रसुवा |
डा. सत्यराज थपलिया थानसिङ, नुवाकोट |
हाम्रो राम्रो रसुवाको माथि लेकतिर
सुन, सेता हिमाल छन् तल तारेभिर ।
सिरिरिरी स्याँठ चल्छ, हुन्छ ज्यादै जाडो
पैदल नै हिँड्नुपर्छ, उकालो र ठाडो ।।
हेमन्तमा घाम लागे पनि हुन्न तातो
वसन्तमा लालीगुँरास फुल्छ भई रातो ।
कोइरा मूला, चोतो, किम्बु, काफल करू कतै
खुर्पानी र ओखर, स्याउ फल्छन् कताकतै ।।
भेडी, चौंरी चराउन जाँदा जीउभरि
जुका लाग्छन्, टिपी फाल्नुपर्छ घरीघरी ।
बेथो, मार्सी, चिनु, गहुँ, गुँरास र आलु
मकै, कोदो खान्छन् राती आई दुम्सी, भालु ।।
पाउमा छन् रामचन्द्र, शीरमा गोसाइँकुण्ड
बीचमा बसी कालिकाले मार्छिन् चण्डमुण्ड ।
पहेँलो र रातो, सेतो, नीलो थरीथरी
रङ्गीचङ्गी फूल फूल्छन् वन पाखै भरी ।।
मगमग बास्ना चल्छ बुकी, सुनाखरी
कालिज र तित्रासँगै डुल्छन् डाँफेचरी ।
मुजुरको राम्रो नाँच, कोइलीको गीत
कस्तुरीको दौडादौड, चखेवाको प्रीत ।।
जता हेर्यो उतैतिर हेरूँहेरूँ लाग्छ
प्रकृतिको सौन्दर्यले भोक, तिर्खा भाग्छ ।
भन्छन् धेरै भट्याएर मात्र के हुन्छ र ?
सुन्नुभन्दा देख्नै राम्रो, आऊ आफैं हेर ।।
No comments:
Post a Comment