति र परम्परा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सरोकारवालाहरुले बताए । कार्यक्रममा नेपाल मगर सङ्घ रसुवाले समुदायका दुई जेष्ठ नागरिकलाई सम्मान गरेको छ। सम्मानित हुनेमा उत्तरगया गाउँपालिका-५ कदैलेटारकी धनकुमारी रानामगर र कालिका गाउँपालिका-३ धारापानीकी गङ्गाकुमारी मगर रहेका छन् ।
कालिका मान्दिरमा भक्जनहरूकाे भेलाले साँझकाे आरती तथा भजन र नृत्य गरेका थिए । कार्यक्रममा कालिका गाउँपालिका पुर्व अध्यक्ष सीता अधिकारीकाे जन्मदिन समेत सामुहिक रूपमा मनाएका थिए । कार्यक्रममा उत्तरगया ५ बेत्रावतीमा गाेरू जुधाइ कार्यक्रम भएकाे थियाे ।
No comments:
Post a Comment