लेन्देहुँदै भोटेकोसी नदीमा आएको भीषण बाढीले घरबारविहीन बनाएपछि उत्तरगया गाउँपालिका–५ पैरेवेसीका ४४ परिवारका नागरिक हाेल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन् । बाढीले घरसँगै अन्नपात, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री समेत बगाएपछि विस्थापित परिवारको बास र गाँसको व्यवस्था निकै चुनौतीपूर्ण बनेको छ ।
उनीहरु ०८३ भदौ १० गते भोटेकोसीहुँदै त्रिशूली नदीमा आएको बाढीले घर बगाएपछि विद्यालयका कोठामा आश्रय लिन पुगेका हुन् । जीवनभरको कमाइले बनाएको घर र घरभित्रका सामग्री आँखैअगाडि बगाउँदा विस्थापित परिवार शोक र अन्योलमा छन् । बालबालिका, महिला तथा ज्येष्ठ नागरिक सहितका प्रभावितलाई सुरक्षित आवास, खाद्यान्न र अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ ।
वडा नं ४ को पैरेबेसी क्षेत्रको ४४ घर बाढीले बगाएको र त्यहाँ रहेको मालिकादेवी आधारभूत विद्यालय समेत बगाएको उत्तरगया गाउँपालिका –४ का वडा सदस्य बासुदेव न्यौपानेले बताउनुभयो ।
घरसँगै लत्ताकपडा र ओढ्ने–ओछ्याउने सामग्री गुमाएका परिवारलाई सिरक, कम्बल, बालबालिकाका कपडा तथा खाना पकाउने भाँडाकुँडालगायतका सामग्री समेत उपलब्ध गराएर वडा नं ५ माझगाउँ स्थित भीमसेन आधारभूत विद्यालय भवनमा विस्थापितका लागि सामूहिक भोजनको व्यवस्थासमेत गरेका छन् । त्यहाँ रहेका २४ जना विस्थापितहरूलाई नियमित खाना तथा व्यवस्थापनको काम सामुदायिक आत्मनिर्भर केन्द्रले गरेको छ ।














.jpg)



