नुवाकाेट, बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचान, परामर्श तथा उपचारमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा सिविन नेपालद्धारा जिल्लामा आयोजित मानसिक स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ।
नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल)द्धारा आयोजना भएकाे तथा प्लान इन्टरनेशनलको सहयोगमा कात्तिक १३ गते नुवाकोटको विदुर नगरपालिका–५ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शिविर सञ्चालन गरिएको हो।
शिविरबाट ८७ जनाले सेवा प्राप्त गरेका थिए। नुवाकोटको विदुर नगरपालिका–५ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आयोजित शिविरमा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका बालबालिका तथा किशोरकिशोरीले मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए।
शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राहीहरूमा समायोजन विकार, चिन्ता विकार, अवसाद, शोक तथा वियोगसँग सम्बन्धित समस्या, रूपान्तरण विकार, भावनात्मक रूपमा अस्थिर व्यक्तित्व विकार तथा आफूलाई जानाजानी हानि पुर्याउने व्यवहारलगायतका मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू पहिचान भएका थिए।
त्यसैगरी, केही सेवाग्राहीमा मनोविकृति, मदिरा निर्भरता, मदिरा सेवनका कारण उत्पन्न मनोविकृति सम्बन्धी समस्या समेत देखिएका थिए।
शिविरका क्रममा मानसिक स्वास्थ्य समस्या पहिचान भएका बालबालिका तथा किशोरकिशोरीमध्ये तीन जनालाई आवश्यक औषधि सिफारिस गर्नुका साथै थप मनोसामाजिक परामर्शका लागि पठाइएको थियो सिविनका सन्ताेष विमलीले बताए ।
अन्य सेवाग्राहीलाई उनीहरूको स्वास्थ्य अवस्थाअनुसार मनोसामाजिक परामर्श तथा आवश्यक उपचार सेवा लिन सिफारिस गरिएको थियो। साथै, मानसिक तनाव न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्राम अभ्यास समेत सिकाइएको थियो।
विशेषज्ञ सेवाका लागि रेफर
शिविरमा स्वास्थ्य परीक्षण गराएका सेवाग्राही मध्ये थप परीक्षण तथा विशेषज्ञ उपचार आवश्यक देखिएका दुई जनालाई क्लिनिकल साइकोलोजिस्ट, दुई जनालाई अर्थोपेडिक विभाग र एक जनालाई युरोसर्जरी विभागमा रेफर गरिएको थियो।
मानसिक स्वास्थ्य समस्या पहिचान भएका सेवाग्राहीलाई समयमै आवश्यक उपचार तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवामा रेफर गरिएको हो।
कान्ति बाल अस्पतालमार्फत टेलि–परामर्श र फलोअपको व्यवस्था
शिविरमा मनोसामाजिक परामर्श तथा मनोचिकित्सा सेवा प्राप्त गरेका बालबालिका तथा किशोरकिशोरीलाई निरन्तर उपचार र परामर्श सेवाको पहुँचमा राख्न विशेष व्यवस्था मिलाइएको छ।
यसअन्तर्गत थप परामर्श तथा उपचार आवश्यक पर्ने सेवाग्राहीलाई कान्ति बाल अस्पतालमार्फत टेलि–परामर्श तथा मनोचिकित्सा सेवाको माध्यमबाट नियमित फलोअप गरिने व्यवस्था गरिएको छ।