यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न


रसुवा, वर्षेनी जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन् । यसवर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । 

जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए । 

तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । 

अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्यात पार्वतीकुण्डमा जनैपूर्णिमा मेला भर्न ४ हजार तीर्थयात्रीहरू पुगेका थिए । 

पार्वतीकुण्डमा रसुवाको नौकुण्ड, कालिका, हाकु, ग्रे, टिमुरे, स्याफ्रु, वृद्विम, धुन्चे भार्खु, चिलिमेलगायत गत्लाङबासी, धादिङ, काठमाडौँ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक स्थानबाट तीर्थयात्री पुगेका थिए । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर-३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको छ । 

जनैपूर्णीमाको दिन प्रकृतिको पूजा गर्ने र धामी झाँक्रीहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गरे । कालिकाबाट कलश यात्रा टोली कुण्डमा पुगेर भजन तथा छत्रनाच गरेका थिए । 


स्थानीय वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार हामीले जनैपूणिर्मा मेला आउनु एक सातादेखि नै कुण्ड लगायत वरपर सरसफाइदेखि मेलामा आउने तिर्थालुका लागि सहज होस भनेर गाँस वासको व्यवस्थापन चुस्तदुरूस्त बनाएका थियौ । पुर्णिमाको दिन र रातभर गीत गाएर नाच्ने चलन रहेको छ । 

यसवर्ष कालिका गाउँपालिकाबाट कलश यात्रा सहित छत्र भजन टोली उत्तरगयादेखि कालिका, गोसाइकुण्डहुँदै पार्वतीकुण्ड यात्रा गरे । उनीहरूले कुण्डमा पुजाआजा र तथा छत्र भजन र नाच प्रस्तुत गरेका थिए । 

पर्यटकीय क्षेत्र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । वरिपरिका गाउँबाट त्यहाँ पनि १ हजार भन्दा धेरै यात्री पुगेको स्थानीयले बताए ।  




तस्वीर पार्वतीकुण्डमा कलश यात्रा तथा छत्र भजन टोली रमाइलो गर्दै 

हेमनाथ खतिवडा 



No comments:

Post a Comment