यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

अकबरे खुर्सानी खेतीबाट आम्दानी


रसुवा, उत्तरगया गाउँपालिका १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् ।

उत्तरगया गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष  ८७ जना कृषकले ६० रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन् । खुर्सानीबाट गत महिनादेखि राम्रै आम्दानी लिन थालेका छन् । 

पिरो खुर्सानीबाट राम्राे आम्दानी हुँदा उनीहरू दङ्ग छन् । उत्तरगयाका तीन वडामा अकबरे खुर्सानी खेती सुरु गरेर उत्पादन भई बिक्री–वितरणको सुरुआत भइसकेको परियोजना संयोजक गौरव सापकोटाले जानकारी दिए । 

गत जेठमा लगाइएको खुर्सानी अहिले बिक्रीका लागि तयारी भएको हो । अकबरेको बजारमूल्य प्रतिकेजी रु। दुई सय ५० देखि तीन सयसम्म रहेको छ । बाहै्र महिना फल्ने सो खुर्सानी एउटा बोटबाट एक वर्षमा चारचोटि बेच्न मिल्ने गरी फल दिने भएकाले एकदमै आयमूलक रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ बताउँछिन् । 

अहिले पहिलो सरुवाती चरण भएकाले करिब दुई सय केजी बिक्री भएको छ । अब तिजअगाडि पाँच सय केजी र बडादशैं अगाडि एक हजार पाँच सय केजी फल्ने परियोजना संयोजक सापकोटा बताउँछन् ।

यो खुर्सानी काठमाडौँस्थित दरबारमार्गमा रहेको रैथाने बाली बजारमा समेत बिक्री–वितरण भइरहेको छ । यसको बजार सहजीकरणमा गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल आफैँ लागिपरेका छन् । रैथाने बाली बजार दरबारमार्गको बिक्री केन्द्रमा कृषिमन्त्री रामनाथ अधिकारीले समेत अवलोकन गरेर रसुवामा फलेको अकबरे खुर्सानीको प्रशंसा गरेका थिए । 

खुर्सानी खेतीमा लागिपरेकी कृषक मीनकुमारी पौडेल भन्छिन्, ‘हामीलाई गाउँपालिकालगायत संस्थाले प्रेरित गरी आर्थिक स्थिति सुधारमा मद्दत गरेको छ, कसैसँग हात फैलाउन पर्दैन ।’ अर्का कृषकद्वय लालमाया तामाङ, मनिका राई पनि एकै स्वरमा भन्छन्, ‘यस्तो आम्दानी मूलक अकबरे खुर्सानी खेती गर्न अरूले पनि गरे हुन्छ । हामी घरभित्रको कामसँगै पैसा आउने काम पनि गर्न पाउँदा धेरै खुसी छौँ ।’

No comments:

Post a Comment